शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताको प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

शुक्रबार, १९ वैशाख २०७७, ०८ : १०
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयास भइरहेको बताएका छन् । शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश पोखेका हुन् । उनले केही सञ्चारममाध्यमहरुले स्थिरता, स्थायित्व र विकासकाविरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिकासमाचार सम्प्रेषण र चर्चा भइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्का्तिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन’, प्रधानमन्त्री ओलीले भनेका छन् । उनले  त्यस्ता प्रयासलाई सफल हुन नदिने पनि जनाएका छन् ।

त्यस्तै उनले श्रम बिनाको पूँजी र प्रविधि अर्थहीन हुने आजको यथार्थले स्पष्ट पारेको भन्दै कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार लकडाउनमा रहेकोे बताएका छन् ।

‘विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन्,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

अहिलेको लकडाउन विश्वव्यापी भन्दै उनले यो बाध्यकारी अवस्थालाई स्वीकार्नु हाम्रो पनि बाध्यता रहेको ओलीको भनाई छ । ‘यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवम् त्यसको महत्त्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति प्रधानमन्त्रीले आफु अत्यन्तै दुःखी भएको जनाएका छन् । उनले एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहर र बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौँ नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा विदेशिनुपर्ने विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति रहेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।

अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको भन्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति जानकार तथा संवेदनशील रहेको भन्दै प्रधानमन्त्री ओलीले यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गरेका छन् ।

प्रधानमन्त्रीले मे दिवसको संघारमा कोरोना महामारीका बिरुद्धको युद्धमा होमिनुपरेको भन्दै तत्कालको लागि सरकारको प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित रहेको पनि जनाएका छन् ।

बितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।

पछिल्ला केही बर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै अएका छन् । हरेक वर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिंदै आइएको छ । तर यस वर्षको मे दिवसलाई भने संसारका मजदुर वर्गले घरभित्रै बसेर मनाउनुपरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप