बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘गुल्मी आएर बल्ल सरकारको मुख देख्यौँ’

सोमबार, ०८ वैशाख २०७७, ०९ : १३
सोमबार, ०८ वैशाख २०७७

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका पर्वत र बाग्लुङ्गको सिमानामा पर्दछ  । त्यसमा पनि वडा नम्वर–७ छापचौर बाग्लुङ्गकै काखमा  पर्दछ । त्यहाँस्थित नवराज श्रेष्ठको घरमा तामाको भाँडा बनाउने काम गर्दै आएका डढेलधुराका महेश ताम्राकारलाई वैशाख २ गतेको दिन बाबुको मृत्यु भएको फोन घरबाट आयो ।

तर, लकडाउनका कारण गाडी नचल्ने भए पछि ताम्राकर वडाध्यक्ष लोकप्रताव शाह समक्ष पुगे ।  वडाध्यक्ष शाहले तम्घाससम्म हिँडेर जानका लागि पत्र थमाइ दिए । उनीसहित संगै काम गर्ने चार जना कामदारहरु त्यहाँबाट बाग्लुङ्ग बरेङ्ग हुँदै  हिँडेर २३ घण्टामा आइतबार बिहान सदरमुकाम तम्घास आइपुगेका उनीहरुलाई  रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक होटलमा खानपिनको व्यवस्था गरे । मेयर भुसालले वडाध्यक्ष अखिलेश्वर पाण्डेलाई अह्राएर उनीहरुलाई  कमसेकम  गाडीमा गुल्मीको सिमाना कटाई दिन ५ हजार गाडी भाडा उपलब्ध गराई दिएका छन् ।

वैशाख २ गतेका दिन उनका ७२ वर्षीय बाबु भागिरथ ताम्राकारको मृत्यु भएको जेठा छोराको हैसियतले उनी काजकिरया गर्न हिँडेको बताए ।  ‘काम गरेर बसेका थियौँ, यस्तो बेलामा बाबु बितेको फोन आयो त्यसैले हिडेरै भए पनि जान्छु भन्दै हिँडेका हौँ,’ उनले भने । हिँडरै घर पुग्न त एक महिनै लाग्छ कि क्या हो भन्दै थिए उनी ।  आइतबार उनका बाबु मृत्यु भएको ५ दिन भएको छ ।

घरमा कान्छा भाई भए पनि जेठो छोराले किरियाक्रम गर्ने चलन भएकाले आफु नगइ नहुने बाध्या रहेको उनको भनाइ छ ।  उनले आफ्नो घर डढेलधुराका अमरगढी नगरपालिका वडा नम्बर–४ भएको बताए ।  अन्य तीन जना कामदारहरु उनकै गाउँका भएको बताउँदै थिए ।

उता बाग्लुङको जैमिनी नगरपालिका वडा नम्वर १० को राङखानीको देवलधारा खानेपानी योजनामा काम गर्ने ७ जना मजदुर आफ्नो घर रोल्पा जान आइतबार नै गुल्मी प्रवेश गरेका छन् । शनिबार गल्कोट नगरपालिका  आई पुगेका उनीहरुलाई त्यहाँका वडाध्यक्ष हिमबहादुर भण्डारीले खानपिन गराइ आइतबार विहान मुसिकोट नगरपालिकासम्म गाडीमा पुर्याउन आएका थिए ।

उनीहरुलाई उपमेयर कमला शर्मा, काँग्रेस नेतृ विष्णुकुमारी सापकोटा, वामीका शिक्षक रामकृष्ण कँडेल लगायतले नगरपालिकाको खर्चमा गाडीमा चढाएर प्युठानको सिमाना मदाने गाउँपालिकासम्म पठाएर उद्धार गरिएको छ । 

गुल्मी आएर बल्ल सरकारको मुख देख्यौँ

बाग्लुङबाटै बाँके र बर्दिया सम्मको  पैदलयात्रामा हिडेका २४ जनालाई पनि रेसुङ्घा नगपालिकाले उद्धार गरेको छ । एक समूहलाई  वैशाख ५ गते प्युठानको सिमाना अग्लुङ्गफेदीसमम  गाडीमा पुराईयो भने अर्को समूहलाई दोश्रो दिन मेयर डिल्लीराज भुसाल क्वारेन्टाईन मै आएर गाडीमा राखेर घर पठाएका हुन् ।

मेयर भुसालले आफ्नो नगरपालिकामा प्रवेश गर्ने कसैलाई  पनि भोकै बस्न र सिमानासम्म  हिँडेर जाने दुःख नदिने गाडी मै चढाएर पढाउने उद्घोष गरेका छन् ।

‘बाग्लुङदेखि तीन दिनसम्म हिँडेर आउँदा बीच बाटोमा कसैले मुख हेरेनन्,’ बर्दियाका रेशम चौधरीले भने, ‘बल्ल गुल्मी आए पछि सरकार रहेछ भन्ने लाग्यो ।’

३ वर्षकी छोरी  बोकेर हिँडेर आएकी बर्दिया कै सीता नेपालीले ३ दिनसम्म भौकै थिइन् । नगरपालिकाले खानाको व्यवस्था गरेर प्युठानसम्म गाडीमा राखेर पठाएकोमा आभार प्रकट गरिन् ।

नगरप्रमुख भुसालले हाल सम्म ५२ जनालाई गाडीमा पठाएको र सयौँलाई खाना र बस्नको व्यवस्था मिलाएको बताए ।  ‘उद्धारमा हामीले कुनै कुराको कमी हुन दिएका छैनौँ,’ उनले भने, ‘भारतबाट आएकी  वडा नम्बर  २ बाघमारेकी गर्भवती भगवती परियारलाई सुनौलीदेखि उद्धार गरेर ल्याई क्वारेन्टाईनमा राखेको बेला सुत्कोरी ब्याथा लागेर पाल्पा पुराएर सुत्केरी गराएर ल्याएका छौँ  ।’ 

उनलाई रातको समयमा पाँच हजार रुपैयाँ दिएर वडाध्यक्ष उदयबहादुर थापाले पाल्पा पठाएका थिए  । अहिले उनी र  नवजात शिशुको स्वास्थ्य अवस्था ठिक रहेको र सुत्केरी पोषण पु¥याइएको वडाध्यक्ष थापाको भनाइ छ ।

यति बेला  विभिन्न नाका हुँदै गुल्मीमा प्रवेश गर्ने मध्ये रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका,  धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका र ईस्मा गाउँपालिकाले मानवीय उद्धार गरिरहेको सत्तारुढ दलले जानकारी दिएको छ ।  यता, नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले पनि  सर्वदलीय संयन्त्रले सन्तोषजनक राहत वितरण र मानविय उद्धारमा जुटेको प्रतिकृया दिए । यति बेला मानवीय उद्धारमा प्रमुख राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  र नेपाली कांग्रेस सहित अन्य क्रियाशील राजनैतिक दलका नेता कार्यकर्ता समेत दलगत रुपमा नभई साझा रुपले कोरोना भाईरस विरुद्ध लडेको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप