केन्द्रीय संस्करण
खेलकुद

त्यो सम्पन्न, यो सुनसान म्याड्रिड

person explore access_timeबैशाख ६, २०७७ chat_bubble_outline0

रोर्बटो कार्लोस

मैले कहिल्यै नभुल्ने दिनको फोटो मेरो घरमा छ । यो सन् १९९६ मा खिचिएको थियो, जब म इन्टर मिलानबाट रियल म्याड्रिड आएँ । यसअघि म कहिल्यै म्याड्रिड पुगेको थिइनँ ।

म २३ वर्षको थिए । जब एयरपोर्टमा ओर्लिए, त्यसपछि म सिधैं कहाँ बस्ने भनेर खोज्न गइनँ । न त, युरोपको शाही शैलीको सान्टियागो रंगशालामै गएँ । म, स्पेनिस पत्रिकाका केही व्यक्तिसँग प्लाजा डि सिवेलेसमा गए । मैले यसका केही तस्विरमात्रै हेरेको थिएँ, तर थाहा थियो यो विशेष ठाउँ हो ।

यस दरबारको मध्यभागमा पानीको फोहरासहित भगवान् साइबेलेको शालिक छ । नजिकै, बान्को डि स्प्याना र पालासियो डि सीवेलेसजस्ता भवन छन् । म्याड्रिडका जोकोहीका लागि सिबेलेस एक महत्त्वपूर्ण ठाउँ हो ।

फुटबल समर्थनहरुका हकमा यसले थप अर्को महत्त्व राख्छ । सिबेलेस त्यही ठाउँ हो, जहाँ रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टिम उपाधि जितेपछि खुसी मनाउन जान्छन् ।

त्यसैले विमानस्थलबाट सिधैं सिबेलेस जानु भनेको ब्राजिलमा रियो दि जेनरियोमा पहिलो पटक उत्रनु र सिधंै रेडिमरस्थित क्राइस्टको शालिक हेर्न जानुजस्तै हो ।

म निकै उत्साहित थिए र यति नै बेला पत्रिकाका फोटोग्राफरले मेरो फोटो खिचिहाले ।

जब म यो फोटो हेर्छु, तब कसरी रियल म्याड्रिडसँगको मेरो अद्भूत यात्रा सुरु भयो भन्ने स्मरण हुन्छ । अझै, मसँग घरमा फोटो छ र अहिले पनि म्याड्रिडमा मेरो घर छ । अहिले म रियल म्याड्रिडको इन्स्टिच्युसनल रिलेसन्स निर्देशकका रुपमा कार्यरत छ । अहिले अन्य व्यक्तिजस्तै म पनि काममा जानसक्ने अवस्था छैन ।


पछिल्लो एक महिनामा दुईपटकमात्र घर बाहिर निस्किएको छु – सुपरमार्केट जानका लागि मात्रै । यसरी बाहिर निस्कदाँ शहरलाई मैलेै झन्डै चिन्न सकिनँ । सामान्य दिनमा म्याड्रिडमा तपाईंले घाममा बृद्धबृद्धा हिँडिरहेको, बालबालिका कुदिरहेको, परिवार र साथीभाई बार तथा रेस्टुरेन्टबाहिरका टेबुलमा बसिरहेको देख्नुहुन्छ ।

तपाईंले जीवनमा जे चाहनुहुन्छ, म्याड्रिडमा त्यो भेट्न सक्नुहुन्छ । घाम, खेलकुद, संस्कृति, रात्रीजीवन, खाना... विशेषगरी खानाका लागि यो फरक दुनियाँ नै हो । र, यहाँका मानिसलाई कसरी मज्जा लिने भन्ने थाहा छ । उनीहरुलाई कसरी राम्रो जीवन बाँच्ने भन्ने थाहा छ ।

तर अब त्यो सबै गइसक्यो । सडकहरु पूर्ण खाली छन् ।

मैले यस्तो म्याड्रिड कहिल्यै देखेको थिइनँ ।

व्यक्तिगत रुपमा भाइरसले मलाई प्रभाव पारेको छैन । म र मेरो परिवार स्वस्थ छ । तर, म ती परिवारका लागि दुःखी छु, जसले ज्यान गुमाए । म केहीलाई चिन्छु । तपाईंहरुले गत महिना समाचारमा देखेको हुनुपर्छ, भाइरसले रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको ज्यान लियो । यी व्यक्ति नै हुन्, जसले मलाई क्लबमा ल्याए । उनी ७६ वर्षका थिए ।

जब उनी संक्रमित भएर भन्ने सुनेँ, तब उनको स्वास्थलाभका प्रार्थना गरें । तर, मलाई यो पनि थाहा थियो कि उनी लामो समयदेखि बिरामी थिए र उनको ज्यान लिने धेरै कारणमध्ये भाइरस एक बनिदियो ।

लोरेन्जोसँगको सम्झनाले मेरो अनुहारमा हाँसो फुराउँछ । उनी अध्यक्ष भएपनि सबै समर्थकभन्दा माथि थिए । उनी रियल म्याड्रिडका लागि बाँचे ।

ड्रेसिङ रुपमा उनी सधैं हामीसँग हुन्थे । जब हामी बराबरी गर्थ्यौँ वा हार्थ्यौँ, त्यतिबेला उनी छाड्दिउँ भन्थ्यें । तर, जब हामी उपाधि जित्थ्यौं, तब पहिलो हौसला दिने उनी नै हुन्थे । हामी उनको मानवीय गुणका कारण उनलाई माया गर्थ्यौँ । उनको आशा, म्याड्रिडका लागि उनले गरेका सबै कामका लागि । उनी हाम्रा लागि पिताजस्तै थिए ।

म उनीसँग दैनिक सम्पर्कमा रहन्थे । उनले सधैँ सल्लाह दिन्थें । मैले उनलाई कहिल्यै नामले बोलाउन सकिनँ, प्रयास गर्दा पनि । मेरो लागि उनी सधैँ प्रेसिडेन्ट वा प्रेसी थिए ।

म सोध्थेँ, ‘हे, प्रेसी कस्तो चल्दैछ ?’

त्यसपछि उनी बडा मुस्कानसाथ मलाई अँगालो हाल्थे ।

उनी अध्यक्ष बनेको झन्डै ६ महिनापछि म रियल म्याड्रिड आएको थिएँ । मैले क्लबसँग सम्झौता गरेसँगै धेरै कुरा तीव्र रुपमा अघि बढ्यो । तर मलाई अझै मेरो पहिलो खेल याद छ, जतिबेला मैले डिपोर्टिभो ला कोरुनाविरुद्ध अवे गोल गरेको थिएँ ।  मलाई पहिलोपटक बेर्नाबाउमा ८० हजार दर्शकसामु खेलेको पनि याद छ ।

त्यति धेरै दर्शक देख्दा मलाई लागेको थियो, ‘....... म यहाँ के गर्दैछु ? यदी मैले अहिले गल्ती गरेँ भने के हुन्छ ?’


त्यो डरलाग्दो अवस्था थियो । 

तर त्यो मेरो जीवनका उत्कृष्ट दिनमध्येको एक पनि थियो ।

केही समयपछि रियल म्याड्रिडका लागि खेल्दा हुने दबाबसँग म अभ्यस्त भए । तर हाम्रो पक्षमा ठूलो नतिजा त आउनै बाँकी थियो । म रियल म्याड्रिड आएको झन्डै दुई वर्षपछि हामीले च्याम्पियन्स लिगको फाइनलमा युभेन्टस्को सामना गर्नेवाला थियौँ ।

तपाईहरु सबैलाई थाहा छ कि रियल म्याड्रिडले सबैभन्दा धेरैपटक च्याम्पियन्स लिग जितेको छ । तर यो अवस्थामा हामीले उपाधि नजितेको ३२ वर्ष भइसकेको थियो । 

त्यस सिजन ला–लिगामा पनि हामीले धेरै संघर्ष गरेका थियौँ । जबकी युभेन्टस् लगातार तेस्रोपटक फाइनल खेल्दै थियो । त्यसैले हामीलाई यस खेलमा दाबेदार मानिएको थिएन ।

यस फाइनलभन्दा अघिल्लो रात हामी कोही पनि राम्ररी सुत्न सकेनांँ । प्रायः हामी १० बजे राती बेडमा जान्थ्यौं, तर त्यस रात सकेर हामी बिहान ४ बजेसम्म होटलको लबीमै थियौं, एक–अर्काका कथा सुन्दै र सुनाउँदै । हामी त्रस्त थिएनौँ, हामीसँग युभेन्टस्का लागि धेरै सम्मान भने थियो र हामी खेल सुरु हुने प्रतिक्षामा आतुर थियौंं ।

हामीले फाइनलमा निकै राम्रो प्रतिस्पर्धा ग¥यौं । युभेन्टस्ले धेरै अवसर सिर्जना गरेको थियो, तर १–० ले हामी विजयी भयौं । हामीले यो खेल आफ्नो स्तरले मात्र होइन, प्रेरणाले जितेका थियौं । उनीहरुको दाँजोमा हामी यो उपाधिको चाहना धेरै थियो ।

यसपछि हामी प्लाजा डि सिबेलसमा पुग्यौँ । सडकमा लाखौँ मानिसको भीड थियो । सेतो सर्ट र स्कार्फ लगाएर उनीहरु नाच्दै र रमाउँदै थिए । म त्यस रातलाई कहिल्यै बिर्सन्न ।

यदी मैले रियल म्याड्रिडमा बिताएका क्षणमध्ये कुनै एक रोज्नुप-यो भने त्यही विजयलाई रोज्छु ।

तपाईं म्याड्रिडमा जति धेरै बस्नुहुन्छ, जनताका लागि क्लब महत्वपूर्ण छ भनेर त्यति नै धेरै महसुस गर्नुहुन्छ । केवल शहरमा मात्रै होइन, स्पेन र विश्वका अन्य दुनियाँमा पनि । हामी जहाँसुकै खेलौं त्यहाँ हाम्रा फ्यानहरु भेटिन्छन् । क्लासिको प्रतिस्पर्धा गर्दा होस् वा सानो कप प्रतिस्पर्धामा होस्, बेर्नाबाउमा दर्शक भरिभराउ हुन्छन् । मानिसहरु त्यही कारणले क्लबलाई माया गथ्र्ये, जुन कारणले मैले यहाँ आउने निर्णय गरेको थिए – प्रतिष्ठा, समर्थकको आधार, च्याम्पिन्यस लिगमा गर्विलो सफलता र अझै धेरै इतिहास बनाउने अवसर ।

२००० को सुरुवातयता ‘ग्यालेक्टिकोस्’ युग समर्थकहरुका लागि मात्रै सम्झनलायक छैन, यसको हिस्सा बन्ने  खेलाडीका लागि पनि अद्भूत छ ।

तपाई ड्रेसिङ रुममा बस्नुहुन्छ र आफु वरपर बेलोन डि’ ओर विजेता, स्पेनिस वर्ष खेलाडी, ला–लिगाका उच्च गोलकर्ता र विश्वकै उत्कृष्ट गोलकिपर देख्नुहुन्छ ।

यस्तो वातावरणको हिस्सा बन्नु विशेष थियो । कहिलेकाहीँ त्यहाँ बसेर म सोच्थ्यें, ‘कहाँबाट आएको थिएँ र अहिले कहाँ छु ।’ मैले गर्व महसुस गरेँ, तपाईंलाई थाहा हुन्न कि जीवन कहाँ गएर टुङ्गिनसक्छ ।

हामीले थप दुईपटक च्याम्पियन्स लिग जित्यौं, २००० र २००२ मा पनि र सबै विस्तृतमा सम्झन मुस्किल छ । जब तपाईं रियल म्याड्रिडजस्तो क्लबका लागि खेल्नुहुन्छ, तपाई सधैं वर्तमानमा बाँच्नुपर्छ किनकी सबै तिव्र हुन्छ । स्प्रिन्ट, हेडर, ट्याकल, टे«निङ सेशन, बाहिर भ्रमण, होटल । हार र जीत पनि । 

जब मैले फुटबल खेल्न छाडेँ, तबमात्रै के हासिल गरेँ भनेर महसुस भयो । क्लबसँगको मेरो अन्तिम खेल १७ जुलाई २००७ मा थियो, हामीले सिजनको अन्तिम खेलमा बेर्नाबाउमा मर्योकाको सामना गर्दै थियौं । लिगमा हाम्रो र बार्सिलोनाको बराबरी अंक थियो । हामी जिम्नास्टिक खेल्दै थियौं । यदी हामी दुबैले जित्यौं भने बार्सिलोनासँगको हेड–टु हेड रेकर्डका आधारमा हामी विजेता हुने थियौं ।

हामी सुरुमै १–० ले पछि प¥यौं, तर दोस्रो हाफमा हामीले यसलाई उल्ट्यायौं र समग्रमा ३–१ ले खेल जित्यौं । यो अद्भूत विजय थियो । 

तर यस दिन मैले सम्झने सबैभन्दा राम्रो कुरा मानिसहरुले मप्रति देखाएको व्यवहार हो । सबैलाई थाहा थियो यो मेरो बिदाई खेल थियो । डेभिड बेकह्यामले पनि गुडबाई भन्दै थिए ।

होटलबाट बाहिरि निस्किएर बाहिर आएदेखि रंगशालासम्म यात्रा गर्दा मानिसहरुले निकै माया देखाए । यो जन्मदिनजस्तै थियो, सबैले हाम्रो राम्रोको कामना गरिरहेका थिए, हामीलाई अंकमाल र टाढैबाट किस गरिरहेका थिए । ‘शुभकामना’ र ‘हामी तिमीलाई माया गर्छौं’ यस्तै–यस्तै भन्दै थिए । ‘सकेसम्म चाडैं फर्किएर आउ..।’

क्लबका लागि के गरेको रहेछु भने मैले यति बेला नै महसुस गरेको हुँ ।

मानिसहरुले मलाई कति माया गरेँ भनेर यतिबेला नै महसुस गरेको हुँ ।

यो मेरो जीवनको सबैभन्दा भावुक दिनमध्ये एक थियो । मेरो विचारमा कति मायालु मानिसहरु यहाँ छन् भन्ने उदाहरण पनि हो । कसरी लगावपूर्ण रुपमा उनीहरु आफ्नो जीवन बाँच्छन् ।

अहिले जे भइरहेछ, त्यसबाट म दुःखी हुनुकोे कारण यो पनि हो । म म्याड्रिड र अन्यत्रका जनतालाई पनि आशावादी हुन प्रोत्साहित गर्न चाहन्छु । सधैं मुस्कानसहित समस्या समाधानको प्रयास गर्ने मेरो दर्शन रहिआएको छ । त्यसैले आफ्नो शिरमाथि उठाउनुस् र अगाडि नियाल्नुस् । आफैंमाथि विश्वास गर्नुस् । धैर्य रहनुस्, शान्त रहनुस् र अन्यलाई सहयोग गर्ने प्रयास गर्नुस् ।

यस महामारीबाट केही सकारात्मक कुराहरुको उदय भइसकेको छ । हामी सबै उस्तै कमजोरीसहितका मानव हौँ भनेर महसुस गर्दैछौँ ।

परिवार महत्त्वपूर्ण छ भनेर हामी महसुस गर्दैछौं । साथीहरु महत्त्वपूर्ण छन् भनेर महसुस गर्दैछौं, हामी एकअर्काका लागि आवश्यक छौँ भन्ने महसुस गर्दैछौं ।

हामी यो महसुस गर्दैछांै कि भिडियो कलमा हामीले बोलेका केही दयालु शब्दले कसैको जीवनमा कति फरक पार्नसक्छ ।

अब हामी एकजुट भएरै अघि बढ्नुपर्छ । घरमा बसेर हामी सबै यो भाइरसविरुद्ध लड्दैछौँ, त्यसैले अवस्था सम्भव भएसम्म चाडोँ सामान्य हुनसक्छ ।

अन्य धेरैजस्तो मैले पनि फुटबल महसुस गरिरहेको छु, र म त्यो दिन नियाल्दैछु जब रियल म्याड्रिड अर्को उपाधिसहित सिवेलेसमा फर्कनेछ ।

अहिलेका लागि, सडकमा म फेरि मानिस देख्न चाहन्छु । हामी यही विजयका लागि लडिरहेका छौँ ।

(ब्राजिली फुटबलर रोर्बटो कार्लोसको यो पत्र प्लेयर्स ट्रिब्युनबाट अन्वेषण अधिकारीले अनुवाद गरेका हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.