बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तुर्कमेनिस्तानलाई किन कोरोनाले छुन सकेन ?

बुधबार, २६ चैत २०७६, १७ : ३५
बुधबार, २६ चैत २०७६

विश्वमान चित्रमा रहेका प्रायः हरेक देशमा कारोनाभाइरसको संकेत गर्दै रातो रंग लागिरहँदा केही देशमा भने कोरोनाभाइरसका एक पनि संक्रमित फेला परेका छैनन् । तीमध्ये एक देश हो, तुर्कमेनिस्तान । दमनकारी राज्यको परिचय बनाएको यस राज्यमा सरकारले वास्तविकतालाई लुकाइरहेको र यसले महामारी रोकथामको प्रयासलाई धरासायी बनाउने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

पूरा विश्व यतिबेला कोरोनाभाइरससँग लडिरहँदा र थप देशहरुले आफ्ना जनतामाथि लकडाउन लागू गरिरहँदा मंगलबार विश्व स्वास्थ्य दिवसको अवसरमा तुर्कमेनिस्तानमा विशाल साइकल र्यालीको आयोजना गरियो । मध्य एसियाली देशले अहिलेसम्म देशमा एक पनि कोरोनाभाइरस संक्रमित फेला नपरेको दाबी गरिरहेको छ । तर, सेन्सरसीपका लागि कूख्यात सरकारले प्रस्तुत गरेको तथ्यांकलाई भरोसा गर्न सकिन्छ ?

‘तुर्कमेनिस्तानको आधिकारिक सरकारी तथ्यांक विश्वसनीय छैन,’ तुर्कमेनिस्तानको स्वास्थ्य सेवाको अध्ययन गरेका लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन प्राध्यापक मार्टिक म्याकी भन्छन् । ‘पछिल्लो दशकभर उनीहरु आफ्नो देशमा एक जना पनि एचआईभी एड्स संक्रमित नभएको दाबी गरेका थिए, जुन पत्याउनै सकिन्न । हामीलाई थाहा छ सन् २००० ताका उनीहरुले प्लेगलगायत विभिन्न महामारीको सूचना पनि लुकाएका थिए,’ उनी भन्छन् ।

तुर्कमेनिस्तानका धेरै जनता देशमा कोभिड १९ भित्रिसकेको भनेर बताउन पनि डराउँछन् । ‘त्यहाँको सरकारी एजेन्सीमा काम गर्ने मेरा मित्र भन्छन् – मैले यहाँ भाइरस आइसक्यो या यसको बारे सुने भनेर पनि भन्न हुँदैन नत्र म ठूलो समस्यामा पर्छु,’ राजधानी अस्गाबातका एक वासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा भने । 

उता, तुर्कमेन अधिकारीहरु भने सम्भावित महामारी रोक्न काम गरिरहेका छन् । देशमा रहेका संयुक्त राष्ट्र संघका एजेन्सीसँग एक्सन प्लानबारे छलफल गरिरहेका छन् । संयुक्त राष्ट्र संघका कोओर्डिनेटर एलिना पानोभाले उक्त योजनामा राष्ट्र स्तरको संयोजन, जोखिमको सूचना आदनप्रदान, प्रयोगशाला आदि रहेका छन् ।

देशमा कोभि १९ का कुनै पनि बिरामी फेला नपरेको सरकारी तथ्यांकलाई संयुक्त राष्ट्र संघले पत्याउँछ भन्ने प्रश्नमा भने पानोभाले त्यसबारे स्पष्ट उत्तर दिइनन् । ‘हामीले सरकारी तथ्यांकमा नै भर परिरहेका छौँ किनभने अन्य देशमा पनि त्यही भइरहेको छ,’ उनले भनिन्, ‘यहाँ विश्वासभन्दा पनि काम गर्ने तरिका नै त्यही हो ।’ पानोभानले सुरुवातमै यात्रा गरिएको कडाइले यस्तो भएको हुनसक्ने अनुमान गरिन् ।

तुर्कमेनिस्तानले एक महिना अघि नै आफ्ना अधिकांश जमिनी सीमा बन्द गरेको थियो । फेब्रुअरीको सुरुवातमा नै चीनलगायत केही देशमा उडान बन्द गरेको थियो भने अन्तर्राष्ट्रिय उडानहरुलाई राजधानीबाट र्तुकमेनबातमा डाइभर्ट गरेको थियो जहाँ क्वारेन्टाइन जोन निर्माण गरिएको थियो ।

यद्यपि, स्थानीयका अनुसार धेरैले घुस दिएर दुई हप्ते क्वारेन्टाइन पूरा नगरी त्यहाँबाट निस्किन सफल भएका थिए ।

पानोभानले देशमा भित्रिने र संक्रमणको लक्षण देखिएका सबैको कोभिड १९ को परीक्षण भइरहेको बताए पनि हालसम्म कति जनाको परीक्षण भएको र तुर्कमेनिस्तानसँग कति परीक्षण कीट रहेको भन्ने उत्तर दिन सकिनन् । ‘सरकारी अधिकारीसँग कुरा गर्दा उनीहरुले पर्याप्त परीक्षण कीट रहेको बताएका छन्,’ उनले भनिन् ।

त्यहाँको स्वास्थ्य व्यवस्था महामारीसँग जुध्न कति तयार छ भन्ने प्रश्नमा पानोभानले भनिन्, ‘हामीलाई थाहा छैन तर हामीलाई केही हदसम्मको तयारी गरिएको जानकारी दिइएको छ र हामीले त्यसमा शंका गरेका छैनौँ । यहाँे अस्पतालमा उपकरणहरु राम्रा छन् ।’

‘यद्यपि, महामारी फैलिएको खण्डमा अन्य देशमा जस्तै यहाँको स्वास्थ्य व्यवस्थामा पनि ठूलो दबाब पर्नेछ । जति तयारी गरे पनि त्यो पर्याप्त देखिएको छैन । त्यही भएर हामीले सरकारी अधिकारीसँग् भेन्टिलेटरलगायत अन्य उपकरण खरिद गर्ने बारेमा कुरा गरेका छौँ,’ पानोभाले भनिन् ।

जनता पनि भाइरसको सम्भावित महामारीबारे सचेत छन् । दुई शहरबीचको यात्रामा प्रतिबन्ध गरिएको छ भने अस्गाबातमा प्रवेश गर्नका लागि डाक्टरको नोट चाहिन्छ ।

भाइरसको संक्रमण फैलिन नदिन बजार र अफिसहरुमा युजार्लिक नामक वनस्पतिको धुँवा छरिने गरिएको छ । राष्ट्रपति गुर्बान्गुली बर्डीमुखामेडोभले उक्त उपाय सुझाए पनि त्यो कति प्रभावकारी छ भन्ने कुनै प्रमाण भेटिएको छैन ।

तर, विश्वका अन्य देशभन्दा भिन्न तुर्कमेनिस्तानको दिनचर्या सामान्य रुपमा नै चल्छ । क्यापे र रेस्टुरेन्टहरु खुल्ला छन् । मानिसहरु विवाह समारोहमा सहगभाी भइरहेका छन् । कसैले पनि मास्क लगाउँदैनन् र ठूलो जनसहभागिता हुने कार्यक्रमलाई निर्वाध सञ्चालन गर्न दिइएको छ । मानौ, देशलाई कोरोनाभाइरसको महामारीको त्रास नै छैन ।

बर्डीमुखामेडोभले आफ्नो राष्ट्रपतिको कार्यकाललाई खुसीको युग भनेर दाबी गर्दै आइरहेका छन् । तर, कोरोनाभाइरसको महामारीले उनको सन्देशलाई चुनौति दिनसक्छ । त्यही भएर सरकारले महामारीको तथ्यांकलाई लुकाउन खोजेको हुनसक्छ । यसबारेमा प्राध्यापक म्याकी निकै चिन्तित छन् । ‘हामीले चीनबाट विश्वभर यो कसरी फैलियो भन्ने देखिरहेका छौँ,’ उनले भने, ‘कुनै देशले यसको महामारीलाई नियन्त्रणमा लिन सके पनि यसलाई नियन्त्रण गर्न नसकेका देशबाट पुनः फैलन सक्ने सम्भवना रहन्छ । यसका लागि तुर्कमेनिस्तान अर्को उदाहरण बन्न सक्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप