कविता : म लकडाउनमा छु
-मनोज काफ्ले
सुस्तरी.. अल्ली सुस्तरी बोल है सुन्लान कतै
राज्यका भित्ताहरुले ।
नबोलाऊ है मलाई देख्लान् कतै
पुलिस प्रसासनले
म कसैलाई भन्दिनँ
म कसैलाई सुनाउँदिनँ
कि म
म आफ्नै पेटलाई दुवै हातले च्याप्दै
दिनभर निदाउने कोसिस गरिरहेछु ।
अनि
मेरा लालाबालालाई पनि हरेक दिन
यसैगरी निदाउन सिकाइरहेछु ।
किनकि म लकडाउनमा छु
मेरो आँगनको एक कुनामा
बकैनाको रुखको फेदमा
बन्दी गरेको मेरो अन्नदाता, मेरो रिक्सा
एकतमासले मलाई हेर्छ ।
दिनहुँ मलाई गिज्याउँछ
बदलामा म दिनहुँ उसलाई पुछ्छु ।
दिनहुँ उसलाई टल्काउँछु ।
कहिले त आवेशमा आई चलाउन पनि खोज्छु
त्यत्तिकैमा भित्रबाट चर्को आवाज आउँछ
ए.. कता... किन... थाहा छैन... विर्सिएको
म गहिरो सपनाबाट एक्कासि ब्युँझिन्छु ।
किनकि म लकडाउनमा छु ।
कहिले बिहान मात्र अनि कहिले साँझ मात्र
पालैपालो गरी बलेको मेरो घरको चुलो
दिनभर शान्त र चिसो नै रहन्छ ।
तैपनि ती अबोधहरु त्यसैको वरिपरि
केही पाक्ने आशामा झुम्मिरहन्छन् ।
तिनलाई हेर्दै रसाएका मेरी अर्धाङ्गीनीका आँखा
म पुछ्ने कोसिस गर्दै सोध्छु
अस्तिको बिस्कुट सक्कियो है
प्रश्नको उत्तर पनि मै दिन्छु ।
धैर्य गर प्रिय
पर्सि त राहत पक्का आउँछ रे
किनकि म लकडाउनमा छु ।
भरतपुर–४, चितवन