केन्द्रीय संस्करण
लकडाउन डायरी

सांसद विद्या भट्टराईको ‘लकडाउन’ डायरी : समस्या खोजेरमात्रै हुँदैन, मिलेर समाधान गर्नुपर्छ

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीकै निधनपछि रिक्त सिटमा गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विद्या विजयी भइन् । प्रतिनिधिसभाभित्र छोटो समयमा विद्याले समसामयिक विषयमा सशक्त भूमिका निर्वाह गरेकी छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ गरेको छ । सांसद विद्या भट्टराई लकडाउन घोषणा हुनु एक दिन अघिमात्र गृहजिल्ला कास्कीबाट काठमाडौं पुगेकी थिइन् । हाल काठमाडौंमै रहेकी उनको लकडाउन डायरी यस्तो छ :

लकडाउन सुरु हुनुभन्दा एक दिन अघिमात्रै म काठमाडौं आएकी थिएँ । अहिले काठमाडौंतिरै छु । काठमाडौंबाटै पोखरामा वडाध्यक्ष, पार्टीका साथीहरु, मेयर सा’बलगायत सबै जनप्रतिनिधिहरुसँग सम्पर्क गरेर अपडेट भईरहेकी छु । प्रदेश सांसदहरुसँग पनि सम्पर्क भई रहेको हुन्छ । संघीय सांसदहरुसँग पनि सम्पर्कमा रहेर अपडेट हुने काम भईरहेको छ ।

लकडाउनको समयमा कहाँ के भइरहेको छ भनेर अन्यत्र भएका काम तथा कमी–कमजोरी हेरेर आफ्नो क्षेत्रमा भएका काम, कमी–कमजोरीको मूल्यांकन गरिरहेको हुन्छु । म स्वास्थ्य समितिमा पनि भएको हुनाले यस्तो बेलामा आफूले पनि केही गर्नुपर्छ कि, त्यसका लागि आवश्यक तयारीमा पनि हुन्छु ।

देशव्यापी लकडाउन घोषणा भएकाले बाहिर निस्किने कुरा त भएन । हामीजस्ता जनप्रतिनिधिले लकडाउनलाई पालना गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारलाई सघाउनु पर्छ । त्यहीअनुसार फोन, सामाजिक सञ्जालमार्फत सबैसँग सम्पर्कमा छौं । तर, बाहिरचाहीँ निस्केका छैनौं । किनकि, यो सबैको लागि गरिएको निर्देशन हो । हामीले पनि पालना गर्नुपर्छ भन्ने नै हो । फिल्डमा जानुभन्दा नजानु नै राम्रो हो भनेर हामी बसिरहेका छौं ।

मेरो पहिलाको एउटा अनुसन्धानको काम बाँकी थियो । लकडाउनमा घरमै बसिरहनुपर्दा त्यसलाई सक्न लागेँ । किताब पढ्ने, लेख लेख्ने । सहाना प्रधानकोबारेमा लेख्दिनु भन्नु भएको छ साथीहरुले । त्यो लेख्दै छु । रवीन्द्र स्मृति प्रतिष्ठानबाट स्मृति ग्रन्थ निकाल्ने भनिरहेका छौं । त्यसको कलेक्सन पनि भईरहेको छ । यस्तै–यस्तै काममा व्यस्त छु । घरपरिवारलाई पनि समय दिनु प¥यो । घरपरिवारमा बस्ने, सहयोग गर्ने काम पनि गरिरहेकी छु ।

राहतबारे गुनासो

राहत सहयोगापेक्षीको लिस्ट टोल विकास संस्थामार्फत वडाले लिएको हो । वडाध्यक्षज्यूहरुलाई सोध्दा, हामीले सकेसम्म समेट्ने कोसिस गरेका छौं भन्नुभएको छ । उहाँहरुले यसको मापदण्डअनुसार राहत बाँडिरहेको र कोही छुटेका भए सोचविचार गरेर सम्बोधन गर्छौं, समेट्छौं भनेर भन्नु्भएको छ । सकेसम्म मापदण्डलाई पालना गरेको र कोही पनि छुट्न्ु भएको छैन भनेर साथीहरुले भन्नुभएको थियो । समाचार सुनिसकेपछि मैले सम्पर्क गर्दा कोही छुटेको भए फेरि, गर्छौं भनेर उहाँहरुले भन्नुभएको छ । कार्यान्वयन गर्ने निकाय पनि स्थानीय निकाय नै भयो । हामीले त समन्वयमात्रै गर्ने हो । तपाईंहरु (पत्रकार)ले खोजी गरेजस्तो हामीले पनि खोजी गर्नेमात्र हो ।

हामी संयन्त्रमा कहीँ पनि छैनौं । त्यसमाथि जो जहाँ छ, त्यहीँ बस्ने भन्ने नियम लागू भयो नि त । यसले गर्दा पनि सम्बन्धित ठाउँमा पुग्न सकिएन । त्यसकारण, जसरी सहजीकरण गर्न सकिन्छ, त्यसरी नै गर्ने हो । समस्यामा परेकाहरुलाई समन्वय गर्ने काम गरिरहेकी छु ।

अस्ति भर्खर बिरामी बच्चालाई अस्पतालले भर्ना नलिएको भनेर मिडियामा आयो । थाहा पाई सकेपछि जनस्वास्थ्यका साथीहरुलाई फोन गरेर समन्वय गरियो । स्वास्थ्यसम्बन्धी उपकरणहरु पनि अहिले कम छन् । समन्वय गरेरै त्यसलाई समाधान गर्ने हो ।

लकडाउनपछिको योजना

हामीमात्रै होइन, अब विश्व कता जान्छ ? राष्ट्र कता जान्छ ? भनेर विश्वमै एक खालको अन्यौलको अवस्था छ । त्यसो भनेर हामी त्रसित हुनुभन्दा पनि संक्रमणबाट कसरी बच्ने भनेर नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । आन्तरिक रुपमा संक्रमण भयो, दोस्रो स्टेजमा गयो भन्ने हो भने पनि सामाजिक रुपमा संक्रमित बन्ने अवस्था हामीकहाँ बनिरहेको छैन नि त । अन्यत्र जसरी महामारीको रुप लियो, त्यो महामारीबाट अझै पनि हामी बचिरहेका छौं । महामारीबाट जोगिने पहिलो कुरा भयो ।

यो बेलामा खास मार पर्ने भनेको दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई हो । अर्को, भाडामा बस्ने, जो आफ्नो सम्बन्धित ठाउँमा जान सक्नु भएको छैन । उहाँहरुलाई पनि ठूलो मार परेको छ । अहिलेको समस्याबाट जो जो मारमा पर्नु भएको छ, उहाँहरुलाई राहतको प्याकेज भनेर घोषणा भईसक्यो । स्वास्थ्यकर्मीहरु जसले आफ्नो ज्यान जोखिममा पारेर, पर्वाहै नगरी सेवा दिईरहनु भएको छ । सु्रक्षाकर्मीहरु जो फिल्डमा खटिरहनु भएको छ । तपाईंहरु सञ्चारकर्मी, समाचार संकलन गरिरहनु भएको छ । उनीहरुलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ भनेर पनि हामी लागिरहेका छौं ।

कोरोनाको सन्त्रासबाट मुक्त भई सकेपछि, अब महामारी फैलिन्न भन्ने कुरा सुनिश्चित भईसकेपछि नीतिगत योजनाहरु पनि बन्छन् । नीति तथा कार्यक्रम बनाउने समय पनि आईरहेको छ । यो जटिल अवस्थालाई भोलिको दिनमा कसरी सम्बोधन गरेर जाने ? यो विषयमा छलफल पनि चलिरहेको छ । त्यसमा हामीले आफ्ना दृष्टिकोण पनि राखेका छौं । यो तेस्रो चरण हो । हामी अहिले दोस्रो चरणमा छौं । पहिलो र दोस्रो चरणलाई सम्बोधन गरेर हामी अघि बढ्नु पर्नेछ ।

पहिलो, महामारीलाई सम्बोधन गर्ने । दोस्रो, महामारीबाट बढी जोखिममा पर्ने समुदायलाई संरक्षण गरेर जाने कुरा । तेस्रो भनेको यो असरबाट हामी कसरी अघि बढ्ने भन्ने हो । त्यसको लागि पनि हामीले तयारी गर्न जरुरी छ । सबैभन्दा पहिलो कुरा यो संक्रमणबाट कसरी बच्ने भन्ने नै हो ।

स्वास्थ्य सामग्रीको अवस्था

हामीले जानकारी लिँदा स्वास्थ्य सामग्रीको अभाव छैन नै भन्ने कुरा आईरहेको छ । अपवादमा कतै अभावका कुरा आइरहेका हुन सक्छन्, तर, आमरुपमा समस्या छ भनेर आएको छैन । क्ुनै  केसहरु जस्तै ः:संक्रमितसँग सम्पर्कमा आएकाहरुको त अहिले पनि हामी खोजी नै गरिरहेका छौं । टेस्टका लागि पनि ‘जानुपर्छ है’ भनेर आम रुपमै बुझाउनुपर्ने आवश्यक छन् ।

कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई स्वास्थ्य सेवा पु¥याउनुपर्ने पनि महत्वपूर्ण पाटो हो । अरु, बिरामी जो हुनुहुन्छ, उहाँहरुलाई पनि जाँच गर्नुपर्ने अवस्था छ । ओपिडी त खुला छैन, इमर्जेन्सीमा जाने बिरामीहरु, उपचार खोज्दै जानेहरुलाई त उपचार गर्नु प¥यो । यो चाहीँ अलि अपर्याप्तजस्तो देखिएको छ । हामीले के मान्नु प¥यो भने सीमित स्रोत र साधनलाई हामीले प्रयोगमा लिएर आएका छौं । सीमित स्रोत र साधनले सबै कुरा पु¥याउनु पर्ने छ । यो समस्यालाई समस्याको रुपमा उठान गर्नुभन्दा पनि समस्या के हो पहिचान गरेर समाधानको लागि हामी सबैले भूमिका खेल्नु पर्ने देखिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.