शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबिरुद्धको लडाईंमा फ्रान्टलाइनमा डा. पुन

कोरोनाको पहिचान, उपचार र परामर्शमा व्यस्त
शुक्रबार, २८ चैत २०७६, १२ : ०३
शुक्रबार, २८ चैत २०७६

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले यतिबेला विश्व नै नराम्ररी प्रभावित छ । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले देशब्यापी लकडाउन गरेको छ । लकडाउनका कारण विगत तीन हप्तादेखि सर्वसाधारण नागरिक घरभित्र सीमित भएका छन् भने विभिन्न कार्यालयका हाकिमदेखि कर्मचारीको दैनिकीमा परिर्वतन आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोना संक्रमणको पहिचान, रोकथाम तथा नियन्त्रण र उपचारमा स्वास्थ्यकर्मीको भूमिका निकै महत्वपूर्ण हुन्छ । संक्रमणको पहिचान, उपचार र रोकथामका लागि सरकारले विभिन्न अस्पताल तोकेको छ । यससँगै ती अस्पतालका स्वास्थ्यकर्मी संदिग्ध संक्रमितको परीक्षण तथा उपचारमा अहोरात्र खटिएका छन् । यसैगरी खटिने एक स्वास्थ्यकर्मी हुन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।

यसअघि सरुवा रोग उपचारका लागि प्रख्यात यो अस्पताल पछिल्लो समय कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि केन्द्रित छ । सरुवा रोग विशेषज्ञ डा. पुन स्वाभाविक रुपमा कोरोना संक्रमण परीक्षण तथा उपचारमा खटिनु परेको छ । अहिलेको प्रतिकुल अवस्थामा उनको काम गर्ने शैली र दैनिकीमा निकै परिर्वतन आएको छ ।

काम गर्ने शैली

सरुवा रोगको उपचार तथा परामर्शमा संलग्न हुने डाक्टरहरुमध्ये एक हुन् डाक्टर पुन । टेकुस्थित सरुवा रोग अस्पतालमा हैजा, झाडापखाला, डेङ्गु, मौसमी फ्लुका अतिरिक्त कुकुर र सर्पले टोकेका बिरामी लगायत सरुवा रोग सम्बन्धी उपचार, नियन्त्रण तथा परामर्शमा उनी व्यस्त हुन्थे तर तर पछिल्लो समय उनी कोरोना संक्रमणका संदिग्ध बिरामीको परीक्षण तथा उपचारमा उनी केन्द्रित हुनु परेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको लक्षण अर्थात्, ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचार तथा परामर्शमै आफ्नो दैनिकी बित्ने गरेको उनी बताउँछन् । ‘पहिलाजस्तो अहिले विभिन्न प्रकारका सरुवा रोगको उपचार गराउन आउँदैनन्,’ उनले भने, ‘कोभिड–१९ को लक्षण देखा परेका बिरामी जाँच पड्तालका लागि आउँछन् ।’

नेपालमा सुरुवाती चरणमा चीनबाट आएका एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि मनोवैज्ञानिक त्रासका कारण रुघाखोकी लागेका, ज्वरो आएका बिरामी पनि उपचार तथा परामर्शका लागि उनीसँग आए । यसरी उपचार गर्न आएकामध्ये एक जनालाई सम्झन्छन् उनी, ‘ती व्यक्ति कोरोना प्रभावित क्षेत्रबाट आएका पनि थिएनन्, प्रभावित क्षेत्रबाट आएका मानिसको संसर्गमा पनि थिएनन्, घरमै बस्दा रुघा, खोकी लागेपछि कोरोनाको त्रासमा झोला बोकेर अस्पतालमा बस्न आएका थिए ।’

यसरी मनोवैज्ञानिक त्रासमा आउने धेरै बिरामीलाई परामर्श तथा उपचार गरेर घरमा पठाएको समेत उनले सुनाए ।

लकडाउनभन्दा अगाडि चीन र दक्षिण कोरियाबाट नेपाल आएका तर कोरोनाभाइरसको संक्रमणको लक्षण नदेखिएका धेरैजना परामर्श तथा उपचारका लागि अस्पतालमा आएको उनले बताए । उनीहरुको स्वास्थ्य परीक्षण तथा परामर्शमा डा. पुन दैनिकजसो व्यस्त भए ।

हाल भने अस्पतालमा कोरोनाभाइरस संक्रमित तथा आशंका लागेर रोग पहिचान, उपचार र नियन्त्रणका लागि आउनेको भीड छ । दैनिक बिहान ९ बजे अस्पताल पुग्ने डाक्टर पुन बेलुकी ६ बजेसम्म व्यस्त हुन्छन् । विभिन्न रोगको महामारीको बेलामा परामर्श तथा उपचारमा संलग्न हुँदा कति दिनसम्म पानी, खाजा तथा खानासमेत समयमा खान नपाइकन दिनहरु बित्ने गरेको उनको अनुभव छ । अहिले पनि त्यही अवस्थामा उनी काम गरिरहेका हुन्छन् ।

खोज र अध्ययनमा व्यस्त

खोज र अनुसन्धानमा रुची भएकाले उनी क्लिनिकल उपचार तथा रोगहरुको अनुसन्धानमा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म व्यस्त हुन्छन् । जापानबाट सरुवा रोगमा पिएचडीसमेत गरेका उनले विभिन्न रोगको बारेमा अध्ययन एवं खोजमा पनि समय बिताउने गरेका छन् ।

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोनाभाइरस चीनबाट विभिन्न राष्ट्रमा फैलिएर संक्रमणको रुप लिँदादेखि नै डाक्टर पुन कार्यालयको ड्युटीमा सीमित भएनन् । उनी विभिन्न संचारमाध्यममार्फत बोलेर होस् वा लेखेर, जनतामा सचेतना फैलाउन व्यस्त रहे । यसलाई पनि उनी ड्युटी तथा आफ्नो कर्तव्य ठान्छन् ।

कोरोना संक्रमणको विश्वको अवस्था, नियन्त्रण, पहिचान र रोकथामको बारेमा संचारमाध्यममा बोलेर अनि लेखेर सम्बन्धित निकायलाई झक्झक्याउने अनि जनचेनता फैलाउने उनको दैनिकीजस्तै बनेको छ । बिहान ५ बजे उठ्ने उनी अस्पतालमा कोरोना संक्रमित तथा लक्षण देखा परेर आएका बिरामीलाई उपचार तथा परामर्शसँगै विभिन्न माध्यममार्फत कोरोनाकै बारेमा लेख्ने र बोल्ने क्रममै व्यस्त हुन्छन् । राति करिब ९ बजेदेखि दुई बजेसम्म अन्तर्राष्ट्रिय जर्नलमा स्वास्थ्यसम्वन्धी छापिने खोज तथा अनुसन्धानमुलक आर्टिकलहरुमा अध्ययन तथा सल्लाह सुझावमा उनी व्यस्त हुन्छन् ।

उनी भन्छन, ‘अनुसन्धानमा रुची भएकाले कुनै पनि बिरामीको केसलाई गहिराईमा गएर, विस्तृत रुपमा अध्ययन गर्दा रोग पत्ता लगाएर उपचार गर्न सजिलो हुन्छ ।’

रोग लाग्नै नदिनु उत्तम

कोरोनाभाइरस जस्ता सरुवा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हुने डा. पुन बताउँछन् ।  नेपालमा रोग फैलिएपछिमात्र उपचारका लागि चासो दिने प्रचलन भएको भन्दै उनले रोग फैलनुभन्दा अघि नै जनतालाई सचेत गराउन जरुरी रहेको औंल्याए ।

नेपालमा विभिन्न समयमा डेंगु, हैजा, झाडापखाला लगायतका रोगले महामारीको रुप लिदैँ आएको छ । सरुवा रोगलाई महामारी भएर फैलन नदिन सम्वन्धित निकायले ध्यान दिन आवश्यक ठान्छन् उनी । धेरै सरुवा रोगका जीवाणु विकसित तथा परिवर्तन भएर देखापरेको बेलामा सरुवा रोगको बारेमा अझै गहन रुपमा खोज तथा अनुसन्धान आवश्यक पर्ने उनले बताए ।

विदेशमा अध्ययन, अनुसन्धानको क्रममा महत्वपूर्ण अवसर छाडेर नेपाल फर्किएका डा. पुनले टेकु अस्पताललाई सरुवा रोगको खोज तथा अनुसन्धान गर्ने एसिया क्षेत्रको ‘हब’ बनाउने सपना बुनेका छन् ।

सुरुमा तराईमा मात्र व्यापक हुने सरुवा रोग अचेल पहाड तथा हिमालतिर पनि देखा पर्न थालेको र पहाडी क्षेत्रमा मात्र सीमित हुने गरेको सरुवा रोग तराईतिर पनि देखिन थालेको उनी बताउँछन् । वर्तमान समयमा कल्पना गर्नै नसकिएका रोगका लक्षण विश्वमा देखापरेको भन्दै उनले एउटै भाइरसका विभिन्न परिवार निस्किएको बताए ।

परिवारको साथ र सहयोग

हाल कोरोनाभाइरस संक्रमणको पहिचान, नियन्त्रण, रोकथाम र उपचारमा खटिँदा होस् वा अन्य यस्तै सरुवा रोगको महामारीको समयमा आफूलाई परिवारले ठूलो साथ दिएको उनी बताउँछन् । सरुवा रोग सम्वन्धी खोज, अनुसन्धान गर्न, यसबारेमा जनचेनता फैलाउन, उपचारमा समर्पित हुन आमा, बाबा अनि जीवनसंगिनीले सहयोग र हौसला बढाउने गरेको उनले सुनाए ।

अहिले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै बिरामीको उपचारमा खटिन परिवारले सल्लाह दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप