बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेना र सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित बिरामी राख्नका लागि तयार

बुधबार, २६ चैत २०७६, १७ : ३०
बुधबार, २६ चैत २०७६

काठमाडौं । सरकारले नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित विरामी राख्नका लागि तयार भएको बताएको छ ।  सरकारले दुबै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ वटा सघन उपचार कक्ष (आएसीयु बेड) पूर्ण तयारी अवस्थामा रहेको बताएको हो । मंगलबार दुबै अस्पतालमा अनुगमन गरी सम्पूर्ण तयारी पुरा भएकाले जुनसुकै बेला पनि बिरामी राख्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको नमुना संकलन गरिएका ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको बताए । बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएका छन् । उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यकाबाहिर ४ सय १ जनामा परीक्षण गरिएको उनले बताए ।

मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जना उपचाररत रहेका छन् । उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ । 

सरकारले परीक्षणको दायरा बढाएको छ । कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्यापिड किट र स्वावको नमुना संकलन गरिएको छ । अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको प्रवक्ता डा. देवकोटाले बताए । दिपायलमा बुधबार ३ सयभन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ । उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन् । ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप