शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको उम्मेदवारी त्याग्नुअघि ओबामासँग छलफलमा थिए स्यान्डर्स

बिहीबार, २७ चैत २०७६, १९ : ३९
बिहीबार, २७ चैत २०७६

पूर्वराष्ट्रपति बाराक ओबामाले खेलेको गोप्य र सक्रिय भूमिकापछि बुधबार भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले राष्ट्रपतिको उम्मेदवारी दौड त्यागेका छन्, यससँगै राष्ट्रपतिका लागि डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धा समाप्त भएको छ । 

‘आफ्नो चुनावी अभियानमा दृढ देखिएका स्यान्डर्स र ओबामाबीच धेरैपटक छलफल भएको थियो,’ छलफलबारे जानकार स्रोतले सीएनएनलाई भनेको छ ।  बुधबार स्यान्डर्सले निर्वाचन नलड्ने निर्णय लिएसँगै जो बाइडेन डेमोक्रेट्रिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने ढोका खुलेको छ, बाइडेन ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए  ।

बाइडेनको चुनावी अभियानमा अब ओबामाले औपचारिक सहयोग गर्नेछन् र उनी आक्रामक रुपमा प्रस्तुत हुनेछन्, त्यसपछि डेमोक्रेट्रिक पार्टीको चुनावी अभियान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने दिशातर्फ नयाँ चरणमा पुग्नेछ ।

यसअघि ओबामाले परम्पराअनुसार आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको समर्थन वा विरोध नगर्ने, तर उम्मेदवार तय भइसकेपछि समर्थनमा उत्रने वाचा पनि गरेका थिए ।

स्यान्डर्सले चुनावी दौड छाडेसँगै पूर्व राष्ट्रपति आफ्नो कार्यकालका उपराष्ट्रपतिको समर्थनमा उत्रने तय नै छ, यसलाई ट्रम्पले पनि बुझेका छन् । ‘उनी आउनेछन् । मलाई थाहा छ कुनै विन्दुमा उनी आउनेछन्,’ ट्रम्पले ओबामाबारे भनेका छन्,‘किनकी उनी मलाई थप चार वर्ष राष्ट्रपति भएको हेर्न चाहदैंनन् । हामी दुबै केही फरक तरिकाले सोच्छौँ ।’

यसअघि २०१६ मा पनि ओबामा हिलारीको पक्षमा खुलेर देखिएका थिए । यसपटक आन्तरिक प्रतिस्पर्धाका दौरान ओबामा चुप बसे, आन्तरिक चुनाव हुनअघि उनी केही अवसरमा मात्रै बोलेका थिए । तर उनले बहसलाई नजिकबाट नियालिरहोक थिए र उम्मेदवारसँग नियमित संवादमा थिए । उनीहरुको दाबेदारीभन्दा पहिले र पछि पनि । ‘उनको निजी सल्लाहले अन्तिम लक्ष्यमै केन्द्रीत हुनुपर्ने भन्छ – नोभेम्बरमा ह्वाइट हाउस जित्ने,’ ओबामा निकटको स्रोतले सीएनएनसँग भनेको छ ।

स्रोतका अनुसार डेमोक्रयाट्स उम्मेदवारहरुको आंकाक्षा र क्षमता देखेर ओबामा प्रभावित थिए – झन्डै दुई दर्जन उम्मेदवार आन्तरिक प्रतिस्पर्धामा थिए । ‘तर पूर्व राष्ट्रपतिले उनीहरुसँग दिमागमा मुख्य कुरा राखिराख्नुपर्ने तर्क गरेका थिए । एकपटक आधिकारीक उम्मेदवार पाएपछि हामी पार्टीका रुपमा एक ढिक्का हुनुपर्छ ।’

ओबामा र स्यान्डर्सबीच कस्तो कुराकानी भयो भन्ने विषय गोप्य नै छ । तर स्रोतका अनुसार ‘त्याग गरेर जित्नु सधैं ठूलो हुन्छ’ भन्नेमा दुबै सहमत देखिएका छन् ।

हिलारी क्लिन्टनले भने स्यान्डर्सको अभियान समाप्त भएकोबारे कुनै टिप्पणी गर्न नचाहेको उनका प्रवक्ताले सीएनएनलाई बताएका छन् । यी दुईबीचको सम्बन्ध राम्रो छैन । क्लिन्टन र उनका धेरै सहयोगीले २०१६ मा स्यान्डर्सले ढिलामात्रै चुनावी दौड त्यागेकाले आफू परास्त हुनुपरेको बुझेका छन् । पूर्व विदेशमन्त्री क्लिन्टनले जुनमा क्यार्लिफोनियाको आन्तरिक प्रतिस्पर्धा लड्ने स्यान्डर्सको निर्णयले तत्कालीन समय चुनावमा असर गरेको बताएकी छिन् । ‘उनले मलाई पीडा दिए, त्यसमा कुनै दुविधा छैन,’ डिसेम्बर २०१९ मा होवार्ड स्ट्रिनसँगको अन्तवार्तामा क्लिन्टनले भनेकी थिइन्, ‘मलाई आशा छ, जोसुकै निर्वाचित भएपनि उनले यस्तो फेरि गर्ने छैनन । एकैपटक काफी छ ।’

यसपटक आन्तरिक प्रतिस्पर्धाका क्रममा कमैमात्र बोलेका ओबामाले उम्मेदवारको क्षमताबारे चिन्ता बन्द गर्न मतदातालाई आग्रह गरेका थिए । ‘मतदाताले उम्मेदवारलाई सम्झाउनुपर्ने विषय नै नोभेम्बरमा ट्रम्पविरुद्ध महत्त्वपूर्ण जित हासिल हुनसक्छ भन्ने हो,’ उनले भनेका थिए ।

ओबामाले २००८ को चुनावमा क्लिन्टन र आफूबीच कडा प्रतिस्पर्धा भएको स्मरण गर्दै आन्तरिक प्रतिस्पर्धाबारे धेरै चिन्ता नलिन पनि आग्रह गरेका थिए । ‘मलाई आशा छ यो प्रक्रियाको अन्त्यमा हामीसँग परीक्षा भएका उम्मेदवार हुनेछन्,’ उनले भनेका थिए,‘ र हामी डेमोक्रेट्रिकको ब्यानर गर्वसाथ बोक्नेछौँ र यसै ब्यानर वरपर एकीकृत हुनेछौं ।’

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप