बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिजिज डिस्ट्यान्सिङ– जातभातको भाइरस मार्न ‘कोरोना संकट’को प्रयोग

‘दलित ब्राम्हण, मुस्लिम वा ईसाई, कोरोनाभाइरसले मतलब राख्दैन, यसले शाकाहारी र मांसाहारी पनि हेर्दैन’
बिहीबार, २७ चैत २०७६, १२ : २३
बिहीबार, २७ चैत २०७६

कान्चा इलैया

कोरोना भाइरसले ‘मानवताविरुद्ध’ छडेको युद्धमा संसार कैद छ र सुरक्षाकवचका रूपमा ‘सामाजिक दूरी’ (सोशल डिस्ट्यान्सिङ) को व्याख्या गरिएको छ । यति नै बेला भारतले सदियौंदेखि चल्दै आएको छुवाछूतको अभ्यास फेरि थाल्ने खतरा देखिएको छ । नरेन्द्र मोदी सरकार र देशका सञ्चारमाध्यमले सुरक्षाकवचका रूपमा ‘सामाजिक दूरी’को सिफारिस बन्द गर्नुपर्छ र यसको साटो ‘रोगसँग दूरी’ (डिजिज डिस्ट्यान्सिङ) मात्रै प्रयोगमा ल्याउनुपर्छ ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू सामाजिक रूपमा अछूत होइनन् । उनीहरूका मुख वा नाकबाट निस्कने तरल पदार्थ (बाछिटा) स्वस्थ मानिसको सम्पर्कमा नपुगोस् भन्नका लागि मात्रै दूरी राखिएको हो । र, एकपटक शरीरबाट भाइरस हराएपछि उनीहरू भाइरसको संक्रमणमा नपरेका मानिसभन्दा पनि बलिया हुन्छन् । तसर्थ, खासमा कोभीड–१९ रोगबाट टाढा रहनुपर्छ, मानिसबाट कदापि होइन । विश्व स्वास्थ संगठनले पनि अहिले यसलाई ‘सामाजिक दूरी’ नभनेर ‘शारीरिक दूरी’ भनेको छ ।


कान्चा इलैया । तस्विर सौजन्य : समता फाउण्डेशन


जातभातको अभियान

तर, ब्राम्हणवाद र जातभात मान्ने केही कट्टरपन्थीहरूले विभेदको बचाउ गर्ने अस्त्रका रूपमा ‘सामाजिक दूरी’को नियम प्रयोग गरेका छन्, उनीहरू जातीय छुवाछूतलाई हजारौं वर्षअघि पत्ता लागेको कोरोनाको उपचार भन्दैछन् ।

तमिलनाडुजस्ता द्रविड जाति र विवेकशीलहरूको प्रभुत्व भएका राज्यहरूमा समेत सामाजिक सञ्जालमार्फत यस्तै हल्ला फैलिएको छ । यो फौजले शाकाहारीहरूलाई कोरोना लाग्दैन, मासु (भेँडा, गोरू, कुखुरा), माछा र अण्डा खानेहरूलाई लाग्छ भनिरहेको छ ।

यस फोहोरी अभियानपछि तेलंगानामा सबै मासु पसल बन्द भए । त्यसपछि मुख्यमन्त्री के. चन्द्रशेखर रावले चिकित्सकहरूसँग सल्लाह लिएर जनतासामु प्रोटिनका लागि पर्याप्त मात्रामा मासु खान आग्रह गरे । किनभने यसले कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण मानिएको मानिसको रोग–प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

यस्तो आग्रहपछिको अर्को बिहान मासु पसलमा ठूलो भीड जम्मा भयो । उनले एकै पत्रकार सम्मेलनमार्फत नकारात्मक अभियानलाई चिरे, अनि खाद्यान्नको मूल्य कम गर्न समेत सहयोग गरे । अहिले तेलंगानामा गरिबहरूले पनि कुखुराको मासु खाँदैछन् ।

भाइरसले हामीलाई के सिकाउँदैछ ?

कोही दलित होस्, ब्राम्हण, मुस्लिम वा ईसाई, कोरोना भाइरसले मतलब राख्दैन । यसले शाकाहारी र मांसाहारी पनि हेर्दैन । सबैलाई प्रभावित पार्छ, तर यसको मृत्युदर कम छ ।

चिनियाँ खानपानलाई मजाक बनाउनेहरूले विज्ञान र औषधीमार्फत् चीनले ठूलो परिमाणमा यो रोगलाई जितेको तथ्य बुझ्नुपर्छ, यस काममा ली विनलियाङजस्ता डाक्टरले यसविरुद्ध उच्च सावधानी अपाउन सहयोग गरेका थिए ।


चिनियाँ खानपानलाई मजाक बनाउनेहरूले विज्ञान र औषधीमार्फत् चीनले ठूलो परिमाणमा यो रोगलाई जितेको तथ्य बुझ्नुपर्छ, यस काममा ली विनलियाङजस्ता डाक्टरले यसविरुद्ध उच्च सावधानी अपाउन सहयोग गरेका थिए ।


संसाभरका धार्मिक संस्थाले आफ्ना ढोका बन्द गरेको वर्तमान समय धर्ममा आस्था राख्ने मानिसहरू डाक्टर, औषधि तथा वैज्ञानिक रूपमा परीक्षण गरिएका रोगप्रतिरोधी क्षमता निर्माण गर्न सघाउने खाद्यान्नमा निर्भर हुनुपर्छ । यस्तो घडीमा ब्राम्हणवादी मिथकहरू तथा मानिस–मासिनबीच छुवाछूत फैलाउँदा भारतमा थप क्षति मात्रै हुन्छ ।

भीमराव अम्बेडरकरले कठिन अनुसन्धानपछि भनेका थिए, गाई–गोरूको मासु खाने बौद्ध समुदायलाई पछि गएर ‘अछूत’ बनाइयो । तर, एक करोड भारतीयको ज्यान लिनेगरी सन् १८९७ मा बुबोनिक प्लेगको महाव्याधि फैलिँदा यिनै अछूत मानिएका दलित नै धेरै बाँचेका थिए । रोग सर्ने डरले तथाकथित माथिल्लो जातले आफ्नै परिवारका सदस्यलाई समेत छुन अस्विकार गरिरहेका बेला मृतकहरूको शव जलाउन वा गाड्नका लागि सधैं काँध थाप्न जाने यी बहुजनले गाई–गोरूको मासु खाएरै रोग प्रतिरोधी क्षमता बलियो बनाएका थिए ।

पछिल्लो राष्ट्रिय सर्वेक्षणअनुसार गाई–गोरूको मासु खाने ७० प्रतिशतभन्दा बढी जनता सूचिकृत जात (सेडुल्ड कास्ट) र सूचिकृत जनजाति (सेडुल्ड ट्राइब) का छन्, बाँकी २१ प्रतिशत अन्य पछिडिएका वर्ग (अदर ब्याकवार्ड क्लास) का छन् भने केवल ७ प्रतिशत मात्रै ‘माथिल्लो जात’का छन् ।


धेरैजसो दलित आफ्नो रोग प्रतिरोधी क्षमताकै कारण बुबोनिक प्लेगबाट बाँचेका थिए, किनभने त्यतिबेला गाउँमा अस्पताल र स्वास्थ्य सेवा थिएन । त्यही अनुभव आज कोरोना भाइरससँग लड्नमा पनि काम लाग्छ । सन् १८९७ मा फैलिएको सन् बुबोनिक प्लेग कोभीड–१९ को महाव्याधिभन्दा खतरनाक छ, तर यो छोटो समयमै संसारभरि फैलिएको छ र विश्वको अर्थतन्त्रका लागि पनि हाँक भएको छ ।


धेरैजसो दलित आफ्नो रोग प्रतिरोधी क्षमताकै कारण बुबोनिक प्लेगबाट बाँचेका थिए, किनभने त्यतिबेला गाउँमा अस्पताल र स्वास्थ्य सेवा थिएन । त्यही अनुभव आज कोरोना भाइरससँग लड्नमा पनि काम लाग्छ । सन् १८९७ मा फैलिएको सन् बुबोनिक प्लेग कोभीड–१९ को महाव्याधिभन्दा खतरनाक छ, तर यो छोटो समयमै संसारभरि फैलिएको छ र विश्वको अर्थतन्त्रका लागि पनि हाँक भएको छ । त्यसैले, मानवताको भलाइका लागि यो भाइरसलाई यथाशक्य चाँडो मार्नुपर्छ ।

महाव्याधिपछिको भारत

कोरोना भाइरसपछिको भारतमा खानपान प्रतिबन्ध र समुदायलाई अलग गर्ने काम अन्त्य हुने आशा छ । किनभने यो महाव्याधिले हामीलाई नयाँ राष्ट्रवादी पाठ पढाउँदैछ– चाहे जेसुकै खाऔं, स्वस्थ खानामार्फत भारतीयको रक्षा– जगेर्ना गरौं र औषधी–उपचार सुधार गरौं । खासमा महाव्याधिपछिको भारतले जातभात र मानिस–मानिसबीचको छुवाछूतको इतिहासलाई पछाडि छाडेर सबै जात, समुदाय, धर्मका पुरुष र महिलाका लागि साझा खाद्यान्न, औषधी र आवासीय स्रोत भएको राष्ट्र बन्नुपर्छ । हामीहरू मानव समानताको अभ्यास गर्दै थप वैज्ञानिक सोच विकास गर्न अघि बढ्नुपर्छ ।

यो भाइरस आणविक युद्धभन्दा धेरै खतरनाक छ भन्ने प्रमाणित भएको छ । भाइरससँग लड्दै गर्दा हामीले उत्पीडनमा परेका जात र समूहसँग थप समभाव तथा सामाजिक ऐक्यबद्धता देखाउनैपर्छ । ‘रोगसँग दूरी’ अल्पकालीन मान्यता होे । र, हामीले हरेक व्यक्तिको मानसिकतामा जातीय छुवाछूत जसरी नै ‘सामाजिक दूरी’को प्रणालीगत अभ्यास पनि गर्नुपर्छ भन्ने सोचाइ घुसायौं भने भारत कहिल्यै विकसित हुनेछैन र भविष्यमा सफलतापूर्वक भाइरस–युद्ध पनि लड्न सक्नेछैन ।


भाइरससँग लड्दै गर्दा हामीले उत्पीडनमा परेका जात र समूहसँग थप समभाव तथा सामाजिक ऐक्यबद्धता देखाउनैपर्छ । ‘रोगसँग दूरी’ अल्पकालीन मान्यता होे । र, हामीले हरेक व्यक्तिको मानसिकतामा जातीय छुवाछूत जसरी नै ‘सामाजिक दूरी’को प्रणालीगत अभ्यास पनि गर्नुपर्छ भन्ने सोचाइ घुसायौं भने भारत कहिल्यै विकसित हुनेछैन र भविष्यमा सफलतापूर्वक भाइरस–युद्ध पनि लड्न सक्नेछैन ।


जलवायु परिवर्तनसँग संघर्षरत रहनु परेको यस अवस्थामा हामीलाई थाहा छैन, भविष्यमा कस्ता कस्ता भाइरसले आक्रमण गर्नेछन् । त्यस्तो अवस्थामा धार्मिक कट्टरताले हामीलाई बचाउन सक्नेछैन, तर विज्ञान भने हरेक समय हाम्रो उद्धारका लागि आउनेछ ।

अहिले यस्तो महाव्याधि चलिरहेको बेलामा समेत भारतीय समाजले अर्काे कट्टरतावादी रोगसँग लड्नुपर्ने अवस्था छ । उदाहरणका लागि, डाक्टर र नर्सलाई घरबेटीले भाडाको घर छाड्न दिएको उर्दीले नयाँ स्तरको स्वार्थ झल्काउँछ । उनीहरूले के कुराको बेवास्ता गरेका छन् भने कोभीड–१९ वा अन्य रोगबाट यिनै डाक्टर र नर्सले बचाउँछन् । कुनै पनि सामूहिक सामाजिक जिम्मेवारीको मतलबै नराख्नेगरी मानिस–मानिसबीच छुवाछूत गर्ने र अति नै स्वार्थ–अन्धता बोक्ने कामले भारतलाई थप कमजोर बनाएर मृत्यु र विध्वंशतर्फ धकेल्छ ।

सम्पूर्ण विश्वलाई नराम्ररी हल्लाएको कोरोना भाइरस संकटले विकसित अर्थतन्त्रलाई समेत ध्वस्त पार्दैछ । यही भाइरसको महाव्याधिमाथि एक पटक विजय हासिल भइसकेपछि आफ्नो देश र विश्व भिन्नै हुँदैछन् भनेर भारतका अतिवादी र रुढिवादी जत्थालाई सोच्न बाध्य गराउनैपर्छ । त्यति बेलासम्म दक्षिणपन्थी विचारकहरूका स्वार्थ–अन्धता, युद्धको पक्षपोषण र अति–राष्ट्रवादी व्यवहार घटेर मानव–सम्बन्ध पूर्णतः पुनर्परिभाषित हुनुपर्छ । र, नयाँ परिवेशमा मानिस–मानिसबीचको छुवाछूतको पूर्ण समाप्तिसँगै फराकिलो सोचसहितको खानपान संस्कृति र धर्मनिरपेक्ष अभ्यास नै नयाँ आम संस्कृति हुनुपर्छ ।

हरेक जीवन समान छ, प्रत्येक मानव भगवान्को उपहार हो । आउनुस्, भाइरसविरुद्धको यो लडाइँको जन्माइरहेको नयाँ विश्वबाट हामी सबैले यही पाठ सिकौं ।

( लेखक कान्चा इलैया भारतका प्रतिष्ठित प्राज्ञ, समाज वैज्ञानिक तथा दलित अभियन्ता हुन् । यो लेख भारतीय सञ्चारमाध्यम ‘द प्रिन्टबाट राताेपाटीका लागि अन्वेषण अधिकारीले अनुवाद गरेका हुन्।)

Symbolic Title Photo: https://counterview1.files.wordpress.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप