शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको र्‍यापिड टेष्ट किट : यसले कसरी काम गर्छ ?

किन र्‍यापिड किटले पोजिटिभलाई पनि नेगेटिभ र नेगेटिभ भएकालाई पनि पोजिटिभ देखाइरहेछ ?
मङ्गलबार, ०२ वैशाख २०७७, १५ : ५७
मङ्गलबार, ०२ वैशाख २०७७

कोरोना रोग लागेको वा नलागेको थाहा पाउनका लागि द्रुत गतिमा गरिने टेष्ट हो, आरडिटी अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट । कोरोना संक्रमणको अवस्थालाई प्रारम्भिक रुपमा हेर्नका लागि यो टेष्ट किटको प्रयोग गर्ने गरिएको छ ।

नेपालमा पनि कोरोना सक्रमणको खतरा बढ्दै गएपछि नेपाल सरकारले ओम्नी समूहमार्फत् चीनबाट ७५ हजार युनिट र्‍यापिड डाइग्नोष्टिक टेष्ट किट किनेर ल्याएको थियो । अहिले ७७ वटा जिल्लामा पहिलो चरणमा यही किटमार्फत् कोरोना संक्रमणको शंका लागेकाहरु वा विदेशबाट फर्किएका दुई साता पूरा भइसकेका र उनीहरुको परिवारमा कोरोना संक्रमण रहे नरहेको पत्ता लगाउन यो किटको प्रयोग भइरहेको छ ।

आरडिटीको प्रयोग तथा यसको उपयोगिताको सम्बन्धमा अहिले विभिन्न टिका टिप्पणीसमेत भइरहेको छ । कतिपयले यो टेष्ट किटको काम नै नभएको बताइरहेका छन् त कतिपयले यसले गलत रिपोर्ट दिने गरेको गुनासो पनि गरिरहेका छन् । कतिपय मानिसहरुले त स्पनेले काम नगरेको भन्दै फिर्ता पठाएको र्‍यापिड टेष्ट किट नै नेपाल ल्याएको बताइरहेका छन् । कतिपयले चाहिँ अहिले नेपालले प्रयोगमा ल्याएको र्‍यापिड टेष्ट किटले विश्व स्वास्थ्य संगठनबाट मान्यता नै नपाएको भन्दै यसको उपयोगितामाथि नै शंका गरिरहेका छन् ।

कतिपय स्थानमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेष्टमा नेगेटिभ (रोग नभएको) देखाएपनि पिसिआर (ल्याब टेष्ट)मा पोजिटिभ (रोग भएको) देखाइएको पाइएको छ । अनि कतिपय अवस्थामा आरडिटीमा पोजिटभ देखाएपनि पिसिआर टेष्टमा नेगेटिभ अर्थात् रोग निको भइसकेको वा रोग नै नभएको देखाएको छ । यी कारणले पनि र्‍यापिड टेष्ट किटका बारेमा धेरैमा अन्यौलतमा सिर्जना गरिदिएको छ ।

के हो र्‍यापिड टेष्ट किट ? यसले कसरी काम गर्छ ?

आरडिटी अर्थात् र्‍यापिड टेष्ट किट कोरोना रोगको परीक्षणका लागि सबैभन्दा छरितो र महत्वपूर्ण विधि हो । यसले परीक्षण गरिएका मानिसको शरीरमा कोरोनाको संक्रमण भएको थियो वा थिएन भनेर देखाउँछ ।

अहिले कोरोना भाइरस अर्थात् कोभिड १९ को माहामारीको अवस्था छ । यस्तो अवस्थामा कतिपय मानिसको शरीरमा कोरोना भाइरसको संक्रमण भएको भए पनि त्यसको लक्षण नदेखिन पनि सक्छ । तीमध्ये कतिपयको लक्षण नै नदेखाइकन कोरोनाको संक्रमण निको भइसकेको पनि हुन सक्छ भने कतिपयले चाहिँ लक्षण नै नेदेखाइकनै भित्रभित्रै रोग सल्काइरहेको पनि हुन सक्छ । यो अवस्थामा कोरोना संक्रमण पत्ता लगाउने सजिलो उपाय भनेको र्‍यापिड टेस्ट नै हो ।

जब मानिसको शरीरमा भाइरस अर्थात् किटाणु पस्छ, त्यसका विरुद्ध हाम्रो शरीरले प्राकृतिक रुपमा नै लड्न थाल्छ । त्यसरी लड्ने क्रममा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले एन्टिबडी नामक प्रोटिनको निर्माण गर्छ । त्यस एन्टिबडीले शरीरमा पसेको किटाणुलाई निष्क्रिय पार्ने वा ध्वस्त पार्ने काम गरिदिन्छ । यो क्रममा हामीलाई ज्वरो आउने तथा अन्य लक्षणहरु देखापर्न सक्छ । त्यो भनेको किटाणुको विरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले लडेको कुराको संकेत पनि हो । शरीरमा पसेको किटाणुका विरुद्ध निर्माण भएको एन्टीबडीले पछि पछि त्यही किटाणु शरीरमा पस्यो भने हामीलाई पहिले जस्तो विरामी बनाउन सक्दैन । हामीले अत्तो पत्तो नपाइकनै शरीरमा विद्यमान त्यस किटाणु विरुद्धको एन्टीबडीले लडेर हामीलाई जोगाइरहेको हुन्छ । 

शरीरमा भएको भाइरस वा भाइरसको मात्रालाई भने एन्टीजिन भनिन्छ । शरीरमा भाइरस पसिसकेपछि करिब एक सातासम्म पहिलो चरणको एन्टीबडी अर्थात् आइजीएम अर्थात् इम्युनोग्लोबुलिन एम बनाउन थाल्छ । तर यो आइजीएम करिब एक सातापछि हराएर जान्छ ।

शरीरमा भाइरस प्रवेश गरी लक्षण देखिन थालेको २१ दिनसम्म पनि भाइरस बन्ने क्रम रहिरहन पनि सक्छ । तर शरीरमा भाइरस प्रवेश गरेको २१ दिनपछि भने शरीरले रोग प्रतिरोध गर्ने एन्टीबडीको उत्पादन सुरु गरिसकेको हुन्छ, जसलाई आइजीजी भनिन्छ । आइजीजी अर्थात् इम्युनोग्लोबुलिन जी भनेको रोगसँग लड्न शरीरभित्रैको प्रतिरक्षा प्रणालीले निर्माण गरेको प्रोटिन नै हो, जसले भाइरस अर्थात् नकारात्मक प्रोटिनलाई नष्ट गर्न सहयोग पुराउँछ ।

अहिले विश्वभरी नै प्रयोगमा आइरहेको र्‍यापिड टेष्ट किट अर्थात् आरडिटीले देखाउने भनेको यही नै हो । शरीरमा एन्टीजिन वा एन्टीबडीको अवस्था के छ भनेर यो किटले देखाउनेछ । त्यसपछि त्यसको थप पुष्टिका लागि पिसिआर ल्याबमा लगेर टेष्ट गर्नुपर्ने हुन्छ ।

र्‍यापिड टेष्ट किटमा कोरोना परीक्षण गर्दा औंलाबाट थोरै रगत निकालेर किटमा राखेर परीक्षण गरिन्छ । यसरी परीक्षण गर्दा उक्त व्यक्तिमा कोरोनाको संक्रमण भइसकेको वा लक्षण देखिन थालिसकेको भए त्यसले उसको शरीरमा विद्यमान कोरोनाविरुद्धको एन्टीबडीको आधारमा पोजिटिभ देखाउनेछ ।

तर यदि कुनै व्यक्तिलाई भर्खरैमात्र कोरोना भाइरसको संक्रमण भएको छ भने यो किटले काम नगर्न पनि सक्छ अर्थात् मानिसमा कोरोनाको संक्रमणच चाहिँ शुरु भएको छ तर रिपोर्ट चाहिँ नेगेटिभ आउन पनि सक्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार ‘र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्दा पहिलो चरणका बिरामीलाई संक्रमण भएको वा नभएको नदेखिन पनि सक्छ ।’ उनको भनाइमा किटाणुले शरीरमा प्रवेश गर्नेबित्तिकै शरीरले त्यसका विरुद्ध एन्टीबडी बनाइसकेको नहुनाले त्यस्तो स्थिति आउन सक्छ । फेरि र्‍यापिड टेष्ट किटले परीक्षण गर्ने भनेको शरीरमा भाइरसको उपस्थिति छ कि छैन भन्ने नभई एन्टीबडी जाँच गर्ने हो ।

महानिर्देशक श्रेष्ठका अनुसार ‘शरीरमा कोभिड भाइरसको प्रवेश भएको पहिलो दिन देखि नै त्यसको संख्यामा अत्यधिक बृद्धि हुन थाल्छ । शरीरमा भाइरस पसेको दुई सातामा त्यो अधिकतम विन्दुमा पुग्छ र त्यो अवस्थामा मात्रै संक्रमित व्यक्तिमा रोगका लक्षणहरु देखाउन थाल्छ । त्यो कुरा र्‍यापिड टेष्टबाट पत्ता नलाग्न पनि सक्छ र त्यसका लागि पिसिआर टेष्ट गर्नुपर्छ । पिसिआरले शरइीरमा रहेको एन्टीजिन अर्थात् भाइरसका मलिक्युलहरु पत्ता लगाउँछ । अर्थात् शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लगाउने भरपर्दो विधि पिसिआर नै हो ।’

शरीरमा भाइरस पसिसकेपछि शरीरले एण्टीबडी बनाउन थाल्छ । कोरोनासँग सम्बन्धित एन्टीबडी दुई प्रकारको छ भनेर बुझ्दा हुन्छ ः आइजीएम र आइजीजी । संक्रमणले भरखरै भरखरै च्यापेको अवस्थामा शरीरको रोग प्रतिरोधी क्षमताले पहिले सुरुमा आइजिएम निकाल्छ र त्यो एक सातासम्म रहन्छ । यो भनेको शरीरमा भाइरस प्रवेश गरेको करिब २ सातासम्म रहन्छ । त्यसपछि भने आइजीएम हराएर जान्छ । त्यसपछि शरीरले आइजीजी भन्ने निकाल्छ र त्यो शरीरमा लामो समयसम्म रहिरहन्छ ।

सरल भाषामा भन्दा शरीरमा कोरोनाभाइरसको संक्रमणले च्याप्दै लगेको अवस्था (acute infection) मा आइजिएम एन्टीबडी देखापर्छ, जसको आधारमा परीक्षण गरिएका व्यक्तिमा हालको अवस्थामा संक्रमण रहे नरहेको आँकलन गर्न सकिन्छ । तर शरीरमा आइजिएमको सट्टा आइजीजी छ भने चाहिँ त्यो संक्रमण तत्कालको नभई लामो समयदेखि रहँदै आएको वा संक्रमण भएर पनि त्यो निको भइसकेको अवस्थाको व्यक्ति (chronically infected or cured person) को हकमा देखापर्ने हो ।

एन्टीबडी पोजिटिभ हुनासाथ रोग भएको भन्ने होइन

विभागका महानिर्देशक श्रेष्ठका अनुसार ‘मानिसको शरीरमा कोरोना भाइरसको एन्टीबडी देखिँदैमा कोरोना संक्रमण विद्यमान छ भन्ने होइन । शरीरमा आइजीजी देखियो भन्नुको अर्थ त्यो व्यक्तिमा पहिले कोरोनाको संक्रमण भएको तर अहिले निको भइसकेको वा निको हुने चरणमा रहेको भन्ने हो । तर एन्टीबडी वा आइजीजी देखिएपनि कतिपयको शरीरमा अझै पनि भाइरसको मात्रा रहेको हुनसक्छ । त्यस्तो अवस्थामा उनीहरुलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ ।’

नेपालमा आएको र्‍यापिड टेष्ट किट गुणस्तरीय रहेको विभागको दावी

ओम्नी समूहले नेपाल सरकारलाई बेचेको र्‍यापिड टेष्ट किट गोन्जाओ ओण्डफो बायोटेक कम्पनीको टेष्ट किट हो । सुरुवाती चरणमा चीनमा प्रयोग गरिएको र्‍यापिड टेष्ट किटमा यही किट प्रयोग भएको विभागको दावी छ । पछि थाइल्याण्ड र अहिले अष्ट्रेलियाले प्रयोगमा ल्याएको टेष्ट किट पनि यही नै भएको विभागले बताएको छ । ‘यो किट गुणस्तरीय किट भएको र यसको परीक्षणको नतिजा राम्रो भएको’ विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको दाबी छ ।

टेष्ट किटबाट कोरोना परीक्षण गर्दा सुरुवाती चरणमा कुनै नतिजा नदिने र शरीरले एन्टीबडी बनाइसकेपछि मात्रै त्यसले नतिजा दिने पनि हुन सक्छ ।  ‘यदि कुनै व्यक्तिलाई भर्खरैमात्र कोरोना भाइरसको संक्रमण भएको रहेछ भने उसलाई यस्तो टेष्ट गर्दा कुनै नतिजा नदिने’ श्रेष्ठ बताउँछन् । तर ‘उक्त व्यक्तिलाई संक्रमण भएको दुई वा तीन साता कटिसकेको रहेछ भने शरीरमा एन्टीबडीको अवस्था देखाउने भएकाले यस्तो किटले शतप्रतिशत नतिजा दिने’ श्रेष्ठको दावी छ ।

यो किटको प्रयोग संक्रमण भएको दुई सातापछि मात्रै देखाउने भएकाले अहिले सरकारले विदेशबाट फर्किएको दुई साता पार भइसकेको वा विदेशबाट फर्किएकाहरुको सम्पर्कमा आएका व्यक्तिहरु दुई देखि तीन साता पार भइसकेपछि मात्रै उनीहरुलाई परीक्षण गरिएको विभागले जनाएको छ ।

र्‍यापिड टेष्टको दुई उद्देश्य : क्वारेन्टाइनबाट बिदाइ वा उपचार

अहिले सरकारले गरिरहेको र्‍यापिड टेष्टको दुई उद्देश्य रहेको विभागले जनाएको छ । पहिलो यो टेष्ट गरिसकेपछि उसलाई रोग छैन भन्ने निश्चित गरेर विदाई गर्ने र दोस्रो यदि पोजिटिभ देखिएमा उसको पिसिआर टेष्ट गर्ने र शरीरमा कोरोना भाइरस अझै विद्यमान छ कि छैन भनेर हेर्ने । यदि शरीरमा भाइरसको उपस्थिति देखिएन भने उसलाई विदाई गर्ने तर भाइरस बाँकी नै रहेछ भने उसलाई अस्पताल भर्ना गरेर उपचार गर्ने ।

नेपाल सरकारले यो टेष्ट किट खरिद गर्दा प्रति युनिट ७ डलर अर्थात् अहिलेको मूल्यमा करिब ८ सय ५० को दरले खरिद गरेको हो ।

निको भएका बिरामीको रिजल्ट पिसिआरबाट आउँदैन

अहिले ल्याबमा कोरोना परीक्षण गर्ने भनेको पिसिआर टेष्ट नै हो । तर पिसिआर टेष्ट गर्दा पनि शरीरले एन्टीबडी निनर्माण गरी निको भइसकेको व्यक्तिमा भने नतिजा नेगेटिभ नै आउन सक्छ । किनभने पिसिआर टेष्टमा शरीरमा भाइरसको मात्रा मात्रै हेर्ने हो, एन्टीबडी छ कि छैन भनेर हेर्ने अवस्था रहँदैन । त्यसकारण पिसिआर टेष्टमा नेगेटिभ देखिएकाको सम्पर्कमा आएकाहरुलाई पनि उनीबाटै कोरोना संक्रमण सरेको हुनसमेत सक्नेछ ।

पेप्सीकोलाको घटनालाई हेर्दा चैत्र ५ गेत बेलायतबाट नेपाल आएका ती तीनै जना व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेको तीन साता बढी भइसकेको देखिन्छ । तर उनीहरुलाई केही दिनअघि मात्रै र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ । यहाँ स्मरणीय कुरा के छ भने उनीहरुमा कोरोनाको संक्रमणका लक्षण देखापरेका आधारमा परीक्षण गर्दा सो कुरा फेला परेको होइन । उनीहरुलाई त सरकारले गरेको विदेशबाट आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने सिलसिलामा गरिएको र्‍यापिड परीक्षण पछि  मात्रै पोजेटिभ नतिजा देखिएको हो । त्यसपछि अहिले उनको शरीरमा भाइरसको मात्रा छ कि छैन भनेर हेर्नका लागि पिसिआर टेष्ट गर्न पठाइएको थियो । यो लेख्दासम्म पठाइका तीनजनामध्ये दुईजनाको रिपोर्ट पोजेटिभ नै आइसकेको छ । यसको अर्थ उनको शरीरमा अझैपनि भाइरसको मात्रा हुन पनि सक्नेछ वा त उनीहरुलाई कोरोनाको संक्रमण भई निको भइसकेको पनि हुन सक्नेछ ।

विभागका महानिर्देशक श्रेष्ठका अनुसार ‘अहिलेको स्थितिलाई विश्लेषण गर्दा ती व्यक्ति बेलायतबाट आउँदा रोग कोभिड–१९ लागिसकेको थिएन, तर उनीहरुको शरीरमा किटाणुले प्रवेश गरिसकेको हुनुपर्छ ।  तर उनको शरीरमा कोरोनाको लक्षण देखिन केही समय लाग्यो र अझैसम्म पनि त्यसको लक्षण देखिइरहेको छ । यसो गर्दा डबल चेक हुन्छ । एउटाले अगाडिको थाहा पाउँछ र एउटाले पछाडिको थाहा पाउँछ । दोहोरो चेक गर्दा वा पिसिआर चेक गर्दा किटाणु फैलिरहेको देखेमा उसलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुन्छ । आरडिटी पोजिटिभ छ तर पिसिआर नेगेटिभ छ भन्ने आयो भने हामी उसलाई घर जाउ भन्छौँ, किनभने उसको शरीरमा कुनै बेला संक्रमण चाहिँ भएको तर अहिले संक्रमण निको भएर उनको शरीरले रोग विरुद्ध लड्ने शक्ति बनाइसकेको छ भन्ने हुन्छ ।’

सनसिटीको घटनाले उब्जाएको प्रश्न

सनसिटीको घटनाक्रमले एउटा गम्भीर प्रश्न के खडा गरेको छ भने लण्डनबाट फर्केको करिब २७ दिन बितिसक्दा पनि उनीहरुमा कोरोनाभाइरसको संक्रमण विद्यमान छ । यसको अर्थ या त उनीहरु पहिले लण्डन बस्दा लक्षणरहित ढंगले संक्रमित थिए, पछि निको भए र अहिले नेपाल फर्केर आएपछि फेरि त्यो बल्झिएर आएको छ । यो एउटा सम्भावनाको कुरा रह्यो ।

अर्को सम्भावना के पनि हुन सक्छ भने उनीहरुको संक्रमण लक्षणरहित ढंगले विदेशदेखि नै रहँदै आएको थियो र त्यो उनीहरुको शरीरको रोग प्रतिरोधी क्षमताका कारण बाहिर सतहमा देखापरिरहेको थिएन । अहिले पनि परीक्षण गरेपछि मात्रै त्यो संक्रमण फेला पर्यो । कदाचित स्थिति यो हो भने झनै गम्भीर र संवेदनशील प्रश्न के पनि उठ्छ भने लक्षणरहित अवस्थामा नै उनीहरुले आफ्ना संसर्गमा आएका वा उनीहरुले छोएका वस्तुहरुको सम्पर्कमा आएका त्यस क्षेत्रका अन्य व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको संक्रमण सरेको छैन भन्ने के विश्वास ? यो स्थितिमा त्यस अपार्टमेन्टमा बसेकाहरुमध्ये लक्षणका आधारमा मात्रै टेस्ट गर्ने भन्ने अहिलेसम्म आइरहेको कुरा त्यति सुरक्षित नहुन सक्छ । त्यसक्षेत्रमा लक्षण नदेखिइकनै कोरोनाको संक्रमण भित्र भित्रै फैलिइरहेको छ कि छैन भन्ने कुराको निदान गर्नु जरुरी देखिन्छ । त्यसका लागि त्यहाँका मानिसहरुमा कोरोनाको लक्षण कुरिरहनुको साटो उनीहरुको सम्पर्कमा आएका सबैको व्यक्तिहरु परीक्षण गरिनु जरुरी देखिन्छ ।

सनसिटी अपार्टमेन्टको घटनाले कोरोनाभाइरसको ‘इन्क्युवेसन पिरियड’ १४ दिन मानेर त्यति दिन क्वारेन्टाइन बसेपछि लक्षण नदेखाएको आधारमा नै ढुक्क भएर बस्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि खडा भएको छ । खासगरी, १४ दिनको क्वारेन्टाइन बस्दा लक्षण नदेखिएको भन्दै सुरक्षित ठानेर बिना परीक्षण घर फर्काइएका विदेशबाट फर्केर आएकाहरुमा पनि अझै त्यो संक्रमण विद्यमान त छैन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ । 

एन्टीबडी बनिसकेको व्यक्तिको रगत अर्का रोगीका लागि उपयोगी

यदि कुनै व्यक्तिलाई कोभिड १९ लागेको थियो र उसले आफ्नो शरीरमा कोभिड १९ विरुद्धको एन्टीबडी बनाइसकेको छ भने त्यो व्यक्तिको रगत कोरोना रोगीका लागि निकै उपयोगी बन्न सक्छ । कोरोनाबाट सिकिस्त बनेका बिरामीलाई एन्टीबडी बनिसकेको व्यक्तिको रगत वा प्लाज्मा दिएको अवस्थामा रोगी मान्छेपनि त्यो एन्टीबडीले काम गर्न सक्छ भन्ने कुरा अहिले विश्वव्यापी रुपमा प्रयोग गर्न थालिएको छ । त्यही मान्यताका आधारमा अहिले नेपालमा पनि प्लाज्मा दिने प्रक्रिया पनि सुरु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप