शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कानून दिवसको अवसरमा प्रधान न्यायाधीशको शुभकामना सन्देश

बिहीबार, २५ वैशाख २०७७, १८ : ०९
बिहीबार, २५ वैशाख २०७७

कानून दिवसको अवसरमा प्रधान न्यायधीशको शुभकामना सन्देश

काठमाडौं– कानून दिवस २०७७ को अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुभकामना सन्देश जारी गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै जबराले नेपाल प्रधान न्यायालय ऐन २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रूपमा मनाइँदै आएको जनाएका छन् ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका निर्वाह गर्ने सम्पूर्ण व्यक्तित्वहरूका योगदानको स्मरण गर्दै सम्मानसमेत व्यक्त गरेका छन् ।

सन्देशमा जबराले भनेका छन्, ‘न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्‍चितताको लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु। त्यसमा कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु ।’ 

सन्देशमार्फत जबराले अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २ लाख ५० हजार भन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नु परेको दुखद् अवस्था स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रधान न्यायधिश जबराले माहामारीको कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एक आपसमा शुभकामना आदान प्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत सम्बद्ध सबैमा  अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप