शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीनपटकसम्म आत्महत्या गर्ने सोच आएको थियो : भारतीय क्रिकेटर मोहम्मद शमी

आइतबार, २१ वैशाख २०७७, ११ : ००
आइतबार, २१ वैशाख २०७७

तीव्र गतिका बलर मोहम्मद शमीले यतिबेला क्रिकेटका तीनै फर्म्याटमा भारतीय क्रिकेट टोलीको मुख्य सदस्यका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । तर, केही वर्षअघि उनका लागि सबै कुरा अधोगतितर्फ अघि बढ्दै थियो ।

उनले आफ्ना समकक्षी रोहित शर्मासँग इन्सटाग्रामको लाइभ च्याटमा आफ्नो जीवनको अँध्यारो पलको अनुभव साझा गरेका छन् । रोहितसँग कुरा गर्दै २९ वर्षीय शमीले सन् २०१५ को क्रिकेट विश्वकपमा चोटग्रस्त भएर १८ महिना मैदानबाहिर रहनुपरेको पल सम्झिएका छन् । ‘सन् २०१५ मा म घाइते भएपछि ठीक हुन १८ महिना लाग्यो । त्यो मेरो जीवनको सबैभन्दा पीडादायी पल थियो । त्यो निकै तनावपूर्ण थियो,’ शमीको भनाइ उद्धृत गर्दै एएनआइले लेखेको छ ।

क्रिकेटमा फर्किए लगत्तै शमीको जीवनमा केही व्यक्तिगत समस्याहरु देखिए । ‘फेरि खेल्न सुरु गरेपछि व्यक्तिगत समस्याहरु पनि देखिए । यदी मेरो परिवारले मेरो साथ नदिएको भए म यहाँसम्म आइपुग्दिन थिएँ होला । मैले तीन पटक त आत्महत्या नै गर्नेबारे पनि सोचेको थिएँ,’ उनले भने ।

शमीमाथि उनको पत्नीले घरेलु हिंसा र अनैतिकसम्बन्ध राखेको आरोप लगाएकी थिइन् भने सन् २०१८ को मार्चामा उनीमाथि म्याच फिक्सिङको आरोप पनि लगाइएको थियो । बीसीसीआईले अनुसन्धान अवधि भर उनको करारलाई होल्डमा राखेको थियो । तर, अनुसन्धानमा उनी निर्दोष पाइएका थिए र त्यो वर्ष उनले दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेलेका थिए ।

उता, उनको पत्नीसँग लामो कानुनी लडाइँ सुरु मात्र भएको थियो । ‘म मानसिक रुपमा ठीक थिइनँ । मसँग मेरो परिवारको एक जना सदस्य सँधै साथ रहन्थ्यो,’ शमीले थपे, ‘मेरो परिवार मेरो साथमा नभएको भए सायद मैले गलत कदम पनि लिन्थे होला । धन्न त्यस्तो भएन ।’

यसअघि, अर्का क्रिकेटर प्रविन कुमारले पनि करियरमा उतार चढाव आउँदा आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका थिए ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप