बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको आरोप, ‘पैसा बोकर सांसद खोज्दै हिँड्या छन्’

इस्तियाकमाथि पार्टी विभाजनको आशंका किन ?
मङ्गलबार, ०९ वैशाख २०७७, २३ : ०२
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौँ । सरकारले पास गरेको दल विभाजनसम्बन्धी अध्यादेशले अहिले सबैभन्दा बढी तनाव कसैलाई भएको छ भने ती हुन् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । उनको दाबी छ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सो अध्यादेश आफ्नै पार्टी फुटाउनका लागि ल्याएका हुन् । अध्यादेश ‘सुपर फास्ट ट्रयाकमा’ प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित भएसँगै उनी पार्टीलाई फुटबाट जोगाउन सक्रिय बनेका छन् । 

अध्यादेश आएपछि उनी यति बेचैन थिए कि राति नै आफ्ना सबै सांसदलाई फोन गरेर ‘हालखबर’ सोधेका थिए । पार्टी फुटाउन सक्ने शंका लागेका सांसदहरुलाई त यादवले पटक–पटक फोन गरेका थिए । एक सांसदले रातोपाटीसँगको कुराकानीमा भने, ‘म नै अचम्ममा परेको थिएँ । राति १० बजे अध्यक्षज्यूले फोन गर्नुभयो । यसरी यति राति मलाई उहाँले कहिल्यै फोन गर्नुभएको थिएन । तर हिजो अचानक फोन गरेर के छ हाल खबर भनेर सोध्नुभयो । लकडाउनमा कसरी बसिरहनुभएको छ ? बालबच्चा कस्तो छ भनेर पनि सोध्नुभयो ? वहाँको अगाडि हुँदा पनि यस्तो प्रश्न कहिल्यै सोध्नुहुन्थेन ।’


सरकारले यो अध्यादेश राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर ल्याइएको दावी गर्दै अध्यक्ष यादवले राजा महाराजको पाला जस्तै दलहरुलाई कमजोर बनाउने र शासन गर्ने काम अहिलेको सरकारबाट भइरहेको जिकिर गरे । सचिवालयको बैठकमा नै यो अध्यादेश मधेशी दलका लागि लक्षित गरेर ल्याएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी पनि अध्यक्ष यादवले  गरे ।


ती सांसदलाई यादवले दुई पटक फोन गरेका थिए । पहिलो पटकको फोनमा अनौपचारिक कुराकानी गरेका यादवले दोस्रो पटक फोन गर्दा भने ‘पार्टीमा के भइरहेको छ ? अहिले पार्टीभित्र अनेक हल्लाहरु आइरहेका छन्, तपाईंलाई केही थाहा छ ?’ भन्दै सोधखोज गरेका थिए । उनले अन्य सांसदहरुसँग पनि यसरी नै सोधखोज गरेका थिए ।

सांसद तथा पार्टीका नेताहरुसँगको कुराकानी पछि नै आफ्नो पार्टी फुटाउन राज्य नै लागेको सूचना पाएको अध्यक्ष यादव बताउँछन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘बोराको बोरा पैसा बोक्दै सांसद खोज्दै हिँड्या छ । प्रजिअलाई लगाएको छ, गृहसचिवलाई लगाएको छ, प्रशासनलाई लगाएको छ, सांसदहरुलाई धम्काउने, प्रलोभन दिने, मन्त्री पदको आशा देखाउने काम भएको छ ।’

अध्यक्ष यादवले अहिले नै पार्टी फुट्ने अवस्थामा नपुगेको तर आफू नेताहरुको निरन्तर सम्पर्कमा रहेको बताए । सरकारले यो अध्यादेश राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर ल्याइएको दावी गर्दै अध्यक्ष यादवले राजा महाराजको पाला जस्तै दलहरुलाई कमजोर बनाउने र शासन गर्ने काम अहिलेको सरकारबाट भइरहेको जिकिर गरे । सचिवालयको बैठकमा नै यो अध्यादेश मधेशी दलका लागि लक्षित गरेर ल्याएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी पनि अध्यक्ष यादवले  गरे । अध्यक्ष यादवले आफ्ना पार्टीका नेतालाई मात्र होइन, नेकपाका विभिन्न नेताहरुलाई फोन गरेर आफ्नो पार्टी जोगाइ दिन आग्रह गरेको नेकपाका नेताहरु बताउँछन् ।

उनले सबभन्दा बढी आशंका पार्टीका सचिव एवं पूर्वमन्त्री इस्तियार राइमाथि आशंका गरेका छन् । पार्टी फुटाउने कार्यमा सचिव राइ संलग्न रहेको कुरा पार्टीभित्रबाट र सञ्चारमाध्यममा पनि लगातार आइरहेको हुनाले उपेन्द्र यादव राइको निरन्तर सम्पर्कमा रहेका छन् । पार्टी सचिव इस्तियाक राइले ४० प्रतिशत सांसद ठीक पारेर राखेको सूचना उपेन्द्र यादवसमक्ष पुगेको छ ।


प्रधानमन्त्री ओली र इस्तियाक राइ बीच कस्तो सम्बन्ध थियो भने कुरा मन्त्री हेरफेरको घटनाले पनि पुष्टि गरेको थियो । एक राज्यमन्त्रीसहित पार्टीबाट दुईजना मन्त्री सरकारमा थिए । प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिए र डा.सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट बर्खास्त गरिदिए । तर इस्तियाक राइलाई प्रधानमन्त्री ओलीले चलाएनन् ।


इस्तियाकमाथि किन आशंका ?

सचिव इस्तियाक राइ अहिले मात्र होइन, केपीशर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकै बेलादेखि समाजवादी पार्टी छाड्ने मुडमा थिए । उनले नेकपामा जानका लागि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पटक पटक कुरा गरेका थिए ।

यो कुरा समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थाहा पाएपछि इस्तियाकलाई फोन गरेर त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए । त्यतिबेला राइले ‘त्यस्तो केही छैन, बजारमा हल्ला मात्र हो’ भन्दै मुख्यमन्त्री राउतलाई सम्झाएका थिए ।

प्रधानमन्त्री ओली र इस्तियाक राइ बीच कस्तो सम्बन्ध थियो भने कुरा मन्त्री हेरफेरको घटनाले पनि पुष्टि गरेको थियो । एक राज्यमन्त्रीसहित पार्टीबाट दुईजना मन्त्री सरकारमा थिए । प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिए र डा.सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट बर्खास्त गरिदिए । तर इस्तियाक राइलाई प्रधानमन्त्री ओलीले चलाएनन् ।

बरु प्रधानमन्त्री ओली र इस्तियाकबीच सम्बन्ध अझै राम्रो हुँदै गयो । उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरेकोमा भित्रभित्रै खुशी थिए इस्तियाक राइ । प्रधानमन्त्री ओलीसँग तिक्तता बढ्दै गएपछि अध्यक्ष यादव मन्त्रीपरिषद्को बैठकमा समेत जान छाडेका थिए तर इस्तियाक राई मन्त्रिपरिषद्मा निरन्तर सहभागी हुन्थे । समाजवादी पार्टीमा हुने गतिविधिको बारेमा इस्तियाक राइमार्फत नै प्रधामन्त्री ओली सबै कुरामा अपडेट हुन्थे ।

पछि कानुन मन्त्रीको हैसियतमा उपेन्द्र यादवले संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्नुपर्ने भन्दै मन्त्रीपरिषद्मा प्रस्ताव लगे । सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार मात्र गरेनन् उपेन्द्र यादवप्रति अपमानजनक शब्द पनि प्रयोग गरे ।

यो घटनापछि उपलब्ध पदाधिकारीको बैठक चलिरहँदा उपेन्द्र यादवलाई सोही पार्टीका उपाध्यक्ष रेणु यादवले खबर सुनाइन्, ‘तपाईंले मन्त्री पदबाट राजीनामा नदिए, प्रधानमन्त्री ओलीले आजै बर्खास्त गरिदिनुहुन्छ ।’ यो कुरा सुनेपछि अध्यक्ष यादवले हत्तपत्त राजीनामा दिएका थिए जब कि संसदीय दलको बैठक बसेर मात्र राजस्नामा दिने पदाधिकारी बैठकमा तय भएको थियो । पदाधिकारी बैठक पछि संसदीय दलको बैठक बस्नका लागि नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आउँदै गर्दा यादवले हतार-हतारमा सदा कागजमै आफ्नो राजीनामा लेखेर प्रधानमन्त्री कार्यालय पठाएका थिए ।

यति हुँदा पनि इस्तियाक राइ राजीनामाबारे बेखबर थिए । अध्यक्ष यादवले राजीनामा दिए पनि आफूले दिन नपर्ने कुरामा उनी ढुक्क थिए । किनभने प्रधानमन्त्री अ‍ोलीले पनि राजीनामा दिन आवश्यक छैन भनि इस्तियाकलाई भनेका थिए । तर, पार्टी नै सरकारबाट बाहिरिने भन्दै यादवले राइलाई मन्त्रीबाट राजीनामा दिन लगाए । राजीनामा दिँदा पनि राइले प्रधानमन्त्री अ‍ोलीलाई धन्यवाद नै दिएका थिए ।

इस्तियाक राइले मन्त्रीबाट राजीनामा दिइसकेपछि पनि प्रधानमन्त्री ओलीको निरन्तर सम्पर्कमा थिए । समाजवादी पार्टी स्रोत भन्छ, काठमाडौं आएपछि उनी सिधै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान्थे ।

अहिले यो कोरोना भाइरसका कारण गरिएको लकडाउनमा इस्तिायर राइ राहत वितरणमा सक्रिय छन् । आफ्नो क्षेत्रमा गरीब, मजदुर तथा समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । अध्यादेश पारितपछि भइरहेको चर्चाप्रति उनले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् ।

तर उनी भन्छन्, ‘पार्टीले जारी गरेको विज्ञप्ति नै मेरो पनि धारणा हो ।’ पार्टी विभाजनको बारेमा जिज्ञासा राख्दा उनले अहिले नै पार्टी फुट्ने अवस्था नभएको तर भोलि के हुन्छ थाह नभएको प्रतिक्रिया दिए । रातोपाटीसँगको कुराकानीमा उनले समाजवादी पार्टीमा विवाद रहेको कुरा स्वीकार गर्दै भने, ‘समाजवादी पार्टीमा मात्र होइन, हरेक पार्टीमा विवाद हुनु समान्य कुरा हो । यसले पार्टी नै विभाजन हुने अवस्था छैन ।’

उनले आफू बालुवाटारको निरन्तर सम्पर्कमा रहेको पनि स्वीकार गरे । यद्यपि, उनले छलफलमा पार्टी विभाजनको विषयमा कुनै कुराकानी नभएको दावी गरे । पार्टी फुटाउन प्रधानमन्त्री अ‍ोलीले पैसा दिएर मान्छे खटाएको कुरा तपाईकै पार्टीका अध्यक्षले भनिरहेकोे विषयमा जिज्ञासा राख्दा उनले यो विषयमा आफूलाई केही जानकारी नभएको र यस विषयमा अध्यक्षसँग नै कुरा गर्न भने ।

तर, स्रोत भन्छ,  राइलाई पार्टीका सांसद राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, विमल श्रीवास्तव, रेणुका गुरुङ, उमाशंकार अररिया लगायतले साथ दिएका छन् ।


‘समाजवादी पार्टी बनेदेखि मधेशी नेताहरुको कुनै महत्त्व छैन । मधेशी नेताहरुलाई उपेन्द्र यादवले किनारा लगाइएको छ,’ ती सांसदले भने, ‘उहाँ (उपेन्द्र) ले आफ्नो मान्छेलाई नै चिन्न सक्नुभएन । सबैसँग दुरी बनाएर राख्नुभयो । त्यसैको नतिजा हो आज उपेन्द्र यादवलाई कसैले साथ दिइरहेका छैनन् । समय सधैँ एउटै रहँदैन ।’


उपेन्द्रको पार्टी : जहिले पनि फुट !

उपेन्द्र यादवको पार्टीमा फुटको चर्चा भएको यो पहिलो पटक होइन । यसअघि पनि धेरै पटक उनले नेतृत्व गरेको पार्टीले विभाजनको सामना गरिसकेको छ । उनले नेतृत्व गरेका तत्कालिन मधेशी जनअधिकार फोरमबाट विजयकुमार गच्छदार अलग भएर छुट्टै पार्टी बनाएका थिए । पछि जयप्रकाश गुप्ता पनि अलग भएर छुट्टै पार्टी बनाएका थिए । त्यसअघि अमर यादव र भाग्यनाथ गुप्ताले पनि अलग भएर छुट्टा छुट्टै पार्टी बनाएका थिए । उपेन्द्र यादवसँग मधेशका ठूला ठूला नेताहरुले साथ छाड्दै गए । र, त्यो छाड्ने क्रम चलिनैरह्यो । पछि उनले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरे । तर मधेशवादी कुनै पनि दलसँग उनले एकीकरण गर्न सकेका छैनन् ।

किन यस्तो ? उनकै पार्टीका सांसद भन्छन्, यसको एउटै कारण हो, उनले मधेशमा आफैलाई सर्वश्रेष्ठ ठान्छन् । रातोपाटीसँग कुरा गर्दै ती सांसदले भने, ‘उपेन्द्र यादवको एउटै मात्र कमजोरी हो उहाँ अरु कसैलाई मान्छे नै गन्नु हुन्न । सांसदहरुलाई हप्काउने, कमजोरी देखाउने र एक अर्कालाई लडाउने काम उहाँले गर्नुहुन्छ ।’ पार्टीभित्रै कसैलाई समाप्त गर्नुपर्यो भने उपेन्द्र यादव त्यसको पछि हात धोएर लाग्ने गरेको उनीमाथि आरोप लगाए ।

अहिले उनलाई समस्या परेपछि मात्र सबै सांसदहरुलाई फोन गर्ने गरेको अर्का सांसद बताउँछन् । ‘पार्टीभित्र कुनै नेतालाई कुनै अप्ठ्यारो पर्यो र अध्यक्षजीलाई सम्पर्क गरियो भने सम्पर्क नै हुँदैन । भेट्न पनि चाहनुहुन्न । अहिले आफूलाई समस्या परेपछि राति–राति फोन गर्नुहुन्छ,’ ती सांसदले भने ।

उनी भन्छन्, ‘हाम्रो पार्टी एक वर्षभन्दा बढी समय सरकारमा रह्यो तर हामीले हाम्रो पार्टी सरकारमा छ भन्ने कहिल्यै अनुभूति गरेनौँ । उपेन्द्र यादव मन्त्री हुँदा स्वीकीय सचिवमा आफ्नो छोरालाई राखेका थिए । छोरामार्फत सबै कुरा हुन्थ्यो । पार्टीका अरु कुनै नेतासँग मतलब पनि हुँदैन्थ्यो ।’ पार्टीका नेता नै भेट्न जाँदा उपेन्द्र यादवसँग भेट नभएको अनुभूती धेरैले सुनाएको ती सांसदले सुनाए ।

‘समाजवादी पार्टी बनेदेखि मधेशी नेताहरुको कुनै महत्त्व छैन । मधेशी नेताहरुलाई उपेन्द्र यादवले किनारा लगाइएको छ,’ ती सांसदले भने, ‘उहाँ (उपेन्द्र) ले आफ्नो मान्छेलाई नै चिन्न सक्नुभएन । सबैसँग दुरी बनाएर राख्नुभयो । त्यसैको नतिजा हो आज उपेन्द्र यादवलाई कसैले साथ दिइरहेका छैनन् । समय सधैँ एउटै रहँदैन ।’ के पार्टी विभाजन हुँदैछ त भन्ने जिज्ञासामा ती सांसदले स्पष्ट जवाफ भने दिएनन् । उनले भने, ‘हेर्दै जानुस् के हुन्छ । राजनीतिमा कुनै कुरा असम्भव छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप