चीनबाट इटलीलाई पूर्वकप्तान फाबियो कानाभारोको पत्र
घरमा रहेका सबैलाई,
अहिले हाम्रो देशमा जे भइरहेको छ त्यसले मलाई चिन्ता र पीडा दिइरहेको छ । हरेक दिन धेरैले जीवन गुमाइरहको यो पीडाको घडीमा इटली कसरी छट्पटाइरहेको छ भनेर अनुभव गर्नु कति त्रासद होला, म वर्णन गर्न सक्दिनँ ।
मेरो हृदयले उनीहरुबारे सोचिरहेको छ, जो प्रभावित छन् र विशेषगरी जसले आफ्नो नजिकका मानिस गुमाइरहेका छन् ।
म स्वास्थकर्मीलाई सलाम गर्न चाहन्छु, जो सम्भव भएसम्म धेरैभन्दा धेरैको जीवन बनाउन खटिरहेका छन् । अहिले देशले खोजिरहेका वास्तविक नायक तपाईंहरु नै हुनुहुन्छ ।
दुर्ग्भाय, वास्तविकता यही हो कि हामीमध्ये कोही पनि सुपरम्यान होइनौँ । कोही पनि यो भाइरसप्रतिरोधी छैनौँ । र, जब यो भाइरस चीनमा फैलिएको थियो, त्यतिबेला मैले सोचेको थिएँ कि इटालीलाई केही हुनछैन । हामीमध्ये धेरैले यस्तै सोचेका थियौँ कि ‘कम्तिमा यसले मलाई असर गर्नेछैन ।’
तर, मैले यसलाई कम आँकेको रहेछु । पहिले त मैले पनि यो केवल फ्लु हो भनेर सोचेको थिएँ । हामी कति गलत रहेछौँ, समयले बताइरहेको छ ।
कम्तिमा हामीले देशलाई शुरुवातमै सटडाउन गरेर मानिसलाई घरमै बस्न निर्देशन दिनुपर्ने थियो । यहाँ चीनमा मैले ग्वान्जाओ इभरग्रान्डेलाई प्रशिक्षण दिइरहेको छु, केही साताअघि म पनि क्वारेन्टाइनमा गएँ । मानिसहरुले यहाँ पहिल्यै सार्ससँग जुधिसकेका थिए, त्यसैले के गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा थियो । इटलीमा हामीले यस्तो संकट यसअघि कहिल्यै भोगेका थिएनौँ ।
तर अहिले हामी यो युद्धको बीचमा छौँ, हामीले मिलेर लड्नुपर्छ र यसको अर्थ हाम्रो उत्कृष्ट स्वरुप बाहिर ल्याउनुपर्छ ।
हामी सबैलाई थाहा छ, इटली सुन्दरको देश हो । हामीसँग उत्कृष्ट समून्द्री किनार र राम्रा दृश्यहरु छन् । हामीसँग धेरैभन्दा धेरै समय बाहिरै बिताउन मिल्ने उत्कृष्ट मौसम छ ।
हामीसँग फेशन छ, उत्कृष्ट खाना छ । इटलीको जीवन यति धेरै राम्रो भएकाले कहिलेकाँही हामी आफ्नै विरासतमा आराम गर्न खोज्छौँ । कहिलेकाँही हामी सबैको भलाई चिताउनुको साटो आफ्नैबारे मात्र ध्यान दिन्छौँ र जब यसो गर्छौ, तब हामी हाम्रो सम्भावनाहरु खेर फालिरहेका हुन्छौँ ।
सौभाग्यवस्, यहाँ त्यस्ता क्षण पनि छन् जब हामी आफ्नो गौरव देखाउने निर्णय गर्छौं । संकटका बेला यस्तो अवसर प्राप्त हुन्छ ।
मैले धेरैपटक यस्तो अनुभव गरेको छु । मेरो दिमागमा आउने उत्कृष्ट उदाहरण इटलीले विश्वकप खेल्दाको हो । जब खेलकुद अहिलेसम्मकै सर्वाधिक कम महत्वपूर्ण बनेको छ, यस्तो समय यी स्मरणबाहिर ल्याउदा सम्भवत अनौठो पनि लाग्ला । तर हामी सबैलाई थाहा छ, इटलीमा फुटबल ‘केवल खेल’भन्दा माथि छ । जब राष्ट्रिय टिमले खेल्छ, सबै यसको हिस्सा बन्छन् । सबै एकजुट हुन्छन् । र, जब इटालियनहरु एकजुट हुन्छन्, हामी राम्रो गर्नसक्छौँ ।
इटलीले १९८२ को विश्वकप जितेको स्मरण अझै मसँग ताजा छ । म त्यतिबेला केवल ८ वर्ष थिएँ र नेपल्सस्थित आफ्नो घरमा बसेर खेल हेर्दै थिएँ । घरमा आफन्त र साथीभाइसहित ठूलो भीड जम्मा थियो ।
मलाई स्मरण छ, जब इटलीले गोल ग-यो, तब हामी सबैले चिच्याएर एकअर्कालाई अँगालो हालेका थियौँ, जबकी हामीमध्ये सबैले सबैलाई चिन्दैन थियौँ ।
जब म २००६ विश्वकपमा राष्ट्रिय टोलीको कप्तान थिए, तब खेलाडीहरुमा मैले यस्तै भावना देखेँ । प्रतियोगिता सुरुभन्दा केही अघिमात्रै क्याल्सियोपोली (खेल मिलेमतो) काण्ड सार्वजनिक भएको थियो, त्यसैले तयारीका लागि जुट्दा हामी अझै शक्तिशाली थियौँ । धेरैले सोचेका थिए यो काण्डले हाम्रो ध्यान भङ्ग गर्नेछ ।
तर, ट्रेनिङ क्याम्पमा हाम्रो मानसिकता सधैँ राम्रो रह्यो र यही नै सफलताको प्रमुख आधार बन्यो । यस्तो, संकटको घडीमा हामीले हाम्रोबारे मात्रै हेरेनौँ, बरु सबैको चासोलाई प्राथमिकता दियौँ ।
हामीसँग मार्सेल्लो लिप्पीजस्ता महान् प्रशिक्षक पनि थिए, जसले टोलीमा एकता र प्रेरणा कायम राखे ।
जर्मनी ओर्लदासम्म हामीले यस काण्डबारे बिर्सिसकेका थियौँ र हामी खेल मैदान उत्रनका लागि प्रतिक्षा गर्न नसक्ने अवस्थामा थियौं ।
मानिसहरु अक्सर सोध्छन्, इटलीले कसरी विश्वकप जित्यो ? हामीले यसकारण जितेका होइनौँ किनकी हामी भाग्यमानी थियौँ । हामीले यसकारण जित्यौँ किनकी हामीसँग उत्कृष्ट टिम थियो र जित्नसक्छौँ भन्ने आत्मविश्वास थियो ।
अहिले हामीलाई देशमा कहिल्यै नतोडिने त्यस्तै एकताको भावना चाहिएको छ । हामीले एकताका केही महान् उदाहरण पहिल्यै देखिसकेका छौँ । ‘आन्द्रा टुट्टा बेने’ (सबै ठिक हुनेछ) – यो सन्देश घरमै कैद भएका, त्रसित, एक्लो र डिप्रेस्ड भएकाहरुको सहयोगका लागि हो ।
मानिसहरु स्वास्थकर्मीलाई तालीले स्वागत गर्न घरको बार्दलीमा आएका छन् । छिमेकीहरु मिलेर गीत गाउँदैछन् । हामीलाई यस्तै खाले एकता चाहिएको हो ।
जब संकट सकिनेछ । इटली फरक हुनेछ । धेरैले जागिर गुमाएका हुनसक्लान् । कसैको व्यापार डुबेको हुनसक्छ । त्यहाँ भयावह रुपमा कठिन काम गर्नुपर्ने हुनसक्छ ।
हामी आशा गर्नसक्छौँ कि यथाशक्य चाडोँ भ्याक्सिन उपलब्ध हुनेछ, जसले यो अन्धारलाई समाप्त गर्नेछ । त्यतिबेलासम्म हामी धैर्य रहनुपर्छ । त्यसैले घरभित्रै बसौँ र परिवारसँग समय बिताऔँ र सकेसम्म कमभन्दा कम व्यक्तिसँग मात्रै सम्पर्कमा आउने प्रयास गरौं ।
र, सबैको भलाईका लागि हामीले जे गर्नसक्छौं, त्यस्तो गर्ने प्रयास गरौँ ।
व्यक्तिगत सवालमा मैले २००६ को विश्वविजेता टोलीसँगै मिलेर रकम संकलन गर्न सुरु गरेको छु । यो रकम इटालियन रेड क्रसलाई जानेछ र अस्पतालमा भाइरसलाई परास्त गर्नका लागि आवश्यक सामाग्री उपलब्ध गराइनेछ । मलाई आशा छ, सहायताका लागि तपाईंले मसँग हातेमालो गर्नुहुनेछ ।
यदी सक्नुहुन्न भने तपाईंले छिमेकीका लागि गर्ने सामान्य सहयोगले पनि लामो बाटो तय गर्नसक्छ । हामी सबैले बुझ्नुपर्छ कि यो युद्ध सामुहिक हो र हामी सबै जोडिनु आवश्यक छ ।
यो साँचो हो कि हामीमध्ये कोही पनि सुपरम्यान होइनौँ । तर, एकजुट भयौँ भने हामीले जे कुरा पनि हासिल गर्नसक्छौँ ।
मेरा दाजुभाई तथा दिदीबहिनी, बलियो रहनुस् ।
तपाईंहरुकै
फाबियो कानाभारो
प्लेयर ट्रिब्यूनबाट अन्वेषण अधिकारीद्वारा अनुवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान