शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता

बिहीबार, २५ वैशाख २०७७, १४ : १९
बिहीबार, २५ वैशाख २०७७

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि झापामा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक निर्माणको काम अगाडि बढाइएको मेचीनगर नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, “कोरोना महामारी नभएको भए अहिले पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनलाई पूर्ण पालना गर्दै अहिले मेचीनगर–२ र ४ लाई जोड्ने दुई हजार ६६० मिटरको सडक निर्माणको काम शुरु गरिएको छ । 

    मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको रु सात करोड ४४ लाखको लागतमा सो सडकको निर्माण कार्य शुरु भएको  हो । मेचीनगर–२ भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट मेचीनगर–४ को राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र सडक किनारमा ड्रेन निर्माण कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख उप्रेतीले बताइन्

    सो सडक निर्माणको स्थलगत अनुगमनमा आज नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङ, प्राविधिक विकास लिम्बू र विशाल राजवंशीसहित पुगेकी उपप्रमुख उप्रेतीले सडक निर्माणमा कार्यरत ५० जना मजदुरलाई भौतिक दूरी कायम गरेर काममा लगाइएकोे बताइन्

    मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको ५०÷५० प्रतिशतमा गरिएको निर्माण कार्यको ठेक्का रौताहा शान्ति जेभियर्सले लिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई जिम्मा लगाउनुपर्ने सर्तअनुसार काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप