शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी तथा फलफूलको लफडा: महानगरले तोकेको ११ स्थानमा व्यवसायीहरु जान मानेनन्

कालीमाटीको सट्टा अन्य स्थानबाट विक्रीवितरण गर्ने निर्णय भएको भोलिपल्टै अस्वीकार
शुक्रबार, २८ चैत २०७६, १८ : १९
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले मुलुकमा तीन हप्ते लामो लकडाउन घोषणा गरेको छ । लकडाउनका बीचमा कोही कसैलाई पनि अनावश्यक घरबाहिर निस्कन र भिडभाड गर्न दिइएको छैन । कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले सर्वसाधारणको अत्यधिक भीडभाड हुने कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गराएको छ ।

त्यसको विकल्पमा महानगरले काठमाडौंका ११ स्थानमा तरकारी तथा फलफूलको कारोबारका लागि बिक्री केन्द्रहरु तोकेको छ । कालिमाटीको अलावा उपत्यकाका कलङ्की, बाफल, स्वयम्भू वनस्थली, गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर तरकारी तथा फलफूल बिक्री केन्द्र तोकेको छ ।

बुधबार बसेको कालिमाटि फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति, जिल्ला प्रशासन, प्रहरी र महानगरपालिकाको बैठकले यी क्षेत्रलाई तरकारी तथा फलफूल बिक्री केन्द्र तोकेको हो ।

तर, एक दिन पनि वित्न नपाउँदै व्यवसायीहरु  उक्त निर्णयको विरुद्धमा उभिएका छन् । मूलतः कालिमाटी बजारमा तरकारी तथा फलफूल व्यवसाय संचालन गरिरहेका विभिन्न संघ सस्थाहरुले विरोध जनाएका छन् । महानगरले तोकेको अतिरिक्त व्यापार केन्द्रहरुमा व्यवसायीहरु जान मानेका छैनन् ।

लकडाउनको विषम परिस्थितिमा तरकारी ढुवानी, पसल व्यवस्थापन, ट्वाइलेट, संरचना लगायत विविध पूर्वाधारको समस्याका कारण सो क्षेत्रमा जान नसकिने व्यवसायीहरुले बताएका छन् ।

भीडभाडका नाममा व्यवसायीहरुलाई अन्यत्र धपाएपछि बजारमा तरकारीहरु कुहिन थालेको र उपभोक्ताहरु सहज रुपमा तरकारी पाउन छाडेको तरकारी फलफूल थोक बजार व्यवसाय संघ कालिमाटीका महासचिव हरिकृष्ण थापाले बताए ।

जोखिमका हिसाबले कालिमाटी बजार सुरक्षित नरहेको भनिएपनि अहिले तोकिएको केन्द्रहरु समेत झनै सुरक्षित नरहेको थापाको भनाइ छ ।

‘अहिले महानगरले कोरोनाको जोखिम देखाएर कालिमाटी बजार बन्द गराएको छ । व्यवसायीहरुलाई अन्यत्र जान निर्देशन गरेको छ । तर ढुवानीका साधन र व्यापार गर्ने क्षेत्रको भौतिक पूर्वाधारणको अवस्थाले जान सक्ने अवस्था छैन ।’ महासचिव थापाले भने,‘जोखिमका हिसाबले ती क्षेत्र पनि कहाँ सुरक्षित छन् र ?’

व्यवस्थापकीय हिसाबले बरु कालिमाटी बजारलाई नै सुरक्षित र व्यवस्थित गर्न सकिन्थ्यो ।’ उनी भन्छन् ।

थापाका अनुसार अहिलेको निर्णयले व्यवसायी, उपभोक्ता र कृषक सबैलाई मर्कामा पारेको छ । कालिमाटी बजार बन्द हुँदा व्यवसायीहरुले तरकारी तथा फलफूलको कारोबार गर्न सकेका छैनन् भने, उपभोक्ताहरुले सहज रुपमा पाउन सकेका छैनन् । उता कृषकहरुको तरकारी पनि उठ्न सकेको छैन ।

यहि समस्यालाई लिएर अहिले कालिमाटीका तरकारी तथा फलफूल व्यवसायका संगठित व्यवसायीहरु आन्दोलित भएका छन् । तरकारी फलफूल थोक बजार व्यवसाय संघ, कालिमाटी तरकारी युवा क्लव लगायतका संघ संगठनहरु महानगरको निर्णय विरुद्ध उठेका छन् ।

यी संघ संगठनहरुले कालिमाटी बजार व्यवस्थापन समितिले समेत व्यवसायीहरुको हकहितमा काम गर्न नसकेको र आवश्यक समन्वय गर्न नसकेको आरोप लगाएका छन् ।

यता, समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले भने, व्यवसायीहरुकै रोहोबरमा महानगरपालिकाले सो निर्णय गरेपनि विषम परिस्थितिमा व्यवसायीहरुबाट अड्को थाप्ने र सरकारलाई असहयोग गर्ने काम भएको बताएका छन् ।

‘हामीले महानगरपालिका प्रशासन, प्रहरी र व्यवसायीहरुकै रोहोबरमा कालिमाटीको बजार बन्द गर्ने र अन्यत्रका ११ स्थानहरुबाट व्यापार गर्ने निर्णय गरेका हौं । यसमा व्यवसायी साथिहरुको समेत सहमति भएको हो । तर अहिले उहाँहरु यो निर्णयलाई मान्न तयार हुनुहुन्न ।’

निर्देशक पौडेलले भने, ‘अहिले व्यवसायीहरुबाट विषम परिस्थितिमा अड्को थाप्ने र सरकारलाई समेत असहयोग गर्ने खेल भइरहेको छ ।’

यस्तो अवस्थामा ठाउँ छाड्नु पर्दा केहि असहज त हुन्छ । तर असहज मान्नु हुँदैन । अहिले उहाँहरुलाई मात्र होइन सबैलाई समस्या परिरहेको छ । फेरि सधैंका लागि बन्द गरिएको पनि होइन’ निर्देशक पौडेलले भने ।

पौडेलका अनुसार व्यापारमा रोक गरेपनि तरकारी तथा फलफूल आयात गर्न, भण्डारण गर्न र लैजान बजारमा कुनै रोकतोक गरिएको छैन । केही समयका लागि व्यापारमा लगाइइएको रोक अवस्था सहज भएपछि पुनः पहिलेकै अवस्था फर्काइने उनको भनाइ छ ।

तर व्यवसायीहरुले भने अहिले नै यही अवस्थामा कालिमाटी बजारलाई खुल्ला गर्नुपर्ने माग राख्दै आएका छन् । बुधबारबाट तोकिएको अतिरिक्त विक्र केन्द्रहरुमा कुनै पनि व्यवसायीहरु जान मानेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप