शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एक दुई जनाले नमान्दैमा बैठक रोकिदैन’

आफै नचाहिने–नचाहिने काम गर्ने, दोष हामीलाई दिने ? : युवराज ज्ञवाली
सोमबार, १५ वैशाख २०७७, ११ : ३७
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । अध्यादेश प्रकरणपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप जारी छ । आइतबार दिनभरजसो बालुवाटार, खुमलटार र कोटेश्वरमा शीर्ष नेता निकटहरुका बैठकहरु भयो । अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका फरक–फरक बैठक बस्यो भने एकपक्षले अर्को पक्षलाई मनाउने प्रयासहरु भए । खासगरी पार्टी बैठक बोलाउने या नबोलाउने भन्नेमा मतभेद आएपछि नेकपाभित्र शक्ति सन्तुलनको तीव्र अभ्यास सुरु भएको हो । अध्यादेश खारेज भइसकेपछि पार्टी बैठक आवश्यक नभएको ठान्ने केपी ओली समुह र अध्यादेश कुन नियतले ल्याइयो र किन फिर्ता गरियो भनेर जावफ खोज्नेहरुबीच अन्तरद्वन्द्व चर्किएको छ ।

अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरु स्थायी समिति बैठकमार्फत् आफ्ना गुनासा राख्न चाहन्छन् । त्यसका लागि प्रचण्ड र माधव नेपाललाई बैठक डाक्न दबाब दिइरहेका छन् । शनिबार शीर्ष नेतासँगको छलफलमा आइतबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्ने बताएका अध्यक्ष केपी ओलीले सोमबार बिहानसम्म पनि सचिवालय बोलाउन सहमत भएका छैनन् ।

सोमबार साँझसम्म पनि बैठकको टुङ्गो नलागे ओलीविरुद्ध फरक ढंगले अघि बढ्ने दाहाल र नेपालसमुहको तयारी छ । स्थायी समितिको बैठक माग गर्ने २० जना मध्येका एक नेता  युवराज ज्ञवालीलाई नेकपाको आन्तरिक विवाद कहाँ पुग्यो भनेर रातोपाटीले सोधेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँगको संक्षिप्त टेलिफोन वार्ता :

विगत केही दिनदेखि नेकपामा गुटगत भेला धेरै हुन थाल्यो, कारण के हो ?

पार्टी र सरकारबीच समन्वय नै भएन । यो रोक्नुपर्नेछ । यसका लागि पहिला सचिवालय बैठक बस्नुपर्‍यो । त्यसपछि स्थायी कमिटिको माग गरेका छौ । हामीले भन्नुपर्ने कुरा धेरै छन् । हामी हाम्रा कुरा ति बैठकमा सशक्त उठाउछौ । स्थायी कमिटि डाक भनेर माधव नेपाल र प्रचण्डलाई भनेका हौँ । उहाँहरु त्यसैको तयारी लाग्नुभएको छ । स्थायी कमिटी बैठक बस्यो भने हामी हाम्रा धेरै कुरा राख्छौँ ।

धेरै भन्नुछ भन्नुभयो । के–के भन्नुछ एक, दुई तीन गरेर भन्नु त ?

भन्नलाई त बैठक बस्नुपर्‍यो नि । बैठकबाहिर भन्ने होइन । बाहिर भनेर समस्या हल हुदैन । हल गर्ने ठाउ भनेको पार्टी कमिटि हो । त्यसैले पार्टी कमिटिको बैठक राख्नुपर्‍यो ।

बैठक राख्ने अझै संकेत देखिएको छैन ? अध्यक्षले बैठक नै राख्नुभएन भने के गर्नुहुन्छ ?

हैन, हैन, अनिवार्य बस्नुपर्छ । एक दुई जनाले मानेन भन्दैमा बैठक रोकिदैन ।

नेकपामा सरकार केपी ओलीले चलाउने, पार्टी प्रचण्डले चलाउने भनेर कार्यविभाजन भएको हो । अध्यक्ष प्रचण्डले बैठक बोलाए हुदैन ?

त्यही त हो हामीले भनेको । उहाँहरुले सल्लाह गरेर निर्णय गर्नुपर्‍यो । सचिवालयमा बस्नुभएको छ । एउटा बैठक पनि डाक्नसक्नुहुन्न भने के हुन्छ ?

तर, तपाईंहरु त प्रधानमन्त्री पनि फेर्ने, मुख्यमन्त्री पनि फेर्ने हिसावले अघि बढ्दै हुनुहुन्छ भन्ने छ नि के त्यसै गर्न लाग्नुभएको हो ?

होइन, यो कुरामा कुनै सत्यता छैन । यसबारेमा हाम्रो कुनै छलफल नै भएको छैन ।

गर्न खोजेको के हो त त्यसो भए ?

हामीले गर्न खोजेको भनेको पार्टीलाई संस्थागत रुपले चलाउनुपर्‍यो । सरकारलाई पार्टीले चलाउनुपर्‍यो भनेको हो । संस्थागत निर्णय हुनुपर्‍यो । त्यसैले बैठकको माग गरेको हो । स्थायी कमिटी बैठकको माग त्यसै गरेको होइन । त्यसले निर्णय गर्छ । बैठक बसेर भाषण गर्न मात्र बैठकको माग गरेका होइनौँ । त्यसले निर्णय गर्छ ।

के गर्छ निर्णय ?

छलफल गरेपछि थाहा हुन्छ । छलफल नै नगर्ने, बैठक नै नराख्ने अनि भाषण गरेर मात्र त निर्णय हुदैन । हामीले पनि अन्तरवार्ता दिएर समस्या हल हुनेवाला छैन ।

यसअगाडि बसेको स्थायी समिति र केन्द्रीय समितिले गरेका निर्णयहरु नै कार्यान्वयन नभएको अवस्थामा फेरि बैठक बसेर अरु निर्णय गर्नुको कति अर्थ रहन्छ ?

हो । त्यो पनि समिक्षा गर्नुपर्ने भएकाले बैठक मागेका हौँ । केन्द्रीय कमिटीको बैठक बसेर त्यत्रो निर्णय गरेको छ । त्यसको उहाँहरुले जवाफ दिनुपर्छ । जवाफ दिनुभएन भने त्यसको समाधान केहो खोज्नुपर्छ । नयाँ समाधान खोज्नुपर्छ । या त उहाँहरुले गर्नसक्नुपर्‍यो या त छोड्नुपर्‍यो । यस्ता धेरै कुरा भन्नुपर्नेछन् । बाहिर कति भन्नु कति बोल्नु ? त्यसकारण हामी अब बोल्दैनौ ।

अब कति समय पर्खनुहुन्छ त बैठकका लागि ?

हेर्दै जाउ । हामीले भन्ने कुरा नेतृत्वलाई भनेका छौँ । बैठक बस्दै बसेन भने विधानमा व्यवस्था भएअनुसार अघि बढ्ने कुरा छँदैछ । त्यसपछि अगाडि जाने स्टेप वाई स्टेपका प्रक्रिया छन् ।

पार्टीबाटै सरकारलाई नै घेराबन्दी भयो । काम गर्ने वातावरण नै भएन भन्ने गुनासो छ । के तपाईंहरुले सरकारलाई घेराबन्दी गरेको हो ?

घेराबन्दी, अप्ठेरो केही गरेको छैन । आफै नचाहिने–नचाहिने काम गर्ने, अध्यादेश ल्याउने के गर्ने त्यसपछि हामीलाई दोष दिने ?

आज कुन चरणको छलफल गर्दै हुनुहुन्छ ?

आज हाम्रो छैन । आज सचिवालयमा केही छलफल होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप