शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सक्नेले नसक्नेलाई सहयोग गरौँ

खाली समय लेखपढमा लगाउँछु : अशोक शेरचन, सिइओ, प्रभु बैंक
सोमबार, ०१ वैशाख २०७७, ११ : ३९
सोमबार, ०१ वैशाख २०७७

हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन ।

सधैँजस्तै सामान्य व्यायामबाट सुरु हुने उनको दैनिकी लकडाउनको अवधिमा पनि उस्तै नै चलिरहेको छ । लकडाउन अगाडिको दैनिकी र व्यस्ततामा हाल केही कमी आए पनि खाली समयलाई राम्रै सदुपयोग गरेका छन् उनले । समय पाउनासाथै लेखपढ गर्न मन पराउने शेरचन सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । लकडाउनको समयलाई कसरी सदुपयोग गरिरहेका छन् त शेरचनले ? हामीले उनै शेरचनको विचारसहितको लकडाउन डायरी तयार पारेका छौँ ।

सामाजिक कार्यमा सक्रियता

कोरोनाभाइरसको महामारीबाट जोगिनका लागि सरकारले मुलुकलाई नै लकडाउन गर्यो । यतिबेला सबै क्षेत्र ठप्प छ तर बैंकिङ्ग क्षेत्र भने संचालन मै छन् । त्यसैले हाम्रो काम रोकिएको छैन । हामी काममै छौं, यतिमात्र फरक हो कि पहिलाको जस्तो चाप भने छैन ।

म हरेक दिन बैंकका कुन कुन शाखा खुले ? भोलि कुन कुन शाखा खोल्ने ? शाखाको अवस्था कस्तो छ ? अनि कर्मचारीको व्यवस्थापन कसरी भइरहेकोे छ ? उनीहरुको अवस्था कस्तो छ ? यतातिर केन्द्रित हुन्छु । साथै, ग्राहकको गुनासाहरु सम्बोधन गर्नतिर लाग्छु । यी सँगसँगै सामाजिक कर्तव्य पनि हुन्छन् ।

कोरोनाभाइरसको महामारीबाट बच्नका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरुको अभाव छ । यूरोप, अमेरिकाजस्ता देशमा त यसको अभाव छ भने हाम्रो देशमा यी सामग्रीको अभाव नहुने कुरै भएन । अझ नेपालको ग्रामिण भेगमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को निकै अभाव छ । त्यस्ता भेगमा पीपीईको व्यवस्था गर्न हामीले सक्दो कोसिस गरिरहेका छौँ ।

गाउँघरतिर पीपीई अर्थात मास्क, पञ्जा, सेनिटाइजर जस्ता सामाग्रीको व्यवस्था गरी पठाउने र वितरण गर्ने काम पनि गरिरहेका छौँ । आफै जान सम्भव नभएकाले स्वास्थ्य संस्था वा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुमार्फत पीपीई पु-याउन सहयोग गरिरहेका छौँ ।

म सबैमा आग्रह गर्न चाहन्छु, एक अर्कालाई सहयोग गरौँ । यतिबेला गरिब, असहायहरुलाई झनै सहयोगको खाँचो छ । सक्नेले नसक्नेको सहयोग गर्ने हो भने जटिल अवस्थामा सानो भए पनि राहत मिल्छ ।

सबैका आ–आफ्नै समस्या हुन्छन् । बाहिरको अवस्थाले सबैको मनमा त्रास बढेको छ । आफ्ना अनि आफन्तको एक बोली अनि सान्त्वनाले पनि नकारात्मक भावनामा कमी ल्याउन सहयोग मिल्छ । कोरोनाभाइरस महामारीले सबै क्षेत्रलाई असर गरेको छ । अवस्था सामान्य बनेपछि पनि जिन्दगीलाई अगाडि बढाउन झनै धेरै मेहनत गर्नुपर्ने देखिन्छ । त्यसैले सकारात्मक सोचौँ, आत्मबल बढाएर सिर्जनशीलतामा आफूलाई लगाऔँ ।

लेखपढ गरेर समय बिताउँछु

मलाई समय हुनासाथ लेखपढ गर्न मन पर्छ । अहिले पहिलाको जस्तो व्यस्तता नभएकाले खाली समयमा लेख्छु । यो–त्यो भन्ने छैन, कुनै पनि विषयमा लेख्न मन पर्छ । साथसाथै टिभी हेर्ने, किताव पढ्ने, यस्तैमा दिन बित्छ । लेखपढ गर्दा केही न केही नयाँ सिकिने भएकाले खाली समयलाई यत्तिकै खेर नफालौँ ।

विश्वको अवस्थाबारे, अझ महामारीले उत्पन्न परिस्थितिबारे जानकार हुन कसलाई मन हुँदैन र ? त्यसैले समाचार अनि विश्लेषणहरु पनि पढ्छु । हामीले समयको सदुपयोग गर्न जान्नुपर्छ ।

अहिले धेरै समय घरमै रहने भएकाले घरपरिवारको साथ बस्न पाएको छु । साथै साथीभाई, आफन्तहरुसँग प्रायः फोन तथा भिडियोमार्फत सम्वाद हुन्छ । यसरी साथीभाई, आफन्तहरुसँगको कुराकानीले अहिलेको परिस्थितिमा थप ऊर्जा भर्ने काम गर्छ ।

एक दिन बिराएर कार्यालय पुग्छु

बैंकिङ्ग कारोबार अहिले ज्यादै न्यून छ । हामीले दिनमा सातवटै प्रदेशमा गरी जम्मा २५ वटा शाखा खोल्ने गरेका छौँ । शाखामा ग्राहकको चाप छैन । त्यसैले कर्मचारीलाई पनि केही दिनको फरकमा पालैपालो कार्यालय आवतजावतको व्यवस्था गरेका छौँ ।

