शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीबाट कोरोना फैलिने त्रास

बुधबार, २६ चैत २०७६, २२ : ५५
बुधबार, २६ चैत २०७६

– चन्द्रकला भण्डारी

झापा । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् ।    हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् । उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर  नेपाल आएका हुन् । भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टाइन बसिरहेका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले मङ्गलवार एकै दिन ११४ वटा मालवाहक गाडी भित्रिएको स्वीकार गरे । आयातित ट्रकहरुले सामानको कागजपत्र भन्सारमा नबुझाइसकेको हुँदा के सामान बोकेको र कहाँ लैजाने भन्ने थाहा हुन बाँकी भएको भन्सार प्रमुखको भनाइ छ ।मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलाले कोरोनाको उच्च जोखिमका बेला भारतीय गाडी भित्रयाउनु चिन्ताजनक विषय भएको बताउँदै यसरी  मालसामान र गाडी भित्राउने कार्य रोकिनुपर्ने माग गरे । उनले भित्रिसकेका गाडीलाई भन्सारभित्रै लक गरेर राख्न र त्यसका चालक दललाई १४ दिनसम्म क्वारेन्टाइनमा पठाउन माग गरेका छन् ।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा आपत्ति व्यक्त गरेका छन् । उनले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताए । दुई दिन अघि मेचीनगर–१५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीेले बाध्य भएर सुरक्षासहित फर्काएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताए । ‘भन्सारबाट आयात निर्यात रोक्ने कुनै निर्देशन आएको छैन,’ उनी भन्छन् –‘कोलकाता बन्दरगाहमा एक महिनादेखि रोकिएका धेरैजसो सामान अहिले धमाधम आउन थालेका छन्, भारत र नेपाल कसैले पनि भन्सारमा सामान रोक्न मिल्दैन ।’

तर भारतबाट आएका गाडीहरुलाई आउनासाथ निसङ्क्रमणका लागि कोरोना भाइरसविरुद्धको स्प्रे गरिने र चालक दललाई ज्वरो नापिने गरेको उनले जानकारी दिए । गाडीहरु चाहिँ अत्यावश्यक सामान रहेछ भने गन्तब्यसम्म जान दिइएको उनले बताए । चालक दललाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने विषयमा प्रशासनसँग छलफल भइरहेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप