मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रमा कोरोनाको कहर : कलाकार बेरोजगार, प्राविधिकहरु आर्थिक संकटमा

बिहीबार, ०४ वैशाख २०७७, ०७ : ५०
बिहीबार, ०४ वैशाख २०७७

काठमाडौं । कोरोनाभाइरस ¬(कोभिड–१९) संसारभर महामारीको रुपमा फैलिदै छ । कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेकोले पनि यसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना भाइरसको उच्च जोखिमको सूचिमा रहेको जानकारी गराएलगत्तै नेपालले आफ्नो तर्फबाट सतर्कता अपनाउँदा अपनाउँदै पनि नेपालमा यो संक्रमण भित्रिएको छ । कोरना संक्रमित व्यक्ति दिन प्रतिदिन बढ्दै गएका कारण सरकारले गत २०७६ चैत ११ देखि एकसाताका लागि भनेर देशभर गरेको ‘लकडाउन’ लम्बिएर वैशाख १५ गतेसम्मका लागि तोकिएको छ ।

सरकारले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर गरेको लकडाउनले कोरोना संक्रमण नियन्त्रणका लागि भूमिका निर्वाह गरे पनि देशको अर्थतन्त्र भने डामाडोल हुँदै गएको छ । यसको प्रभाव उद्योगधन्दा, कृषि, चलचित्र लगायतका क्षेत्रमा नराम्रोसँग परेको छ । सामान्य अवस्थामै पनि आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नु परेको नेपाली चलचित्र उद्योग अहिलेको अवस्थाले तहसनहस हुने देखिएको चलचित्रकर्मीहरु नै बताउँछन् ।

कोरोनाको प्रभावले वर्तमान समयमात्र होइन, पूरै वर्ष अर्थात् २०७७ सालभरि नेपाली चलचित्र उद्योगमा असर पुग्ने छ । यो वर्ष चलचित्र निर्माण, प्रदर्शनलगायत सम्पूर्ण गतिविधि लगभग ठप्प हुने देखिएको छ । यसले नेपाली चलचित्र उद्योगलाई करोडौँको नोक्सानी पुग्ने त छ नै, कलाकार, प्राविधिक लगायतको रोजीरोटी गुम्ने र धेरै बेरोजगार हुने अवस्था पनि सिर्जित हुने चलचित्रकर्मीहरु बताउँछन् ।

चलचित्र निर्माण र प्रदर्शनमा कमी

वर्ष २०७५ मा करिब एकसय हाराहारीको चलचित्र प्रदर्शन भएका थिए । तर, गतवर्ष अर्थात् २०७६ मा भने ५५÷५६ वटा मात्र नेपाली चलचित्र प्रदर्शनमा आउन सफल भए ।

२०७६ मा करिव ७० चलचित्र प्रदर्शनमा आउने अनुमान गरिएको थियो । तर विश्वमा देखिएको कोरोनाको त्रासले गत माघ महिनाबाटै नेपाली चलचित्र रिलिज केही प्रभावित भयो ।

गत फागुनको दोस्रो सातापछि भने कुनै पनि चलचित्र रिलिज भएको छैन । रिलिजमात्र होइन, चलचित्र छायाँकन र निर्माणको अवस्था पनि हाल शुन्य रहेको चलचित्र निर्माता संघका महासचिव रोज राणा बताउँछन् ।

‘भूकम्पको त्रासबाट बिस्तारै चलचित्र उद्योग पहिलेको अवस्थामा फर्किने क्रममा थियो । फेरि कोरोनाले धेरै पछि धकेल्ने काम गरेको छ,’ राणाले भने, ‘कोरोना निर्मुल भएपछि पनि पहिलेको अवस्थामा पुग्न निकै समय लाग्छ । किनभने  चलचित्र निर्माण र रिलिज गर्ने आँट पहिले कसले देखाउने भन्ने समस्या हुनसक्छ ।’

भूकम्पको बेला पनि त्यस्तो समस्या देखिएको राणाले सुनाए ।

अहिले नयाँ चलचित्र निर्माणमात्र रोकिएको होइन । छायाँकनमा रहेका चलचित्रसमेत अधुरै छन् । बीचमा रोकिएका चलचित्रको काम सुरु भए पनि छायाँकनमा जाने तयारीमा रहेको फिल्मको काम भने सुरु हुन गाह्रो हुने महासचिव राणाको अनुमान छ ।

‘मैले वैशाखबाट छायाँकनमा जाने तयारी गरेको चलचित्रको सबै काम अहिले रोकेको छु,’ राणाले अगाडि भने, ‘कहिले सुरु गर्नेभन्दा पनि सुटिङमा कति सुरक्षित हुने र कसरी सुरक्षित रहने पहिलो प्रश्न हो ।’

अहिलेको अवस्थामा लकडाउन खुलेपछि पनि करिब एक वर्ष अर्थात् २०७७ भरि चलचित्र गतिविधि राम्रोसँग हुन नसक्ने राणा बताउँछन् । उनी भन्छन्, ‘फिल्म गतिविधिका लागि कम्तीमा पनि ४०/५० जना भेला हुनुपर्छ । यति मानिस भेला हुनु भनेको अहिलेका लागि खतरा हो ।’

राणाको जस्तो भनाइ निर्माता विनयराम श्रेष्ठको पनि छ । उनी पनि अबको एक वर्ष चलचित्र छायाँकन, रिलिजमा प्रभाव पार्ने बताउँछन् ।

‘चलचित्र छायाँकनमा थोरै मानिसले हँुदैन,’ श्रेष्ठले भने, ‘अहिलेको त्रास सामान्य भयो भने पनि मानिसलाई पहिले झैँ भेला हुन र सामान्य गतिविधिमा फर्किन समय लाग्छ ।’ छायाँकनभन्दा पनि रिलिजको हकमा अझै ढिलो हुनसक्ने उनले सुनाए । ‘छायाँकनमा ढिलाइ भयो भने रिलिज त स्वाभाविक ढिलो हुन्छ,’ श्रेष्ठले थपे ।

केही पहिले ‘सत्यदीप’ निर्माण गरेका श्रेष्ठ पनि नयाँ चलचित्रको तयारीमा थिए । अब एक वर्षसम्म फिल्म निर्माण नसोच्ने उनले सुनाए ।

कलाकार बेरोजगार

सरकारले गरेको लकडाउन खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिका पहिले झै फर्कन करिब ६÷८ महिना लाग्ने देखिएको छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकारहरु भने पूर्ण रुपमा बेरोजगार हुने देखिएको छ । उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्छ ।

६/८ महिना बेरोजगारको समस्या भए पनि कलाकारलाई ठूलो असर नहुने नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला बताउँछन् ।

‘२५ प्रतिशत कलाकारमात्र चलचित्र कर्मबाटै बाँचेका छन् । ती कलाकारलाई हातमुख जोर्न समस्या होला । अन्यलाई समस्या पर्दैन,’ निरौलाले भने, ‘समस्यामा पर्ने कलाकारहरुका लागि संघले पनि केही पहल गर्नेछ ।’

कामको समय कलाकारले राज्यलाई नियमित कर तिर्ने गरेको बताएका निरौलाले समस्यामा रहेका कलाकारलाई राज्यले पनि पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्ने तर्क गरे ।

६/८ महिना चलचित्रको पुरै गतिविधि रोकिदैँमा कलाकारलाई ठूलो असर नपुग्ने अभिनेत्री केकी अधिकारी पनि बताउँछिन् ।

‘अहिलेको अवस्थामा मैले रोजगारी गुम्ने, आर्थिक अवस्था कमजोर हुने हिसावले हेरेकी छैन,’ केकीले भनिन्, ‘अहिलेको प्रमुख प्रथामिकता हेल्थ हो । कसरी स्वस्थ्य रहने भन्नेतिर सबैले ध्यान दिनुपर्छ ।’

अहिलेको अवस्था लामो समय नजाने विश्वास व्यक्त गर्दै उनले कलाकारका लागि चलचित्र गतिविधि रोकिए पनि रोजगारीको अन्य बाटो खुल्ने आशा प्रकट गरिन् ।

‘कलाकारलाई मात्र होइन, अहिलेको अवस्थाले जुनै क्षेत्रमा पनि बेरोजगारको समस्या निम्त्याउने देखिन्छ,’ अधिकारीले थपिन् ‘मलाई आशा छ, नयाँ बाटो र उपायहरु पनि भेटिनेछन् ।’

अहिले घरमै बस्दा पनि आफुलाई विभिन्न काम आइरहेको बताउने उनी कलाकारका लागि कामको अनेक बाटो रहेको जनाउँछिन् ।

प्राविधिकको रोजीरोटीमा समस्या

छायाँकन, प्रदर्शनलगायत चलचित्र उद्योगको विभिन्न गतिविधि रोकिँदा कलाकारलाई धेरै ठूलो असर नपुगे पनि चलचित्रको काममा आश्रित प्राविधिकहरु भने समस्यामा पर्ने निश्चित छ । यो अवस्था लम्बिएमा थोरै पैसा अथवा दैनिक ज्यालामा काम गर्दै आफु र आफ्नो परिवार पाल्दै आएका प्राविधिकहरुको दैनिक गुजारामा समस्या उत्पन्न हुनसक्ने देखिन्छ ।

अहिलेको अवस्था र यसपछि सिर्जित अवस्थाको मारमा सबैभन्दा बढी प्राविधिक पर्ने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासमेत बताउँछन् ।

‘लकडाउनमै कतिपय प्राविधिकहरु समस्यामा परेकोले हामीले घरमै राहत पु¥याएर तत्कालका लागि समस्या टारिदिएका छौँ,’ लामाले भने, ‘लकडाउन खुलेपछि पनि चलचित्र क्षेत्र सामान्य अवस्थामा फर्कन करिव ७/८ महिना लाग्छ नै । यो अवस्थामा उनीहरु झन् पीडित हुनेछन् ।’

लकडाउन पछिको समयपछि पनि प्राविधिकहरुलाई संस्थाबाट हुने अभिभावकत्वको भूमिका निरन्तर निर्वाह गर्ने सोच बनाएका लामा लकडाउनपछिको समयमा प्राविधिकलाई पर्ने अप्ठ्यारोको विषयमा अहिले देखिनै सचेत छन् । त्यसैले उनी अहिले चलचित्र सम्बन्धी विभिन्न संघसंस्था, विकास बोर्डलगायतको पहलमा प्राविधिकको समस्या समाधानमा लागि पहल गरिरहेका छन् ।

‘सबै संघसंस्थाले प्राविधिकको समस्यामा चासो देखाउनु भएको छ । सबैको सहयोगमा समस्याको समाधान सजिलै हुन्छ होला भन्ने विश्वास छ,’ लामाले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप