शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन उल्लङ्घन गर्ने मन्त्रीलाई १ हजार डलर जरिवाना तोकिएलगत्तै राजीनामा

शुक्रबार, २८ चैत २०७६, १९ : १५
शुक्रबार, २८ चैत २०७६

एजेन्सी । अष्ट्रेलियामा लकडाउन उल्लंघन गरेको आरोपमा एक मन्त्रीलाई १ हजार डलर जरिवाना गरिएको छ । क्वारेन्टाइन र सोसल डिस्ट्यान्सिङको नियम उल्लंघन गरेको भन्दै त्यहाँका विशेष राज्यमन्त्री अर्थात आदिवासी मामिला र कला मन्त्री डन हार्बिनलाई १ हजार डलर जरिवाना गरिएको हो ।

क्वारेन्टाइनका बेला राजधानी सिड्नीभन्दा बाहिर गाउँमा रहेको आफ्नो घरबाट आउजाउ गरेको अरोपमा उनलाई शुक्रबार बिहान त्यहाँको प्रहरीले १ हजार डलर जरिवाना थमाइदिएको हो । प्रहरीले जरिवाना थमाउनु अघिल्लो दिन (बिहीबार) उनकै घरमा पुगेर नियम उल्लंघन गरिएको सूचना जारी गरेका थिए ।

नियम उल्लंघन गरेको आरोप लागेपछि मन्त्री हार्बिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कारण जनस्वास्थ्यमा जोखिम भएको निश्कर्ष निकाल्दै राजीनामा दिएका हुन् । मन्त्री हार्बिनले आफुले पनि राज्य संयन्त्रले बनाएको नियम मान्ने र यो विषयले कोराना विरुद्धको लडाइँमा सरकार नअल्झियोस् भनेर राजीनामा दिएका दाबी गरेका छन् ।

उनले दिएको राजीनामा प्रिमियर ग्लाइड्स बेरेक्जिक्लिनले स्वीकार गरेकी छिन् । मन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रिमियर ग्लाइड्सले नियम सबैलाई बराबर लाग्ने बताएकी छिन् । त्यसअघि ग्लाइड्सले पनि मन्त्री हार्बिनले नियम नतोडेको भन्दै उनको बचाउ गर्न खोजेकी थिइन् । तर मन्त्री हार्बिनमाथि कार्बाही भएपछि निकै निराश देखिएकी उनले नियमभन्दा माथि कोही नभएको भन्दै त्यसलाई मान्नुपर्ने बताएकी छिन् ।

मन्त्रीमाथि कार्वाही भएसँगै त्यहाँका प्रहरी प्रवक्ता मिक फुलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि व्यक्ति वा कर्पोरेशनहरु कानुनभन्दा माथि छैनन्, नियम उल्लंघन भएको शंका भएमा जो कसैलाई पनि छानबिन हुनेछ र यदि कुनै नियम उल्लंघन भएको पत्ता लागेमा उनीहरुलाई ऐन बमोजिम कार्बाही हुनेछ ।’  

मन्त्री हार्विनको मुख्य निवास सिड्नीको पूर्वी उपनगरभित्र पर्दछ । अष्ट्रेलियामा यो बेला पारिवारिक जमघट र अन्य सामुहिक जमघटका कार्यक्रमहरु आयोजना गरिए जरिवाना लाग्ने नियम छ । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ भने ६ हजार २ सय ३ जना संक्रमित भएका छन् ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप