शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको सन्देश बोकेर कोटेश्वर पुगे प्रदीप ज्ञवाली

आइतबार, १४ वैशाख २०७७, २१ : ४१
आइतबार, १४ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप तीव्र बनेको छ ।

आइतबार दिनभरजसो नेताहरु गुटगत छलफल र भेलामा व्यस्त बने । बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफु निकटका नेताहरुसँग छलफल गरे भने कोटेश्वरमा वरिष्ठ नेता माधव कुमार नेपाल समुहले छुट्टै छलफल गर्यो ।

बालुवाटारमा अध्यक्ष ओलीले आफु निकटका नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलसँग एक घण्टा छलफल गरे । उक्त छलफलमा पार्टीका नेताहरुले स्थायी समिति बैठक बोलाएकाले बैठक डाक्ने या नडाक्ने, डाके कसरी फेस गर्ने भनेर छलफल भएको थियो ।

पछिल्लो समय स्थायी समिति बैठक बोलाउन दवाव परेपछि ओलीले निकटकाहरुसँग छलफल बढाएका हुन् । बालुवाटारमा ओलीसँगको छलफल सकेर परराष्टमन्त्री समेत रहेका प्रदीप ज्ञवाली माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।

स्रोतका अनुसार ज्ञवालीले नेता नेपालाई भेटेर तत्काल स्थायी समिति बैठक बोलाउन कठिन हुने भएकाले बजेटपछि मात्रै बैठक राख्दा के हुन्छ ? भनेर सुझाव मागेका थिए । जवाफमा नेपालले पार्टीभित्र बैठकको माग अस्वभाविक नभएको भन्दै बरु दुईदिनका लागि मात्रै भएपनि बैठक डाक्नुको विकल्प नभएको निश्कर्ष सुनाएका थिए ।

अध्यादेश प्रकरणपछि पार्टीभित्रै ओलीको चर्को विरोध भएको र नेता नेपालसमेत स्थायी समिति बैठक बोलाउनुपर्ने पक्षमा रहेकाले उनलाई फकाउन ज्ञवाली ओलीको दूतका रुपमा कोटेश्वर गएको बुझिएको छ । उता प्रचण्ड पक्षका केही नेताहरुले पनि आइतबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सबैले गल्ती कमजोरी सच्चाउदै पार्टी एकता कायम राख्नका लागि नेतृत्वले नेताहरुको माग बमोजिम स्थायी समिति बैठक बोलाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप