शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायीलाई सरकारले २० लाख रुपैयाँ विना धितो कर्जा उपलब्ध गराउनुपर्छ : अध्यक्ष सुवेदी

शुक्रबार, १२ वैशाख २०७७, २१ : २०
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को महामारीका कारण थला परेको पर्यटन व्यवसाय पुनः माथि उठाउन सरकारले व्यवसायीहरुलाई कम्तिमा २० लाख रुपैयाँ विना धितो कर्जा उपलब्ध गराउनु पर्ने ट्रेकिङ्ग एशोसिशन अफ नेपाल(टान)का अध्यक्ष खुम सुवेदीले बताएका छन् ।

कोरोनाका कारण शुन्यमा झरेको पर्यटन व्यवसायको पुर्नजीवनका लागि भएपनि सरकारले यस्तो कर्जाको व्यवस्था गर्नु पर्ने सुवेदीको भनाइ छ । ‘पहिलो कुरो जीवन वाच्नु प¥यो र व्यवसाय टिक्नु प¥यो नि । अनि समग्र पर्यटन उद्योगको कुरो आउँछ । यहाँ त व्यवसाय नै चौपट भएको अवस्था छ । यस्तो अवस्थामा अब सामान्य रुपमा व्यवसाय पुर्नजीवित हुने अवस्था छैन ।’ 

अध्यक्ष सुवेदीले भने, ‘थला परेको पर्यटन क्षेत्र उकास्न व्यवसायीलाई सरकारले कम्तिमा २० लाख रुपैयाँ विना धितो कर्जा उपलब्ध गराउनु पर्छ ।’

सुवेदीका अनुसार सबै व्यवसायीहरु सम्पन्न र सक्षम नभएका कारण त्यस्ता कमजोर व्यवसायीलाई अवस्था हेरी कम्तिमा एक वर्षका लागि २० लाख रुपैयाँ उपलब्ध गराउनु पर्छ । यस्तो कर्जामा बढिमा २ प्रतिशतको व्याज लगाउनु पर्ने उनको भनाई छ । 

यस्तो अवस्था नरहे पर्यटन क्षेत्र पहिलेकै गतिमा फर्कन नसक्ने र पर्यटन उद्योगमा दीर्घकालिन प्रभाव पर्ने सुवेदीले बताए । ‘कित सरकारले सके गर नसके मर भन्नु प¥यो, कित उचुति वातावरण मिलाई दिनु प¥यो । 

नत्र साना तथा मध्य स्तरका व्यवसायीहरु वाच्ने अवस्था छैन । समग्र पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारले २ प्रतिशतको पुर्नकर्जा उपलब्ध गराउनु पर्छ ।’

अध्यक्ष सुवेदीले भने,‘यदि सरकार आफैले सक्दैन भने विदेशी फन्ट, विश्व बैंक, एशियाली विकास बैंक, विभिन्न दातृ निकायहरुसँग जवानी बसेर भने पनि व्यवसायीहरुलाई कर्जा व्यवस्थापन गर्नुपर्छ । यस विषयलाई ध्यानमा राख्दै सरकारले उचित कदम चाल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’ 

यता, लकडाउन पछि सरकारले तत्काल प्रचार प्रसारमा जाने भन्दा पनि आवश्यक पूर्वाधार विकास तथा पूर्वतयारीमा लाग्नु पर्नेमा सुवेदीको जोड छ । विश्व नै कोरोनाका कारण प्रभावित भएको बेला समस्याबाट माथि उठ्न विश्वलाई कम्तिमा एक वर्ष लाग्ने हुँदा सो समयमा सरकारले मुलुकको पर्यटन पूर्वाधार तथा आवश्यक तयारीमा लाग्नु पर्ने अध्यक्ष सुवेदीको भनाई छ ।

गत डिसेम्बरदेखिनै चीनबाट शुरु भएको कोरोनाका कारण नेपाली पर्यटन क्षेत्र निकै प्रभावित छ । कोरोनाका कारण खर्बौको नोक्सान भइसकेको यो व्यवसाय अवस्था सहज हुने वित्तिकै पुनः पहिलेकै अवस्थामा आइहाल्ने देखिदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप