बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

बुधबार, २६ चैत २०७६, १६ : ३२
बुधबार, २६ चैत २०७६

–नरेश केसी
लुम्बिनी। भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु नेपाल भित्रिएपछि अहिले पनि मानिसको भीड एकाएक जम्मा हुन्छ र तरकारीको किनबेच हुने गर्छ ।  

घरको ढोकाढोकामा तरकारी व्यापारी आएपछि अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले घरभित्रै बसेकाहरु हतार हतार बाहिर निस्किन्छन् र चाहिए जति तरकारी किन्ने गर्दछन् । सीमावर्ती सहर भैरहवा, बुटवल, लुम्बिनी, देवदह, मुर्गिया क्षेत्रमा तारन्तर टोल नै थर्काउने गरी साइकलको पछाडि र अगाडिसमेत सकी नसकी तरकारीको भारी बोकेका भारतीय व्यापारीहरु एकाबिहानै घरघरमा पुगेको देखिन्छ । अहिले पनि लकडाउनको कारण घरभित्रै बसेकाहरुलाई बिहानै उनीहरुको आवाजले ब्युँझाउने गरेको छ । 

मानिसहरुले घरघरमै तरकारी किन्ने सुविधा त पाएका छन् तर त्योसँगै कोरोना भाइरसको सङ्क्रमणको खतरा छ कि छैन भन्ने कुरा पनि उनीहरुको दिमागमा खेलिरहेकै हुन्छ । भारतीय बजारबाट आउने सो तरकारीमा कोरोना भाइरसको खतरा होला भन्ने त उनीहरुलाई छ तर पनि उनीहरु सस्तोका लागि भारतीय तरकारी खाने गरेका छन् । विगत लामो समयदेखि बानी परेका उनीहरुलाई अहिलेको त्रासले भने त्यति छोएजस्तै देखिन्न । कतिपयलाई भने तरकारीमा यस्तो सङ्क्रमण आउँछ भन्ने थाहा नपाएर पनि उनीहरुले विगतको जस्तै भारतीयसँग तरकारी लिने कामलाई निरन्तरता दिएका छन् ।   

तर यस क्षेत्रका नागरिक अगुवाहरु भने भारतीयसँग तरकारी किनिएकोमा चिन्तित भएका छन् । गत शनिबार नेपाल–भारत सीमावर्ती शहर भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित कोल्हुई पुलिन्दापुरमा छ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि यतिबेला भारतसँग सीमा जोडिएको नेपाली भूभागका नागरिक अगुवाहरु चिन्तित बनेका हुन् । उनीहरु अन्य सामान्य अवस्था जस्तो यतिबेलाको अवस्था नभएकाले सबै जनता सचेत हुनुपर्ने बताउछन् । 

नागरिक समाजका अगुवा विजय सागरले सीमावर्ती भारतीय क्षेत्रबाट दैनिक रुपमा उज्यालो नहुँदै नेपाल भित्रिने तरकारीका साइकल, मोटरसाइकलले कोरोनाको सङ्क्रमण पनि सँगसँगै भित्राउन सक्ने खतरा सिर्जना गरेको बताउँछन् । 

नागरिक अगुवाहरुको संस्था विएमजी भैरहवाका संस्थापक अध्यक्ष समेत रहेका सागरले भने– ‘भारतीय तरकारीसँगै कोरोनाको भाइरस आउने धेरै सम्भावना हुन्छ, सिमाना पारीबाट तरकारी ल्याउन पूर्णतया रोक लगाइनुपर्दछ ।’ उनले तत्काल नगरपालिकाले स्थानीय रुपमा बगाह, वसन्तपुर क्षेत्रमो उपलब्ध रहेका तरकारी किसानबाट खरिद गरेर टोलटोलमा विक्रीबितरण गर्नेगरी व्यवस्था गरेमा अहिलेको समस्या टर्ने बताउँछन् । 

सागरले यसका लागि स्थानीय सरकारहरु गम्भीर नभएको आरोप समेत लगाए । उनले भने, ‘सङ्घीय सरकारले निर्णय गरिसक्यो, अब स्थानीय सरकारले प्रहरी प्रशासनको सहकार्यमा तत्काल रोक्नुपर्यो, यसरी लाइन लागेर भारतीयहरु आइरहे भने के हुन्छ हालत ?’

प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले प्रदेश नं ५ मा भारतीय तरकारीमा निर्भर रहनुपर्ने अवस्था नभएको बताए । देवकोटाले भने– ‘हरियो तरकारी हाम्रै किसानले उत्पादन गरेका छन्, त्यही नै पर्याप्त छ ।’ 

उनले सीमापारिबाट आउनेभन्दा ताजा र विषादीरहित तरकारी नेपाली कृषकहरुले नै पर्याप्त मात्रामा दैनिक उत्पादन गरेको बताउँछन् । उनले नेपाली कृषकहरुको उत्पादनले यो बेला मात्र नभएर सधैँ नै पुग्ने बताए । 

प्रदेश नं ५ मा व्यावसायिक तरकारी उत्पादनमा किसानलाई प्रोत्साहित गर्न प्रदेश सरकारले स्मार्ट कृषि कार्यक्रम र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि कार्यक्रमले किसानहरुका समूह बनाएर परियोजना सञ्चालन भइरहेको उनले बताए । 

रुपन्देही र नवलपरासी जिल्ला कार्यक्षेत्र रहेको कृषिज्ञान केन्द्र परासीका प्रमुख राममिलन विश्वकर्माले परासी र रुपन्देहीमा तरकारीको खास क्षेत्र बनाएर तरकारीको व्यवसायिक उत्पादन गरिरहेकाले रुपन्देही तरकारीमा अत्मनिर्भर रहेको बताए । 

उनकाअनुसार रुपन्देहीको गैडहवा वडा नम्बर ६ र ७ तिलोत्तमा नगरको वडा नम्बर १४, लुम्बिनी साँस्कृतिक नगरको भवई, सुनवर्षा, लकडीगढ, रामवापुर, सुन्डी क्षेत्र, मर्चवारको डेहुली, मायादेवी गाउपालिका लोधपुरा क्षेत्रमा पर्याप्त तरकारी उत्पादन हुने गरेकाले जिल्लामा तरकारीका लागि अत्मनिर्भर रहेको छ । 

उक्त तरकारी भैरहवा, बुटवल, लुम्बिनीसम्मको टोल टोलमा बिक्री हुने गर्दछ । भारतबाट ल्याएर तरकारी बेच्नेहरुले सङ्क्रमण फैलाउन सक्ने भन्दै दुईदिन अगाडि तिलोत्तमा नगरपालिकाले भारतीय तरकारी नगर भित्र प्रवेशमा प्रतिबन्ध नै लगाएको छ । रुपन्देहीको मर्चवारको सीमादेखि करिब ७ किलोमिटर दूरीमा रहेको कोल्हुइमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको थाहा पाएपछि स्थानीयवासीले भारतबाट एकाबिहानै नेपाल आउने तरकारीले सङ्क्रमण फैलाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

रुपन्देहीको घोडाहमा प्रदेश सरकारको स्मार्ट कृषि कार्यक्रमअन्तर्गत कृषि कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमका संयोजकसमेत रहेका किसान पिताम्बर खरेलका अनुसार देवदहको घोडाहामा मौसमी र बेमौसमी तरकारीहरु उत्पादन भइरहको छ । उनले उक्त बजारमा फर्सीको मुन्टा, काँक्रा दैनिक रुपमा प्रसस्त मात्रामा बिक्री भइरहेको जानकारी दिए । 

भारतीय कृषक तथा तरकारी व्यापारीहरुले साइकलमा राखेर एकाबिहानै घरघरमा तरकारी पु¥याउने र नेपाली उपभोक्ता माझ भारतीय तरकारीले बजार कब्जा गर्ने गरेको छ ।  

सिद्धार्थनगर नगरपालिका–८ का वडासदस्य उमेश थापा मगरले भारतीय क्षेत्रबाट आउने सबै साइकल यात्रीलाई तत्काल रोक्नुपर्ने बताए । थापामगरले भने, ‘सीमावर्ती भारतीय क्षेत्रबाट साइकलमा बिहान बिहानै तरकारी बोकेर आउने लर्को अझै छुटेको छैन, यस्तै रहिरह्यो भने कोल्हुई (भारत) मा देखिएको कोरोना यहाँ पनि सहजै फैलिने त्रास रहन्छ, त्यसैले अहिलेको यो अवस्थालाई तत्कालै रोकिहाल्नुपर्छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले सशस्त्र प्रहरीको सङ्ख्या बढाएर सीमामा कडाई गरेको बताए । तर खुल्ला सिमानाको कारण ग्रामीण क्षेत्रका नाकाहरुबाट भारतीयहरु तरकारी बेच्न नेपाल आउनेहरुको सङ्ख्या भने अहिले पनि नघटेको जानकारी पनि उनले दिए ।  

यता दसगजाबाट भारततर्फ घर र दसगजाको वारीतिर खेत भएकाहरुलाई प्रहरीले मात्र रोक्न गाह्रो हुने स्थानीय पत्रकार राधेश्याम विश्वकर्माको तर्क छ । पत्रकार विश्वकर्माले भने– ‘भारतबाट लुकिछिपी अवैध रुपमा नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सीमामा बस्ने स्थानीयहरु नै सक्रिय हुनुपर्छ, सीमामा बस्ने सीमारक्षक स्थानीयवासी भारतबाट लुकीछिपी अवैध रुपमा नेपाल प्रवेश गर्नेहरुलाई रोक्ने जिम्मा प्रहरीको मात्र नभई अब सबै नेपालीहरुको पनि हो ।’

सिमावर्ती भारतीय शहर कोल्हुईका छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई स्थानीय निचरौलअन्तर्गत मिठौरा सिएचसीमा बनाइएको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको छ । रुपन्देहीमा आउने अधिकांश तरकारी कोल्हुई क्षेत्रको हो । भारतीय तरकारी रुपन्देहीको मर्चवार क्षेत्रको मर्चवारी गाउपालिका अन्र्तगतको चन्नी, खै्ररा, समरीमाइ गाउपालीकाको ठोठरी नाका र कोटही गाउपालिकाको कदमहवा नाकाबाट दैनिक ३० देखि ३५ वटा साइकलमा तरकरी भित्रिने गरेको छ । यो उनीहरुको धेरै पहिले देखिकै दैनिकी हो । 

रोहिणी गाउपालिका–४ सेमरहवामा १७ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएका अगुवा किसान सञ्जय गुप्ताले रुपन्देही जिल्ला तरकारीमा आत्मनिर्भर बनिसकेको बताए । उनले भने– ‘भारतीय तरकारी रोकिँदा कुनै समस्या हुदैन, झन यतिबेला कोरोनाको महाविपत्ति चलेको बेला त आउनै दिनुहुदैन, यहीँ तरकारी प्रसस्तै उत्पादन भएको छ, हामीले माग अनुसार नै पु¥याउन सकिहाल्छौँ नि ।’ गुप्ताले सरकारले एक गाउँ एक खेती कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा तरकारीको व्यावसायिक उत्पादनमा प्रविधिको सहयोग पनि जरुरी हुँदै गएको बताए । 

भारतीय कृषि उत्पादनमा भन्दा नेपाली उत्पादन स्वास्थ्यका हिसाबले धेरै राम्रो छ भन्ने बारेमा चेतनाको पनि आवश्यकता रहेको देखिन्छ । यस्ता चेतनामूलक कार्यक्रमहरु अहिले मात्र नभएर जुनसुकै समयमा पनि नेपाली उपभोक्ता माझ लैजान सकिए भारतीय कृषि उत्पादनलाई विस्थापित गर्न सकिने उनी बताउँछन् ।

नेपाल भारत सीमावर्ती क्षेत्र मर्चवारमा तरकारी खेती गर्ने किसानहरु बहुसङ्ख्यक रहेका छन् । तर पनि तरकारी भने यहाँ भारततर्फबाटै आउने गर्दछ । उता भारतीय किसानलाई सरकारले अनुदान दिने गरेको र सो अनुदानका कारण पनि उनीहरुको लागत कम हुने गरेको बताइन्छ । यसैकारण उतातर्फ धेरै तरकारी उत्पादन हँुदा नेपाली तरकारी तुलनात्मक रुपमा महँगो पनि हुने गरेको छ । नेपाली उपभोक्ताको गुनासो नेपाली तरकारी महँगो भयो भन्ने छ भने किसानले लागत नै बढी छ भन्ने गर्छन् । नेपालमा नेपाली तरकारीको बजार विस्तारमा यो नै प्रमुख समस्या रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप