शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच दिनहुँजसो किन हुँदैछ 'गोप्य' भेटवार्ता ?

सोमबार, १५ वैशाख २०७७, १७ : ०६
सोमबार, १५ वैशाख २०७७

काठमाडौँ । मुलुकमा जारी लकडाउनलाई चुनौती दिँदै केही दिनयता नेताहरुबीच दिनहुँजसाे गोप्य बैठक भइरहेको छ ।

जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताका साथै प्रतिपक्षी दलका नेताहरु पनि सहभागी भएको पाइन्छ । 

मुलुक कोरोनाको महामारीबाट आक्रान्त भएका बेला बाक्लिएको यसप्रकारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले यहीबीचमा राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको जारी गरी फिर्ता पनि लिसकेको छ । तर त्यसबाट उत्पन्न परिस्थिति विकसित हुँदै गइरहेको छ ।

तर नेकपाका नेताहरु सरकारलाई अप्ठ्यारो वा घेराबन्दी गर्न गोप्य बैठक नगरिएको बताउँछन् ।  

नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली पछिल्लो समय बाक्लिएको बैठक स्थायी समिति बैठकको मागका लागि भएको जिकिर गर्छन् ।

‘पार्टी र सरकारबीच समन्वय नै भएन । यो रोक्नुपर्नेछ । यसका लागि पहिला सचिवालय बैठक बस्नुपर्यो । त्यसपछि स्थायी कमिटीको माग गरेका छौँ । हामीले भन्नुपर्ने कुरा धेरै छन्,’ रातोपाटीसँग उनले भने, ‘हामी हाम्रा कुरा ती बैठकमा सशक्त उठाउँछौँ । स्थायी कमिटी डाक्न भनेर माधव नेपाल र प्रचण्डलाई भनेका हौँ । उहाँहरु त्यसैको तयारीमा लाग्नुभएको छ । स्थायी कमिटी बैठक बस्यो भने हामी हाम्रा धेरै कुरा राख्छौँ ।’

आफूहरुले प्रधानमन्त्रीमाथि घेराबन्दी र अप्ठ्यारो केही नगरेको ज्ञवालीको दाबी छ । 

उनले भने, ‘घेराबन्दी, अप्ठ्यारो केही गरेको छैन । आफैँ नचाहिने नचाहिने काम गर्ने, अध्यादेश ल्याउने के गर्ने, त्यसपछि हामीलाई दोष दिने ?’

यस्तै नेकपाका केन्द्रीय सदस्य डा. विजय पौडेल देशका पार्टी र सरकार विधिबाट नचलेकाले यस्तो अवस्था आएको बताउँछन् ।

उनी भन्छन्, ‘परिस्थिति अनुसार नेताहरु दौडधुप र बैठकमा बस्नुलाई अस्वाभाविक रूपमा लिन मिल्दैन ।’

नेता पौडेलका अनुसार यता कोठे बैठकहरु यही बेला बस्नुको कारण पनि पार्टीहरु विधिबाट नचलेर हो ।

‘पार्टीहरु विधिबाट चलेका भए यो गर्न जरुरी नै हुँदैन थियो । देश र पार्टीहरू दुवै विधिबाट नचलेकाले यी समस्या आएका हन् । यो हास्यस्पद पनि छ । किनभने समाजका अगुवाहरु नै यो बाटोमा हिँड्न थालेपछि अरूलाई पनि त्यो बाटो पछ्याउन सजिलो भएको छ,’ पौडेलको भनाइ छ । 

देशमा आइपरेको सङ्कटको कसरी सामना गर्ने भन्ने योजना नभएको र सत्ताकै लागि मरिहत्ते गर्ने नेताहरुको प्रवृत्ति देखिएको पौडेलले बताए ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले सरकारले अध्यादेश नै लकडाउनमा ल्याएकाले यस्तो अवस्था आएको बताए ।

उनले भने, ‘केही दिनदेखि झापामा छु । त्यहाँको धेरै कुराबाट म सुचित छैन । सरकारले लकडाउनकै बेला अध्यादेश ल्यायो । अनि लकडाउमै अन्य गतिविधि पनि अगाडि बढेको देखिन्छ । अध्यादेश प्रकरणमा प्रधानमन्त्रीजी नराम्रो गरी फस्नुभयो । यसबारे कम्युनिस्ट पार्टीभित्र खैलाबैला हुनु स्वाभाविक छ ।’


 
कम्युनिस्ट पार्टीको आन्तरिक गतिविधि कसरी विकसित हुन्छ, त्यसैमा सरकारको आयु निर्भर रहेको उनको भनाइ छ ।

‘सरकारले अध्यादेश फिर्ता लिएर बुद्धि पुर्याए पनि यो जारी गर्दा र फिर्ता लिँदाको अवस्थामा कम्युनिस्ट पार्टीमा तरङ्ग उठ्नु स्वाभाविक छ । अहिलेको गोप्य बैठक हेर्दा सरकार परिवर्तनको सँघारमा पुगेको मेरो निष्कर्ष छ,’ सिटौलाले भने, ‘प्रधानमन्त्री केपी ओलीजी नेतृत्वको सरकार परिवर्तन हुने सङ्केत नेकपाको आन्तरिक गतिविधिबाट देखिएको मैले पाएको छु ।’

त्यस यहीअनुसार लकडाउनको बेला पनि द्रुत गतिमा छलफल भइरहेको उनको बुझाइ छ ।

‘सरकार परिवर्तन गराउने ताकत कम्युनिस्ट पार्टीमा निहित छ । सरकार परिवर्तनको कुरालाई काँग्रेसले त स्वागत मात्र गर्ने कुरा हो । प्रधानमन्त्रीले सबैको विश्वास गुमाइसकेपछि लकडाउनमै छलफल हुनुलाई अन्यथा लिनुहुँदैन,’ सिटौलाले भने ।

वैशाख १७ गतेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समितिमा पनि सरकार परिवर्तनबारे छलफल हुने उनले जानकारी दिए ।

केही दिनयता नेकपाभित्रको ओलीइतर समूह गोप्य बैठकमा केन्द्रीत भएको देखिन्छ । जसमा  प्रचण्ड र माधव नेपाल समूह बढी सक्रिय छ । स्वयम् केपी ओलीले पनि आफू निकटस्थसँगको बैठकलाई निरन्तरता दिएएका छन् । 

यतिमात्रै होइन ओलीइतरका समूहले प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताहरुसँग समेत छलफल बाक्लाे बनाएकाे समाचार बाहिरिनुले राजनीति थप गर्माउनु स्वाभाविक हो ।

योबीचमा लकडाउनको परबाह नगरी पार्टीका बैठक समेत बाक्लिएको छ । जसको उदाहरण काँग्रेसको पदाधिकारी बैठक, नेकपाकै बालुवाटार केन्द्रीत बैठक तथा परामर्श र राप्रपासमेतको शीर्ष नेताहरुको बैठकलाई लिन सकिन्छ । 

यसविषयमा राजनीतिक विश्लेषक कृष्ण खनाल राजनीतिक आधारमा सरकारले नैतिक धरातल गुमाएपछि घटना विकसित हुँदै गएको टिप्पणी गर्छन् ।

उनले भने, ‘राजनीतिक आधारमा सरकारले नैतिक धरातल गुमाएको अवस्था छ । यस्तो अवस्थामा पार्टीले छलफल गरेर जाने कुरा नेकपाको विषय हो । किनभने सचिवालय बैठक बोलाएर प्रधानमन्त्री हटाउने कुरा हुँदैन । त्यसको आन्तरिक तयारीका लागि नेताहरु छलफल गरिहेका होलान् ?’

अनौपचारिक बैठकहरु सरकार परिवर्तनका लागि हो वा निहित स्वार्थका लागि भन्ने कुरा बुझ्न नसकिएको उनले बताए ।

खनालले भने, ‘यस्तो दुई चार जना नेताहरु बसेर सरकार परिवर्तन हुँदैन होला । यसका लागि केन्द्रीय समिति वा संसदीय दलको निर्णय हुनुपर्ने हुन्छ होला । केही नेताहरु अनौपचारिक वार्ता भन्दै एकले अर्कोलाई गलाएर आफ्ना निहित स्वार्थ पूरा गर्ने मात्र छ भने यसको अर्थ हुँदैन । उनीहरुका माग पूरा गरिदिएपछि सबै सकिन्छ । खास कुरा बाहिर आएको देखिँदैन ।’

यतिबेला सरकार परिवर्तनका लागि काँग्रेस नेताहरुसँगको छलफलले कुनै अर्थ नराख्ने उनको बुझाइ छ ।

‘सरकार परिवर्तनका लागि काँग्रेसले नेकपालाई गर्ने सहयोगको सीमाना छ । हंग पार्लियामेन्टको अवस्था भएदेखि एउटा कुरा हो । त्यतो अवस्थामा कसलाई समर्थन गर्ने के गर्न भन्ने हुन्छ । नेकपासँग पूर्ण बहुमत छ,’ खनालले भने, ‘सरकार परिवर्तनको नेकपाले एक्सन अगाडि बढाएपछि काँग्रेस लगायतका दलले रियाक्सन मात्र जनाउन सक्छ । उनीहरुले त्यसमा ठीक छ, छैन भन्ने कुरा मात्र हुन्छ ।’

नेकपा नफुटेसम्म सरकार परिवर्तन र गठनमा काँग्रेसको भूमिकाको अर्थ नभएको उनले सुनाए । 

उनले भने, ‘नेकपा फुट्ने अवस्था आयो र हंग संसद बन्नपुग्यो भने पछि बेग्लै कुरा हुन्छ । त्यो अवस्था अन्य पार्टीको अङ्कगणितको पनि खेल आउँछ । त्यतिबेला काँग्रेसको भूमिकाको अर्थ हुन्छ । अहिले नै त्यो अवस्था बनेको देखिँदैन ।’

यता बाम राजनीतिक विश्लेषक हरि रोका नेकपाभित्र गुटहरु तयार नभएकाले पछिल्ला दिनहरुमा गोप्य बैठकले प्राथमिकता पाएको सुनाउँछन् ।

उनले भने, ‘गुटहरु फिक्स भएका छैन । माधव नेपालका मान्छे कति, केपी ओलीका मान्छे कति, प्रचण्डका मान्छे कति भनेर फिक्स भएको छैन । नेकपामा त्योभन्दा बाहिर पनि नेताहरु छ वा गुट फेर्नेहरु पनि होलान् । त्यो फिक्स गर्न बैठक भइरहेको देखिन्छ ।’

उनका अनुसार राजनीतिक दलसम्बन्धी आध्यादेशमार्फत प्रधानमन्त्रीले आफ्नो पार्टी विभाजन गर्न खोजेका थिए ।

रोकाले भने, ‘तत्कालीन एमाले विभाजन भएर माले बन्दा ४० प्रतिशत केन्द्रीय समितिका मान्छे गएको होइनन् । त्यसबेला पनि संसदको ४० प्रतिशत मात्र भएको हो । पार्टीभित्र ४० प्रतिशत पुग्दैन भन्ने भएपछि राजनीतिक दल विभाजन सम्बन्धीको प्रावधानमा ‘र’ को ठाउँमा ‘वा’ ल्याएर मधेशवादी पार्टी फुटाएर लैजाने भन्ने उहाँले हिसाब किताब गर्नुभएको हो । तर त्यो असफल भयो ।’
यता नेकपाका अन्य नेताहरु पनि ओलीदेखि सशङ्कित देखिएको रोकाको बुझाइ छ । 

उनका अनुसार त्यसैले यतिबेला धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर नेकपा र काँग्रेसका नेताहरु छलफल गरिहेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप