बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु
दार्चुला –नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ ।
दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गरेको हो ।
सन् २०१४ मा सम्पन्न हुनुपर्ने प्रसारण लाइन आयोजना ३ वर्ष ढिला गरी संचालनमा आउन लागेको छ । प्रसारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली यसअघिनै दार्चुला पुगेको थियो ।
प्रसारण लाइनकोे डबल सर्किट टावर राखिएपनि सिङ्गल सर्किट लाइन मात्रै जोडेर संचालन गर्न लागिएको हो । आयोजनाका अनुसार डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षबाट सुरु हुँदैछ । प्रसारण लाइनको परीक्षण अत्तरीयाबाट शुरु भएकोे आयोजना प्रमुख अजय दाहालले बताए ।
यो प्रसारण लाइन संचालनमा आएपछि सुदुरपश्चिममा निर्माणाधीन ३० मेगावाटको चमेलिया, ८६ मेगावाटको चमेलिया छत्तिगाड, ४० मेगावाटको माथिल्लो चमेलिया, ५४ मेगावाटका कालंगागाड आयोजना, ८ दशमलव ५ मेगावाटको नौगाड लगायत २ सय मेगावाट बराबरका आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
यसैबीच बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।