हरेक दिन कुन शाखा खोल्ने र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्नेबारे म्यानेजमेन्टसँग छलफल हुन्छ । हामी छलफल भिडियो कम्फेरेन्सबाटै गर्ने गरेका छौँ । हप्तामा एक दिन बोर्ड बैठक पनि भिडियो कन्फेरेन्सबाटै गर्छौँ ।

घरबाट हुने काम घरबाटै गर्ने गरेका छौँ । तर पनि एक दिन बिराएर कार्यालय पुग्छु । कार्यालय पुगेर कार्यसम्पादन गर्नु अत्यन्त जरुरी छ । किनकि म आफ्ना ग्राहकले कुनै पनि समस्या झेल्न नपरोस् भन्ने चाहन्छु ।

ग्राहकलाई बैंकिङ्ग कारोबार डिजिटल प्रविधिबाट गर्न आग्रह गरेका छौँ । तर पनि कति ग्राहक डिजिटल प्रविधिको प्रयोगभन्दा पर हुनुहुन्छ । उहाँहरुका लागि भए पनि हामीले शाखा खोलेर सेवा दिनै पर्छ । शाखासम्म आउनु परेको अवस्थामा सुरक्षित तवरले आउन आग्रह गर्छु । शाखामा पनि सुरक्षा सतर्कताका उपाय अपनाइएकाले ग्राहकलाई कुनै समस्या हुने छैन । हामी हाम्रा कर्मचारी र ग्राहकको सुरक्षामा सतर्क छौँ ।

ग्राहकलाई केही समस्या परेमा सिधै सम्वन्धित शाखा प्रमुखलाई सम्पर्क गरी समस्या समाधन गर्न सकिने गरी सुविधा उपलब्ध गराएका छौँ । त्यसैले केही समस्या परेमा सिधै सम्पर्क गर्नुहोला । घरभित्रै सुरक्षित रहनु होला ।

अहिले सरकार आफैले बाहिर ननिस्कन भनेकाले बैंकको तर्फबाट र नागरिकको तर्फबाट पनि सरकारलाई हामी सबैले सहयोग गर्नुपर्छ । नियमको पालना गरौँ ।

अर्थतन्त्रलाई उकास्न समय लाग्छ

कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा हाम्रो देशको अर्थतन्त्र पनि नराम्रोसँग थला पर्ने निश्चित छ । देशको खम्बाको रुपमा उभिएको पर्यटन क्षेत्रले ठूलो असर व्यहोरिरहेको छ । लगानीका सबै क्षेत्र बन्द छन् । यस्तो अवस्थामा बैंकिङ्ग क्षेत्रलाई पनि असर नगर्ने कुरै भएन ।

उत्पादन छैन, विक्री वितरण छैन, यसले ग्राहकहरुलाई व्याजको भार बढ्दै जानेछ । चैतको व्याज पछि तिर्ने गरी व्यवस्था गरिए पनि व्याजभार थपिदै जाँदा ग्राहकलाई झनै समस्या पर्ने देखिन्छ ।

बैंकले वितरण गरेको कर्जाबारे सोचिएको नै छैन । अब उद्यमीहरु लगानी गर्न हिच्किचाउने छन्, बैंकको बिजनेसमा धक्का लाग्ने छ । बैंकको कर्जा कारोबारमा असर पर्दा नन् परफर्मिङ एसेस्ट (एनपीए) अथवा खराव कर्जा बढ्ने खतरा बढी छ ।

सबै क्षेत्रलाई माथि उकास्न समय लाग्ने देखिन्छ । सरकार तथा सम्वन्धित निकायले अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेबारे बेलैमा सोच्न जरुरी छ ।

सरकारका गतिविधिले दुःखी बनायो

अब सरकारले महामारी नियन्त्रण गर्न लकडाउन अवधि थपेरै भए पनि अगाडि बढ्नुपर्छ । भारतबाट र अन्य देशबाट आएका नागरिकको भरपर्दो तवरले मोनिटरिङ हुनुपर्छ । हेलचेक्र्याइ गर्नु हुँदै हुँदैन ।

नेपालमा महामारी फैलिहालेको अवस्थामा उपचारका लागि पूर्वाधारको अभाव छ । विश्वको अवस्थाबाट पाठ सिकेर ¥यापिड फायर राउण्डमा पूर्वाधार निर्माणमा लाग्नु पर्ने हो तर सरकारले यस विषयमा खासै चासो देखाएको छैन । नाफा–घाटाको पछाडि लागेर विश्वमै देशको छवि बिगार्ने काम भयो ।

सरकारले यस्तो अवस्थामा राम्रोसँग अध्ययन गरेर सोचबिचार गरेरमात्रै काम गर्नुपर्ने थियो तर हतारमा निर्णय लिँदा सरकारको छवि नै धमिलिन पुग्यो । सरकारी क्षेत्रले मात्र होइन निजी क्षेत्रले पनि नाफा नोक्सानमा लाग्न खोज्नु ज्यादै दुःखद् कुरा हो ।

अन्तर्राष्ट्रिय रुपमै भ्रष्टाचार गर्न खोज्नु ज्यादै दुःखद् कुरा हो । सरकारले विश्वव्यापी रुपमै देशको छवि बिगा¥यो । यसलाई जतिसक्दो छिटो सच्याएर देश र जनताको हितमा स्वच्छ भावनाले काम गर्नु जरुरी छ । हामी यो विपदको घडीमा सरकारलाई साथ दिन तयार छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप