शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओत्से गुरुङको ‘लकडाउन डायरी’ : कोरोनाले मलाई धेरै तनाव दियो

बिहीबार, ०४ वैशाख २०७७, १३ : ४४
बिहीबार, ०४ वैशाख २०७७

थुप्रै नेपाली फिल्ममा पनि अभिनय गरेका छन् माओत्से गुरुङले । तर उनको बढी योगदान भने गुरुङ भाषाको फिल्ममा रहेको छ । गुरुङ भाषाका धेरै फिल्म निर्देशक, अभिनय गरेका माओत्सेले नेपाली भाषाको फिल्म पनि निर्देशन गरेका छन् । फिल्म हो ‘दयारानी’ । फिल्ममा दयाहाङ राई र दीया पुनको मुख्य अभिनय रहेको थियो ।

गुरुङ भाषाका फिल्म हुन् वा नेपाली । अभिनय र निर्देशनमा सधै घरबाहिर रहने गुरुङ अहिले भने घरको चार कुनामा खुम्चिएर बस्न बाध्य छन् । कोरोनाको त्रासका कारण सरकारले गरेको लकडाउनका कारण उनी घरभित्र बस्न बाध्य भएका हुन् । सधै फिल्मको एक्सन कटका लागि बिभिन्न लोकेसनमा पुग्ने माओत्सेको शब्दमा उनको लकडाउन डायरीः

यो लकडाउनले म जस्तो कलाकारको दैनिकी परिवर्तन गरिदिएको छ । सधैं सुटिङका लागि विभिन्न लोकेसन चाहर्ने हामीलाई एकै स्थानमा थुनिएर रहनु पर्दा निकै कठिन महसुस हुँदो रहेछ ।

यो लकडाउनको समय मेरो दैनिकीमा त्यस्तो स्पेसल केही छैन । नियमित बिहान मर्निङ वाक । करेसाबारी गोडमेल यस्तै यस्तै हो । मेरो घर भएको ठाउँ वरिपरि धेरै भिडभाड नहुने भएकाले मर्निङवाकका लागि घर बाहिर केही परसम्म पुग्छु । 

मेरो ८ वर्षकी छोरी छिन् । अहिले त्यो छोरीको खेल्ने साथी म भएको छु । फिल्मको कामको व्यस्तताले धेरै भएको थियो छोरीलाई समय दिन नपाएको । अहिलेको समय उनका लागि सदुपयोग गरिहेको छु । उनीसँग भाँडाकुटी खेल्छु ।

मेरो मुख्य पेसा फिल्म हो । चाहे त्यो गुरुङ भाषाको होस् वा नेपाली । यो लकडाउनको समय फिल्मका लागि स्क्रिप्ट पनि तयार गरौ भन्ने सोच छ । छोरीसँग खेल्ने बाहेकको समय लेखनमा बिताउँछु । 
नयाँ पुराना राम्रा राम्रा फरक फरक विषयवस्तुका फिल्म हेरिरहेको छु । संसारभरका नाम चलेका, राम्रो भनिएका र राम्रा विषयबस्तु रहेका फिल्महरु पनि  हेरिरहेको छु । विदेशमा फिल्महरु कसरी बनिरहेका छन्, फिल्म उद्योगले कस्तो फड्को मारेको छ र त्यहाँको कलासंस्कृति के रहेछ भनेर बुझ्दै छु ।

मलाई कमेडी सिरियल पनि निकै मनपर्छ । कामको कारणले पहिले छुटेका सिरियल समेत युट्युवमा खोजेर हेरिरहेको छु ।

हामी कलाकारले आफ्नो परिवारसँग पुरै समय बिताउने भनेको चाडपर्व पछि यस्तै अवसरमा हो । त्यसैले पनि यो समय श्रृजनाको अलवा परिवारसँग रमाइरहेको छु । कुकिङ पनि सिक्दैछु । जानेको परिवारलाईए सिकाएर पकाएर समेत खुवाउछु ।

केही समय सामाजिक संजाल मार्फत साथीभाइसँग पनि नजिकिने गर्दछु । 

आफन्तको चिन्ता धेरै  
कोरोनाले मलाई धेरै तनाव दिएको छ । छोरा, आमा युकेमा भएकोले उहाँहरुको चिन्ता लागिरहन्छ । कोरोना अहिले जुन जुन देशमा देखिएको छ । त्यो ठाउँमा मेरो आफ्नो भन्ने कोही न कोही छन् । यसकारण पनि मानसिक तनाव बढ्दो रहेछ । 

महामारीको रुपमा फैलिएको कोरोनाका कारण कुन बेला कहाँ के कस्तो खबर आउने हो टुङ्गो छैन । त्यसैले पनि हरसमय आफन्तको चिन्ता लागि रहन्छ ।

सबैभन्दा ठूलो कुरा त आत्मबल
यो लकडाउनमा घरमा बसेर बिभिन्न समाचार माध्यमबाट कोरोना जित्ने सबैभन्दा सजिलो माध्यम आत्मबल भन्ने बुझेँ । त्यसैले  पनि आफ्नो , परिवार र आफन्तको आत्मबल बढाउने कोसिस पनि गरिरहेको छु ।
विकसित मुलुकमा यसले लिएको महामारीको रुप हाम्रो देशमा पनि देखियो भने के होला ? सधै चिन्ता लागि रहन्छ । आफन्त, साथीभाइ र सबैलाई लकडाउनको समय घरमै रहेर आफू पनि सुरक्षित रहन र आफन्त पनि सुरक्षित राख्ने मेरो अनुरोध छ ।

विश्वलाई जोड्यो 
विश्वका राष्ट्रहरु विज्ञान प्रबिधिले एक अर्कासँग को भन्दा को कम भनिरहेको अवस्था थियो । कोरोना त्रासले सबैलाई एउटै मालामा उनीदियो । अहिले बिश्वका मानिहरु एउटै रोग कोरोनासँग लडिरहेका छन् ।

विश्वबाट कोरोना कसरी समाप्त पार्ने ?’ सबैको चिन्ता र चासोको विषय भएको छ । कोरोनाले संसारको मानिसका भावना एउटौ बनाइदियो । पृथ्वीलाई जोगाउनु पर्छ । पृथ्वीका बासी हामी सबै एकजुट हुनुपर्छ भन्ने पाठ कोरोनाले सिकाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप