शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन छल्दै सनसिटीमा अर्थमन्त्री : ५ः१३ मा इन, ५ः५५ मा आउट !

गाडी नम्बरबारे सोधेपछि मन्त्री खतिवडाका प्रेस संयोजक पौडेलको मोबाइल अफ
बुधबार, ०३ वैशाख २०७७, १५ : २७
बुधबार, ०३ वैशाख २०७७

कोरोनाभाइरस संक्रमित फेला परेको काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडा पनि पुगेको खुलासा भएको छ । अपार्टमेन्टका सदस्य समेत रहेका कलाकार पुष्कर रेग्मीले अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ११ गते गएको दाबी गरेका हुन् । प्राइम टाइम टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले भनेका छन्, ‘हामीले सत्य बोल्नुपर्छ, ढाँट्नुहुदैन । अर्थमन्त्री खतिवडा चैत ११ गते अपार्टमेन्टमा आउनुभएको हो । गार्ड कमाण्डर लोकेन्द्रले राखेको रेकर्डमा पनि अर्थमन्त्री आएको देखिन्छ ।’

चैत ११ गतेबाट सरकारले लकडाउन लागु हुने घोषणा गरेको थियो । तर मन्त्री खतिवडा लकडाउनकै बेला उक्त अपार्टमेन्टमा पुगेको पाइएको हो । सो अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।

आइतबार -यापिड टेस्टका क्रममा एकै परिवारका तीन जनामा कोरोना संक्रमण भेटिएपछि केन्द्रीय प्रयोगशालामा भएको थप परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो । अहिले उक्त अपार्टमेन्टलाई सिलबन्दी गरिएको छ भने अपार्टमेन्टमा रहेका सबैको कोभिड–१९ परीक्षण गरिदैछ । -यापिड टेष्टमा पोजिटिभ आएका तीनै जनालाई सोमबारै पाटन अस्पताल भर्ना गरिएको थियो ।

उक्त अपार्टमेन्टमा भीआइपीहरुको समेत बसोबास छ । उक्त अपार्टमेन्टमा कलाकार रेग्मीका साथै बिनिता हमाल, मोनिका दाहाल, काँग्रेस नेता रमेश रिजाल, नेता भीम न्यौपाने, कृष्णप्रसाद सापकोटा, टुक हमाल, ऋषिकेष गौतम न्यायाधीश विमलप्रसाद ढुङ्गेल लगायत भिआइपीहरु पनि बस्ने गर्छन् । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडासमेत सोही अपार्टमेन्टमाम बस्ने गर्छन् । अर्थमन्त्री खतिवडाका परिवारले सो अपार्टमेन्टमा २ वटा फ्ल्याट लिएका छन् । 

चैत ८ गते उक्त अपार्टमेन्टमा वेल फेयर सोसाइटीको चुनाव भएको थियो । सो चुनावमा तिलक सचिवमा निर्वाचित भएका थिए । छोरा तिलक निर्वाचित भएपछि अर्थमन्त्री खतिवडा समेत बधाई दिन अपार्टमेन्ट पुगेका हुन् । तर अर्थमन्त्री खतिवडाले भने यो विषयमा अहिलेसम्म केही बताएका छैनन् ।


तर, स्रोतबाट रातोपाटीलाई प्राप्त जानकारी अनुसार चैत ११ गते साँझ ५ः१३ मा सनसिटी अपार्टमेण्टमा एउटा झण्डावाल गाडी पुगेको छ । त्यो गाडीमा को थिए भन्नेबारे धेरै खोजी नीति नगरिएको भएपनि बा२झ ३७३३ नम्बरको झण्डावाल गाडी सनसिटी अपार्टमेण्ट पुगेको प्रमाण भेटिएको छ । साँझ ५ः१३ मा अपार्टमेण्ट प्रवेश गरेको उक्त झण्डावाल गाडी ४२ मिनेट बसेर साँझ ५ः५५ बजे त्यहाँबाट निस्किएको छ ।


तर अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमनप्रसाद पौडेलले भने मङ्गलबार र बुधबार विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै अर्थमन्त्री त्यहाँ नगएको बताइरहेका छन् ।

 


बुधबार मात्रै पनि एक अनलाइनलाई अन्तरवार्ता दिँदै प्रेस संयोजक पौडेलले अर्थमन्त्री खतिवडा मुटुको बिरामी भएकाले बालुवाटार र सिंहदरवारबाहेक अन्त कहीँ नगएको दाबी गरेका थिए ।

तर, स्रोतबाट रातोपाटीलाई प्राप्त जानकारी अनुसार चैत ११ गते साँझ ५ः१३ मा सनसिटी अपार्टमेण्टमा एउटा झण्डावाल गाडी पुगेको छ । त्यो गाडीमा को थिए भन्नेबारे धेरै खोजी नीति नगरिएको भएपनि बा२झ ३७३३ नम्बरको झण्डावाल गाडी सनसिटी अपार्टमेण्ट पुगेको प्रमाण भेटिएको छ । साँझ ५ः१३ मा अपार्टमेण्ट प्रवेश गरेको उक्त झण्डावाल गाडी ४२ मिनेट बसेर साँझ ५ः५५ बजे त्यहाँबाट निस्किएको छ ।

अर्थमन्त्री खतिवडाका प्रेस संयोजक यमनप्रसाद पौडेललाई रातोपाटीले बा२झ ३७३३ नम्बरको गाडी कसले चढ्छ ? यो अर्थमन्त्रीको गाडी हो ? भनेर सोध्दा उनले बुझेर बताउने बताएका थिए । तर त्यस लगत्तै संयोजक पौडेलले आफ्नो मोबाइलको स्वीच अफ गरेर राखेका छन् ।

मंगलबार मात्रै पनि रातोपाटीसँगको कुराकाकानीका क्रममा संयोजक पौडेलले उहाको छोरा त्यहाँ बस्ने भएपनि मन्त्री खतिवडा नगएको बताएका थिए । ‘उहाँको छोरा बस्ने कुरा सहि हो । तर मन्त्रीज्यू अपार्टमेन्टमा जानु नै भएको छैन । उहाँ त्यसरी भोज, पार्टी लगायतमा जाने स्वभावको पनि हुनुहुन्न । मन्त्रलाय, बालुवाटार र उच्चस्तरीय समितिको बैठक भन्दा बाहिर जाने फुर्सद पनि उहाँलाई छैन’, पौडेलले भनेका थिए । पौडेलले थपेका थिए, ‘मन्त्रालय र अन्य मिटिङ्गमा सहभागी हुँदा समेत उहाँले डब्ल्युएचओको नियम पालना गर्नुभएको छ ।’ तर पौडेलको यो दाबी रेग्मीको भनाइबाट झुठ ठहरिएको छ ।

बुधबार रातोपाटीसँग समेत कुराकानी गर्दै कलाकार पुष्कर रेग्मीले ८ गतेको चुनावपछि ११ गते अर्थमन्त्री खतिवडा आएको बताएका छन् । रेग्मीले भने, ‘उहाँको छोराहरु यहीँ बस्नुहुन्छ । त्यो ढाँट्नु हुँदैन । अरुले पनि देख्नु भएको हो । उहाँको गाडी आएको सिसि टिभी फुटेजमा पनि छ भनेर गार्ड कमाण्डर लोकेन्द्रले मसँग भन्नुभएको छ । उहाँ आधा घण्टा बस्नुभएको भन्ने छ । रेग्मीले ११ गते अर्थमन्त्री आएको र परिवारका मानिसहरुसँग भेटेकाले उनको समेत कोरोना परीक्षण गर्नुपर्छ जस्तो लाग्छ ।’

सनसिटी अपार्टमेन्ट पुग्दैमा अर्थमन्त्री खतिवडा कोरोनासंक्रमित हुने होइन । किनभने उनी त्यहाँ गएर संक्रमितहरुको सम्पर्कमा आए वा आएनन् भन्ने अझै खुलेको छैन । तर, उनी पुगेको स्थानमा संक्रमित भेटिएपछि उनलाई पनि ‘जोखिम’ को सूचीबाट बाहिर राख्न पनि मिल्दैन । आफै सहभागी भएको सरकारले लागू गरेको लकडाउनको नियम आफैले उल्लङ्घन गर्दै सामाजिक जमघटमा सहभागी भएर मन्त्री खतिवडाले मन्त्रिपरिषद्का सदस्यदेखि उनको सम्पर्कमा आएका धेरैलाई जोखिमको दायराभित्र समावेश गराएका छन् ।

घटनाक्रमबारे केही पनि नबुझी प्रतिक्रिया दिँदा यसअघि सभामुखका प्रेस संयोजक पनि विवादमा तानिएका थिए । तत्कालीन सभामुख कृष्ण बहादुर महराको प्रकरणमा महरा उक्त दिन कहीँ कतै नगएको भन्दै वक्तव्य जारी गरेपछि महराका तत्कालीन प्रेस संयोजक डिल्ली मल्ल विवादमा तानिएका थिए । अर्थमन्त्री खतिवडा प्रकरणमा पनि घटनाक्रमबारे केही नबुझी वक्तव्यबाजी गरेपछि अर्थमन्त्रीका प्रेस संयोजक पौडेलसमेत विवादमा तानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप