शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारीमा मानसिक समस्या : मनको डर प्रकोपपछि पनि नहट्न सक्छ

बुधबार, १७ वैशाख २०७७, ०९ : ०२
बुधबार, १७ वैशाख २०७७

एक महिनादेखि लागू गरिएको लकडाउनका कारण मानिस घरभित्र समिति छन् । केही घरमा बसेर पनि काममा व्यस्त छन् भने केही टिभी, इन्टरनेट तथा सामाजिक सञ्जालमा समय विताइरहेका छन् । यसरी लामो समय घरमा बसिरहँदा कतिपयलाई तीव्र मानसिक चञ्चलताका कारण मनमा नैरास्यपन, नकारात्मक सोच आउनुको साथै रिसाउने, झर्कने, झस्किने तथा नियमित दैनिकीलाई सही तरिकाले अगाडि बढाउन मुस्किल हुन सक्छ । घर भित्र सिमित हुँदा डिप्रेशन, एङ्ग्जाइटी, जाँड–रक्सीको लत, एक्युट स्ट्रेस डिसअडर आदि समस्या हुन सक्छ ।

जुनसुकै महामारीको समयमा व्यक्तिअनुसार विभिन्न असर तथा समस्या देखापर्छ । अझ मानसिक समस्याका कारण औषधि सेवन गर्दै आएकाहरुलाई लकडाउनको समयमा घरमै सिमित हुँदा मानसिक रुपमा झन् समस्या बढ्न सक्छ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको समयमा घरमा सिमित हुँदा शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल राख्नुपर्ने मनोविद् सनम पौडेल बताउँछिन् ।

महामारीको बेलामा घरमा मात्रै सिमित भएर बस्दा मान्छेअनुसार फरक–फरक मानसिक असर पर्नसक्ने मनोविद् पौडेलको भनाइ छ ।  घरमै बसिरहँदा मनमा आएका असहज कुरा महामारी सकिएपछि केहीले सहजै भुलेर पहिलैको अवस्थामा फर्कन सक्छन् भने केहीलाई पहिलेकै अवस्थामा फर्कन समस्या पर्न सक्ने उनी बताउँछिन् ।

उनी भन्छिन्,

–          घरभित्र सिमित हुँदा डर, चिन्ता, रिसाउने, मनमा नकारात्मक कुरा आइरहे तुरुन्तै लामो श्वास लिने र फल्ने गर्ने । दैनिक रुपमा प्रणायम, कपालभाती, भामरी जस्ता श्वासप्रश्वास प्रक्रिया अपनाएमा तनाव कम गर्न सकिन्छ ।

–          कोभिड–१९ को जोखिमबाट बाच्न शरीरिक रुपमा घरभित्र सिमित भएर मात्रै जोगिन सकिँदैन । त्यसैले मानसिक रुपमा पनि कोरोना संक्रमणको बारेमा सही जानकारी लिन जरुरी हुन्छ । त्यसका लागि सत्य तथ्य जानकारी दिने भरपर्दो सञ्चार माध्यमलाई हेर्ने, सुन्ने, पढ्ने गर्नुपर्छ । 

–          घरपरिवार तथा बालबालिकालाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्नका लागि लकडाउनको समयमा घर बस्दा समय व्यवस्थापन गर्नका लागि दैनिक कार्य तालिका बनाएर सोहीअनुसार पालना गर्दा मनमा नकारात्मक त्रास सृजना हुँदैन ।

–          शारीरिक तथा मानसिक रुपमा तनाव कम गर्नका लागि योग, ध्यान, शारीरिक व्यायम नियमित गर्ने । साथै घरमा बस्दा ध्यान तथा योगा अभ्यासलाई दैनिक आवश्यकीय आदत बनाउने । योग र ध्यानलाई दैनिकी बनाएको खण्डमा शारीरिक तथा मानसिक समस्याबाट टाढा रहन सकिन्छ । 

–          इन्टरनेट चलाउँदा आफ्ना रुचीअनुसारको सकारात्मक उर्जा दिने  सामाग्री गरेर समय बिताउन सकिन्छ ।

–          घरमा सिमित हुँदा डायरी लेख्ने, रुचीअनुसारको किताब पढ्ने, बानी बसाल्ने ।

–          आफुभन्दा साना अनि ठुलाको कुरा सुन्ने र घरका सदस्यलाई अझै नजिकबाट बुझ्ने कोशिष गर्ने । सबै परिवारसँगै भएको मौकामा मनमा आएका कुरा सुनाउने सल्लाह सुझाब लिने बानीको विकास लकडाउनका समयमा गर्न सकिन्छ ।

–          विगतदेखि डिप्रेसन, एङ्ग्जाईटी लगाएतका औषधि सेवन गर्दै आएका परिवारका सदस्यलाई बढी ख्याल राख्ने तथा विशेषज्ञको सम्र्पकमा रहिरहने  ।

बालबालिकालाई कसरी व्यस्त राख्ने ?

कोभिड–१९ को महामारीसँगै अन्य समयमा स्कुल नजाने विशेष गरेर तीन देखि साढे तीन वर्ष उमेर समुहका बालबालिका खानपान, स्याहार सुसार र सरफाईमा घरपरिवार संवेदनशील बन्नुपर्ने मनोविद् पौडेल बताउँछिन् । कुनै पनि रोगको संक्रमण हुन नदिनका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने खाने कुरासँगै बालबालिकाको स्याहार–सुसारमा ख्याल गर्नुपर्छ ।

घरभित्रै उनीहरुलाई उमेर सुहाउँदो खेल खेलाउनुका साथै सरसफाइमा ध्यान दिनुपर्छ । स्कुल जाने चार–पाँच वर्षका बालबालिकालाई घरको काम गर्न सिकाउँदै सामान्य भाषिक ज्ञान तथा अकंगणित सिकाएर व्यवस्त बनाउने उनको भनाइ छ । ‘विगतमा कार्यव्यवस्ताका कारण बिहान साँझ घरमा बालबालिकासँगै हुँदा पनि स्याहार–सुसार गर्न हतार हुन्थ्यो,’ उनले भनिन्, ‘लकडाउन आफना छोराछोरीसँग खेल्ने, खेलाउने, उनीहरुको कुरा सुन्ने, बुझ्ने समय हो भनेर लकडाउनलाई परिवारले बुझ्नुपर्छ ।’

बालबालिकाको रुचीअनुसार कथा पढेर सुनाउने, पढ्न दिने, गीत गाउन लगाउने, गीत सुनाउने, नचाउने, भान्साको काममा सहयोग गर्न सिकाउने जस्तै उनीहरुले खाएको भाडा माझ्न लगाउने, तरकारी काट्न सिकाउने, उनीहरु आफैले लगाएको टोपी, मास्क, पञ्जा, मोजा अन्य साना लुगा धुन सिकाउने गरेर घरभित्रै सिमित बालबालिकालाई व्यस्त  बनाउनुपर्ने उनी बताउँछिन् ।

मनोविद् पौडेलका अनुसार बालबालिकालाई करेसाबारीको काम पनि सिकाउने समय पनि हो । अभिभावक तथा घरमा अन्य सदस्यले सकारात्मक सन्देश दिने आफ्नो बाल्यपनका रमाइलो कुरा सुनाएर बालबालिकालाई व्यस्त बनाएर घरबाट बाहिर जान रोक्न सकिने उनी बताउँछिन् । बालबालिकालाई उमेरअनुसार निगरानीमा राखेर युट्यूब, फेसबुक, अनलाइन गेम खेल्न दिन सकिन्छ । नेटमा पाठ्य सामाग्री खोजेर अध्ययन सिकाएर उनीहरुलाई व्यस्त राख्न सकिने उनको भनाइ छ ।

अभिभावक छोराछोरीसँग बसेर उमेरअनुसार ज्ञान सिप कुरा सिकाउने महत्त्वपूर्ण समय महामारीले अवसर दिएको उनी बताउँछिन् । यदि अभिभाक तथा घरपरिवारले भनेको बालबालिकाले नसुन्ने, नमान्ने गरेको खण्डमा रिसाएर, गाली गरेर जा पिटेर काबुमा लिन प्रयास गर्न नहुने उनी बताउँछिन् । यस समयमा बालबालिकासँग शान्त भएर कुरा गर्ने, उसलाई बुझने, सही तरिकाले खुशी बनाएर सिकाउने बुझाउने प्रयास गरेर घरमा व्यस्त राख्नुपर्ने उनी बताउँछिन् ।

बालबालिकालाई किन घरभित्र मात्रै सिमित भएको हो भन्ने बारेमा उमेरअनुसार बुझाउन पर्ने उनी ठान्छिन् । घरभित्र व्यस्त राख्ने नाममा उनीहरुको इच्छा विपरित डर, धम्की र त्रासमा राखेको खण्डमा बालबालिकामा मानसिक समस्या सृजना हुन सक्ने उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप