शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन् भन्छन् क्यार !

बुधबार, १७ वैशाख २०७७, १६ : ४६
बुधबार, १७ वैशाख २०७७


 

 दिपमाला महर्जन

थाहा छ हजुर,
बन्दाबन्दी छ, निस्कन हुन्न,
लकडाउन भन्छन् क्यार।
कोरोना कहर
पेटको जहर हजुर,
काठमाडौंको मजदुर
कैलाली मेरो घर।
माया लाग्छ हजुर,
काखको नानी, सात महिनाको भूँडी
त्यही माया कै भर।

साहु भागे, रासन सिध्दिए,
के खाएर बाँच्नु हजुर,
६ सय किलोमिटर छ अरे
तै भोकै मर्नु भन्दा  
हिँडेरै घर पुग्न आँकें
नानी रुन्छे, थाकेँ भन्छे,
के गर्नु हजुर,
फकाई फुल्याएँ, लघार्दै हिडाएँ
तै घर पुगिएला की भन्दै
पाइला बढाएँ
कोरोना कहर हजुर, पेटको जहर
काठमाडौंको मजदुर
कैलाली मेरो घर।

शहरका ठुलाठुला महल बनाउने,
म नै हुँ हजुर
साना ठुला घर बनाउने
अनि ढल बनाउने पनि मै,
सडक बनाउने मै
त्यो बिजुलीको खम्बा राख्ने अनि
जलबिधुतमा निर्माण कार्य गर्ने पनि मै
बालुवा गिट्टि ओसार्ने, बजार बजार सामान पुर्याउने
घरघरबाट फोहर उठाउने, शहर शहर सफा गर्ने
खाना बनाउने, लुगा सिउने,
सबै सबै मै
तर हेर्नुस् मेरो बिजोग
बसुँ भन्छु रासन छैन
जाउँ भन्छु गाडि छैन
हाम्रो त राज्य नै छैन हजुर
सडकमा निस्क्यो लाठ्ठि खाइयो
भित्र बसे पेट बटारियो
माया लाग्छ हजुर
यो ज्यानको त माया पनि मारिएला
काखको नानी, सात महिनाको भुँडी
यही मायाको भर।

हिँड्दाहिँड्दा फोका उठिसके
ज्यानै त हो हजुर
एक छाक खाना, एक सरो कपडा
अनि एउटा छानो
गरिबका कोहि हुँदैनन् हजुर
न राज्य, न सरकार,
न त भगवान नै
शहरको चमक, सुकिला आङ्
अनि ठुलाठुला महल
यहिँ बस्दो रहेछ हजुर
राज्य, सरकार अनि तिनका भगवान
कति गनगन गर्नु हजुर
भो म हिँडेँ
अझै कति दिन हिँड्नु छ
कति पहाड कट्नु छ
बाँचे घर पुगिएला
मरे के नै आँक्नु छ
थाहा छ हजुर,
बन्दाबन्दी छ, निस्कन हुन्न,
लकडाउन भन्छन् क्यार।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा