बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बामदेवको यात्रा मोडिएपछि खतिवडा सुरक्षित

आइतबार, २१ वैशाख २०७७, ११ : ५१
आइतबार, २१ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमार्फत उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा पठाउने निर्णयसँगै हाल सांसदबिनै मन्त्री रहेका डा. युवराज खतिवडालाई राष्ट्रियसभाको सांसद बन्न सहज हुने भएको छ । 

यसअघि २ वर्षका लागि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित खतिवडाको २ वर्षे कार्यकाल फागुन २० मा सकिएको थियो । 

त्यसअघि रिक्त हुने र राष्ट्रपतिबाट मनोनित गरिने उक्त पदमा नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई लैजान सरकारलाई सिफारिस गरेको थियो । तर, सचिवालयको निर्णयमा प्रधानमन्त्री केपी ओलीले आलटाल गर्दै आएका थिए । 

फागुन २० मा समयावधि सकिएपछि मन्त्री पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीले पुनः नियुक्ति गरेका थिए । उता, गौतमले समेत राष्ट्रिय सभामा दावी गरिरहेका बेला खतिवडाले राष्ट्रियसभामा निरन्तरता पाउँछन् या ६ महिनापछि मन्त्रीबाट बाहिरिन्छन् भन्ने अड्कलवाजीहरु भइरहेका थिए । 

तर शनिबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा पठाउने निर्णय गरेपछि अव राष्ट्रपतिबाट मनोनिति हुने सो पदमा खतिवडाकै निरन्तरता हुने सम्भावना बढेको छ । नेकपाभित्रकै बहुसंख्यक नेताहरूको अरुचिकै बीच सत्ता यात्रा अघि बढाएका खतिवडालाई प्रधानमन्त्री केपी ओलीको दरिलो साथ रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप