शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वदेश फर्किन युएईमा ५ हजारभन्दा धेरै नेपालीले दिए आवेदन

बुधबार, ०३ वैशाख २०७७, १५ : ०७
बुधबार, ०३ वैशाख २०७७

युएई ।  युएईमा रहेका ५ हजारभन्दा धेरै नेपालीहरुले स्वदेश फर्किनका लागि आवेदन दिएका छन्। विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण युएइमा समेत प्रभाव पर्न थालेपछि स्वदेश फर्किन चाहने नेपालीको संख्या बढ्दै गएको हो ।

आज बुधवारसम्म युएईमा रहेका ५ हजार पाँच जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएका गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालाले रातोपाटीलाई बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले गतहप्ता देखि नेपाल जान चाहने नेपालीहरुको विवरण संकलन गर्ने उदेश्यले अनलाईन फारम वितरण गरेको थियो। जसमा ६० प्रतिशत दुबई,२४ प्रतिशत अबुधावी र ९ प्रतिशत सारजाहमा रहेका नेपालीहरुले नेपाल फर्कनको लागि आवेदन फारम भरेका र अन्य राज्यमा ७ प्रतिशत रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष नरेश सेनले बताए। 

एनआरएनए युएईले दुबई,अबुधावी,शारहजा,अजमान, रसअलखेमा,फुजेरा र उमअलब्वेन गरी सातैवटा प्रदेशमा अनलाईन फारम वितरण गरेको थियो।  गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्ययनअनुसार युएईमा २३.७ प्रतिशत नेपाली कामदारले काम गरिरहेका, ३५.८ प्रतिशत कामदार बेतलबी बिदामा,२०.२ प्रतिशत कामदारको आवासीय भिसा क्यान्सिल भएको र करिब ११.१ प्रतिशतको भिजिट भिसा समयअवधि सकिएको तथ्याङ्क देखिएको छ । जसमा बेतलबी,काम टुटेका,बिदामा बसेका र भिजिट भिसामा युएई छिरेका धेरैजसो नेपालीहरुले आवेदन भरेका छन्।

युएईस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार युएईमा २ लाख ७५ हजार नेपालीहरु छन्। तर अवैधानिक तरिकाले दूतावासको तथ्याङ्कबाहेक युएईमा साढे तिन लाख नेपाली रहेको पाईन्छ।युएई सरकारले सम्बन्धित मुलुकहरूलाई बेतलबी बिदामा रहेका र घर फर्कन इच्छुक कामदारलाई फिर्ता लैजान आग्रह गरिरहेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले पनि नेपाली दूतावास युएईलाई दबाब दिएको छ। 

कामदार फिर्ता नलैजाने मुलुकको श्रम सम्झौता पुनर्विचार गर्नेबारे अध्ययन गरिरहेको युएई सरकारले बताएको छ। यता युएईस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता रिता धितालले युएई सरकारले गरेको निर्णयको औपचारिक जानकारी दूतावासलाई प्राप्त नभएको बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप