शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ सहयोग

शुक्रबार, २८ चैत २०७६, १२ : ५३
शुक्रबार, २८ चैत २०७६

गुल्मी । गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो ।

गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा आएका पिपीइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गरे । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपीइ नहुँदा केही दिन पहिले ‘पिपीइको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर’ शीर्षकमा राससमा समाचार प्रकाशन भएको थियो । 

मनोबल बढेको छः स्वास्थ्यकर्मी
पिपीइ पाएपछि आफूहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘पहिले बिनाहतियार कोरोनाविरूद्धको युद्धमा होमिएका थियौँ, अब हतियार प्राप्त भएको छ’, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भने, ंसबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ ।’ सो नगरपालिकामातहतमा अहिले ३३ स्वास्थ्यकर्मी छन् । 

मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले पनि पिपीइ अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताए । गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताए । तर पर्याप्त मास्क र स्यानिटाइजरको भने अझै अभाव रहेको उनले बताए ।

थर्मलगन र मास्क पठाउने तयारी
सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मलगन र मास्क पनि पठाउने तयारी गरेका छन् । थर्मलगन ५० र मास्क २५ हजार थान पठाउन लागिएको विष्टको सचिवालयले जनाएको छ । सांसद् विष्टले विपन्न र दैनिक ज्यालादारीका मजदुरलाई पनि स्थानीय तहमार्फत राहत सामग्री उपलब्ध गराउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप