शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

मङ्गलबार, १६ वैशाख २०७७, ११ : ५७
मङ्गलबार, १६ वैशाख २०७७

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । 

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो । 

सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो ।

विपद्मा सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते  बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । 

आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ । नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप