शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बार–गर्ल

शनिबार, १७ भदौ २०७४, ०९ : १८
शनिबार, १७ भदौ २०७४

कथा:
-दीपक घिमिरे 

दस बजे पुग्नुपर्ने कलेज आज एघार यहीँ बजिसक्यो । हिँडेर जाँदा अरु आधा घण्टा ढिला हुन्छ, माइक्रो जम्मै भरिएर आएका छन् । 
यो अफिस टाइम हो, यतिबेला काठमाडौँमा खाली माइक्रो पाइनु बडो भाग्यको कुरा हो ।
कहिले मोबाइलको स्क्रिन हेर्दै त कहिले हातको घडी हेर्दै छटपटिएर यताउता गर्दै थिए । बाटोमा आउने माइक्रोलाई हातले रोक्न इसारा गर्थे तर कुनैले रोक्दैनथे । अनि फेरि छटपटिन्थँे । 
म जस्तै छटपटीमा एउटी थिई यो बसस्टपमा । ऊ कहिले कपाल मिलाउँथी त कहिले मोबाइलको स्क्रिन दबाउँथी । कहिले हिँड्दै अलिपर पुग्थी त कहिले थचक्क बस्थी । 
ऊ मलाई देखेर लजाएकी थिई भने म उलाई देखेर लजाउँदै थिएँ । हामी एकदमै अपरिचित थियौँ तर पर्खाइ एउटै थियो ।
हुइकिँदै आएको माइक्रोले रोक्ला जस्तो गरेर नजिकै ल्यायो । हामी चढ्न तयार भएर नजिकै उभियौँ, तर माइक्रो रोक्दै नरोकी हुइकियो । हामी ट्वाँ परेर हेरिरह्याँै ।
मलाई रिस उठ्यो, मुखबाट नचाहँदा नचाहँदै निस्कियो– “साला खाते !” 
म रिसाएको देखेर उनी एउटा हातले मुख छोपेर हासिन् अनि सोधिन्” एक्स्क्युज मी ! तपाईं कहाँ पुग्ने ?” 
मैले उनलाई हेर्दै भने– “बालाजु ! अनि तपाईं ?” 
“म सामाखुशी जाने हो, गाडी नै पाउँदैन । क्या बोर ।” उसले यति भनेर मोबाइल निकाली अनि कसैसँग मस्किँदै गफिन थाली । 
म फेरि कहिले यता अनि कहिले उता गर्न थालेँ । 
“सरी ! बाबाको फोन आयो । बाई द वे, म निशा घर चैँ बिर्तामोड । अनि हजुरको परिचय ?” उसले फोन सकेर झोलामा राखी अनि कोमल हात बढाउँदै परिचय गर्न खोजी ।


“नाम दीपक हो, घर चँै दाङ ।” मैले उसका कोमल हातमा गुड गर्दै परिचय दिएँ । 
“वाउ ! मलाई दाङ निक्कै मन पर्छ ।” उसले आँखा ठूला बनाउदै हर्ष प्रकट गरी । एकान्तमा भए ग्वाम्मै अँगालो मार्छे कि झैँ अवस्था देखाई । 
म लजाउँदै भने– “मलाई पनि बिर्तामोड निक्कै मन पर्छ । एक पटक दार्जेलिङ जाँदा बसेको छु ।” 
“अनि के गर्नुहुन्छ नि काठमाडौँमा ?” उसले प्रश्न गरी ।
“पढ्दै छु, होटल म्यानेजमेन्ट । अनि तपाईं ?” उत्तरसँगै प्रश्न पनि तेस्र्याइदिएँ । 
“मेरो चैँ पढाइ स्टप छ । बाबाको कन्सल्टेन्सी बिजनेस छ, अफिस हेर्छु ।” हल्का कपाल मिलाउँदै उत्तर दिई । 
हेर्दै धनाढ्य घरकी लाग्ने ऊ बाबाको अफिसमा काम गर्छु भन्दा कता कता इज्जत बढेर आयो । ऊ बाबाको बिजनेसलाई अझ उचाइमा पुर्याउन सहयोगी थिई उसको भनाइमा  । 
बिर्तामोड घर भए पनि सम्पूर्ण परिवार विगत आठ वर्षदेखि यतै काठमाडौँमा बस्दै आएको उसले सुनाई । हामी छिट्टै नजिक पनि भयौँ । हामीबीच रमाइला कुरा भए अनि फोन नम्बर साटासाट पनि भए । 
अलिकति खाली भएको माइक्रो आएर हामी माझ रोक्यो, दुई जना ओर्लिए । हामी चढ्याँै । 
ऊ र मसँगै बस्यौँ, ऊसँगको बसाइले मलाई एउटा प्रेमिकासँग यात्राको अनुभूति गरायो । अरु दिन पाँच मिनेटको यात्रा पनि घण्टौँको जस्तो बोर लाग्ने कलङ्की– बालाजु यात्रा यो पटक एक मिनेटमै सकिए जस्तो लाग्यो ।
म ओर्लिएँ, उसले हात हल्लाउँदै बाई गरी । मैले मुसुक्क हास्दै बिदा मागेँ । 
ढिला भएको थियो । सरासर कलेज छिरँे । क्लासमा पढाइ चल्दै थियो । सरसँग अनुमति मागेर आफ्नै स्थानमा बसेँ अनि पढाइतिर ध्यान केन्द्रित गर्न थालेँ । 
सरले बोलेका कुरा कानले सुनेकै थिएँ । तर मनले उसैलाई कल्पिँदै थियो । दस मिनेटको हाम्रो मिलन मलाई यतिबेला वर्षांै पुरानो लाग्दै थियो ।
निशालाई एउटा इज्जतिलो अनि संस्कारी छोरीका रुपमा पाएको थिए । पहिलो भेटमै मनले प्रेम गर्न थालिसकेको थियो । पढाइलाई एकातिर मिल्काउँदै मनले उसलाई मुटुमा सजाउँदै थियो ।

कलेज सकियपछि उसैगरी माइक्रो चढेर कोठामा आएँ । दर्जन पटक उसलाई फोन गर्ने रहर चल्थ्यो तर हिम्मत जुटेन । 
‘फोनमा के भन्ने ? कसरी बोल्ने ? या किन फोन गरेको बहाना बनाउने ?’  यिनै प्रश्नले दिमाग खान्थ्यो अनि डायल गरेको उसको नम्बर काटिदिन्थे ।
बेलुकी तरकारी पकाउने तयारीमा थिएँ, उता राइस कुकरमा भात तयार भइसकेको थियो । मोबाइलमा रिङ बज्यो । कल्पनै गरेको थिएन तर उसको फोन आउँदै थियो । 
चिसै हातले फोन रिसिभ गर्दै भने– “हेल्लो !” 
“के गर्दै दीपक ?” उसले प्रेमिल भावमा सोधी । 
“नढाँटी भन्नुपर्दा मिसिङ यु निशा !” भन्ने मन थियो तर सकेन । 
“तरकारी बनाउँदै छु । अनि तिमी ?” 
“म त अफिस बन्द गरेर घर फर्कने तयारी गर्दैछु, आज बाबा होइसिन्न, त्यसैले लेट भो !” उसले बताई । 
“राति कल गर्छु ल !” मैले मौकाको फाइदा उठाउँदै भने ।
“नाई ! मिल्दैन यार । अब भोलि भेटाँैला त्यही ठाउँमा अनि त्यही समयमा ।” उसले परिस्थिति बताई । 
सामान्य गफ पछाडि भोलि त्यही भेट्ने कुरा भए अनि फोन कटे । मनमा अझ धेरै प्रेमले जरा गाड्यो । 
कलेजको फाइनल इक्जाम आएको छ । सम्पूर्ण साथीहरुले मन पढाइतिर लगाएका छन् तर मेरो मन निशाको प्रेममा अड्किएको छ । निकालेर पढाइमा लगाउन धेरै कोसिस गर्दा पनि सकिरहेको छैन । ऊसँगका हरेक भेट मेरा लागि खास महत्वका हुन्थे । उसले गर्ने हरेक कुराले मेरो मुटुमा छुन्थ्यो, अनि प्रभावित भैरहन्थे । 
एक दिन घरबाट मम्मीको फोन आयो । बाबासँग राम्ररी बोल्न डराउने म मम्मीसँग खुलेरै बोल्दिन्थे । आज पनि म डराइन । 
घरका अनि कामका कुरा सकिएपछि मैले मम्मीलाई भने– “मम्मी मैले बुहारी खोजिसकेँ है !” 
उहाँ अलि बेस्सरी अनि धेरै बेर हास्नुभयो । अनि हाँसो थाम्दै भन्नुभयो– “जातकी खोजेस ! कुन जातकी हो ?” 
मम्मी पुरानो परम्पराकी हुनुहुन्छ । उहाँलाई बुहारी पानी चल्ने जातकी चाहिन्छ रे । अनुहार छोराले हेर्छ तर जात मैले हेर्ने हुँ भन्दै कडा शासन लगाउनुहुन्थ्यो ऊ बेलादेखि नै ।
 आज पनि अरु केही नसोधी जात सोध्नुभयो । 
“ला ! मैले त जातै सोध्न बिर्सेंछु । नाम निशा हो, थाहा छ तर थर थाह छैन मम्मी !” मैले नठगेरै भने । 
“बुहारी मात्र भएर पुग्दैन, होस् गरेस । मलाई आफ्नै जातको बुहारी चाहिन्छ ।” मम्मिले सर्त सुनाउनु भयो । 
जातभातमा मलाई कुनै विश्वास पनि लाग्दैन । मलाई निशा इज्जतिली भए पुग्यो, उसका बा भद्र भए पुग्यो अनि ऊ मेरो घरको असल बुहारी भए पुग्छ । 
मलाई ऊ निक्कै राम्री लाग्छ । उसको रुपमा म यतिसम्म फिदा छु कि कलेज दस बजे सुरु हुन्छ तर ऊ एघार बजे बसस्टपमा भेटिन्छे भनेर मेरो कलेज जाने समय नै चेन्ज भएको छ । 
म दैनिक एक घण्टा ढिला कलेज पुग्छु । हामी घण्टौँ फोनमा गफिन्छौँ तर पनि मेरो मन भरिन्न । अझै कुरा गरिरहुँ झैँ लाग्छ तर ऊ व्यस्त भएको बताउँदै फोन काटिदिन्छे, म चिन्तित भएर उसको फोनको पर्खाइमा घण्टौँ बस्छु । तर अझै प्रपोज चैँ गरेको छैन । 
आज कल्पना गर्छु, मैले प्रपोज गरेको दिन ! कलेजको फाइनल इक्जाम सकिनेछ, म फ्री हुनेछु अनि कुनै स्पेसल ठाउँमा गएर भगवानलाई साक्षी राखेर प्रपोज गर्नेछु । त्यो दिन आउन अझै हप्ता दिन लाग्नेछ । त्यही दिन कुर्दैछु ।
 
क्रमशः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप