शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनका एक सङ्क्रमित कोरोना भाइरसमुक्त

शनिबार, १३ वैशाख २०७७, १० : ५९
शनिबार, १३ वैशाख २०७७

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि  भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । 

दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।
 
उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ । 

आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । उनले भने, “उहाँलाई हामी आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौँ ।” कम्तीमा उनी एक साता क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।
 
तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाइरस देखिएको थियो । शुरुमा आमामा ¥यापिड डायग्नोष्टिक टेष्टमा शङ्कास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।
 
परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टीबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।
 
चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । ¥यापिड डायग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।
 
जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाले स्थापना गरी भरतपुर अस्पतालले नै सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पताललाई तोकिएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका सङ्क्रमितलाई उच्च सावधानीका साथ राखिएकाले अन्य सेवा सञ्चालन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप