बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायत सरकारद्वारा पूर्वगोर्खाहरूलाई सहयोग गर्ने प्रतिबद्धता

मङ्गलबार, २३ वैशाख २०७७, १९ : २४
मङ्गलबार, २३ वैशाख २०७७

लन्डन । कोरोना भाइरस (कोभिड १९ ) को  महामारीका कारण समस्यामा परेका बेलायतमा रहेका पूर्वगोर्खा तथा तिनका परिवारका सदस्यहरुलाई बेलायत सरकारको रक्षा  मन्त्रालयले गम्भीरतापूर्वक लिएको र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको  नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । 

हाल रक्षा मन्त्रालयले गोर्खा वेलफेयर ट्रष्ट लगायतका विभिन्न निकायहरुबाट समस्याको समाधान गर्दै आएको र आवश्यक परेमा स्वयं वा अन्य कसैको माध्यमबाट गोर्खा वेलफेयर एडभाइस सेन्टरमा सम्पर्क राख्न  समेत रक्षा मन्त्रालयले नेपाली दूतावास लन्डनमार्फत अनुरोध गरेको छ ।

 कोरोनाको संक्रमणमा परेका बेलायतमा रहेका पूर्व गोर्खा र तिनका परिवारका सदस्यहरुलाई परेको समस्यालाई आवश्यक सहयोग पुर्याउन गत  महिनाको अप्रिल २७ मा लन्डनस्थित नेपाली दूतावासले बेलायत सरकार समक्ष  आग्रह गरेको थियो । दूतावासद्वारा गरिएको अनुरोध पत्रको प्रतिउत्तरमा रक्षा मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।

विश्वका एक सय दश मुलुकमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट  संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु पनि  प्रभावित भएका छन्  । कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या अन्य मुलुकहरुको  तुलनामा बेलायतमा निकै बढी रहेको छ । 

बेलायतमा पाका उमेर भएका पूर्व गोर्खाहरुको संख्या बढी भएको र मृत्यु हुनेमा पनि उनीहरुको संख्या नै धेरै रहेको छ ।  नेपाली दूतावास लन्डनमा रहेको तथ्यांक अनुसार बेलायतमा हालसम्म ४० जना नेपालीहरुको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताएका छन् ।  

तर  केही दिन अगाडि गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिले दिएको तथ्यांक अनुसार बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ४९ जना रहेको बताएको  छ ।

 हिजोमात्र कोरोनाको संक्रमंबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुमा पूर्व गोर्खा सैनिकहरुको संख्या बढी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप