शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लैजा लैजा कोरोना लैजा

शनिबार, १३ वैशाख २०७७, २३ : ३९
शनिबार, १३ वैशाख २०७७

 


लैजा लैजा कोरोना लैजा
मर्न नसकेका, हैजाले पनि नलगेका
मुखभरि सबैले थुक्दा पनि
लाज पचाएर हाँसीहाँसी हिँड्न सक्ने
हेपाहा, फटाहा, शासक, प्रशासकलाई लैजा

लैजा लैजा कोरोना लैजा
महामारीको प्रकोपले
संकटमा देश छटपटी रहँदा पनि
देखादेख घुस खान पछि नपर्ने
कपाकप कमिसन खान पछि नपर्ने
भ्रष्टाचारी र भ्रष्टाचारीका संरक्षक शासकलाई लैजा

लैजा लैजा कोरोना लैजा
दुःखी गरिबका नाममा सत्तामा पुगेर
आफ्नै मात्र चिन्तामा डुबेर
दुःखी गरिब जनताको रगत चुसेर
देश भड्खालोमा जाकेर
घिटीघिटी परी घाट लैजाने बेलासम्म पनि
सत्ता र शक्तिको खेलमा मस्त
रोगी, महारोगी, पदलिप्साले ग्रस्त शासकहरुलाई लैजा

लैजा लैजा कोरोना लैजा
मेहेनती जनता विदेश धेकेलेर
लास नहुन्जेर उतै जोतेर
देशमा रेमिट्यान्स भित्र्याएर
भतेरर खाएर उत्ताउलो नाचगानमा रमाइरहेका
यो देशका पाषाण हृदयका दानव
देशद्रोही, जनद्रोही, नरपिसाच शासकहरुलाई लैजा

लैजा लैजा कोरोना लैजा
आफू र आफन्तकै मात्रै हित हुने भए
जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने
देश, जनता नांगा पारेरै भए पनि
आफ्नै मात्र ढुकुटी भर्न तल्लीन
नेपाल देशका भ्रष्ट, अकर्मन्य राजनीतिक पार्टी
तथा अविवेकी राजनीतिक नेताहरुलाई लैजा

लैजा लैजा कोरोना लैजा
थरीथरी जाति, भाषा भएको यो नेपाल देशमा
आफ्नै एउटा जाति मात्रै महान् भनेर
आफ्नै एउटा धर्म मात्रै महान् बनाएर
आफ्नै एउटा भाषा मात्रै नेपाली बनाएर
स्कूल, अफिस, अदालतमा पनि त्यही एउटा भाषा मात्रै कोचेर
सरकारी कामकाजमा पनि त्यही एउटा भाषा मात्रै लादेर
देशभित्रका सबै भाषा, जाति निमिट्यान्न पार्न तल्लीन
यो देशका एकल जाति, एकल नश्लवादी शासकहरुलाई लैजा

लैजा लैजा कोरोना लैजा
हातहतियार बेचेर धन बटुल्दै
अर्काको देशमा युद्ध मच्चाई
कीरा सरह मान्छे मारेर
गरिब देशलाई माग्ने, थाङ्ने बनाएर
विकास, प्रजातन्त्र, मानवता भन्दै
पुँजी र पुँजीपतिहरूका जयगान गाइरहेका
पुँजीवादी, साम्राज्यवादी देशका
सबका सब नरसंहारकारी नेताहरुलाई लैजा

लैजा लैजा कोरोना लैजा
मर्न नसकेका, हैजाले पनि नलगेका
संसारभरका दुष्ट, अत्याचारी, स्वार्थी
अपराधी, जातिवादी, नश्लवादी शासकहरुलाई लैजा
लैजा लैजा कोरोना लैजा
उनीहरू सबैलाई लैजा ।

(नेपालभाषाबाट अनुदित)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बालगोपाल श्रेष्ठ
डा. बालगोपाल श्रेष्ठ

सांस्कृतिक मानवशास्त्री

लेखकबाट थप