बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मी कति सुरक्षित ! जसलाई ‘लकडाउन’ मा पनि फुर्सद छैन

बुधबार, २६ चैत २०७६, १५ : ०६
बुधबार, २६ चैत २०७६

छिमेकी मुलुक चीनबाट करिब तीन महिनाअघि फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्वमै महामारीको रुप लिइसकेको छ । शक्तिशाली मुलुकहरु समेत कोरोनाभाइरसबाट नराम्ररी प्रभावित भएका छन् भने ठूलो संख्यामा मानवीय क्षतिसमेत व्यहोरिरहेका छन् ।

कोरोनाले गर्दा विश्वको अर्थतन्त्र ध्वस्त हुनसक्ने सम्भावना बढेको छ । सबैजसो देशमा कोरोनाको आतंक एकपछि अर्को गर्दै फैलिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन ।

शक्तिशाली र सम्पन्नशाली भनिएका मुलुकहरुले समेत त्यसलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा हाम्रो जस्तो गरिब मुलुकले त्यसलाई थेग्न सक्ने कुरै भएन । यद्यपि संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक प्रयास सरकारले गरिरहेको छ ।

कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि १८ गतेसम्म मुलुकभरमै लकडाउन गर्ने निर्णय गर्यो । संक्रमितहरुको संख्या बढ्न थालेपछि  सरकारले दोस्रो चरणमा चैत २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गर्यो । 

चैत २५ गतेसम्म संक्रमितको संख्या ६ बाट एकैपटक ९ पुग्यो । सर्वसाधारण झनै त्रसित बने । सरकारले फेरि तेस्रो चरणमा वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गर्यो । यतिबेला नेपाल लकडाउनको तेस्रो चरणमा छ । 

चैत १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउनको बेला अत्यावश्यक कामबाहेक कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको यस्तो आग्रहले नछुने सीमित पेशाकर्मीमध्ये सुरक्षाकर्मी पनि एक हो । लकडाउनले लगभग देश नै ठप्प हुँदासमेत सुरक्षाकर्मी अनवरत ड्युटीमा खटिएका छन् । ड्युटीको शैली परिवर्तन भएको छ, तर जिम्मेवारी उस्तै हो– देश र जनताको रक्षा गर्ने ।

यही क्रममा कोरोना संक्रमणबाट आम सर्वसाधारणलाई जोगाउने उद्देश्यले लागू भएको लकडाउन पालनामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

लकडाउन उल्लंघन गर्दै हिँड्नेको संख्या दिनानुदिन बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कले जनाएको छ । बुधबार बिहान ५ देखि ८ बजेसम्मको अवधिमा मात्र २ हजार ३०१ जनालाई प्रहरीले लकडाउन उल्लंघन गरेको अवस्थामा नियन्त्रणमा लिएर २ घण्टापछि छाडेको छ । सोही अवधिमा १ सय २९ वटा सवारी साधन कारबाहीमा परेको छ ।

लकडाउनलाई व्यवस्थित बनाउन राज्यका तीनवटा सुरक्षा निकाय सक्रिय रुपमा लागेका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी फिल्डमै खटिएर लकडाउनको व्यवस्थापन गरिरहेका छन् । 

सामाजिक दूरी नै कोरोना संक्रमणबाट बच्ने र बचाउने सर्वोत्तम उपाय रहेको भए पनि सुरक्षाकर्मीले सामाजिक दूरी पालना गर्न पाएका छैनन् । आम जनतालाई सामाजिक दूरी पालना गराउनका लागि सुरक्षाकर्मी आफ्नो व्यक्तिगत सुरक्षाकोसमेत परवाह नगरी ड्युटीमा खटिएका देखिन्छन् ।

उपत्यकाको चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले लकडाउनको बेला घरबाट बाहिर निस्कनेलाई रोक्दै आफ्नो सीप र अनुभव साटिरहेका छन् । त्यस्तै नेपाली सेनाका सिपाहीहरु पनि लकडाउनको समयमा सडकमा देखिएका छन् । 

पास विना सवारी साधन सञ्चालन गर्नेलाई प्रहरीले सवारी साधनसँगै ‘होल्ड’ गर्ने गरेको छ । अधिकांश सवारी चालकहरु प्रहरीले दुःख दिएको भन्दै गुनासो गरिरहेको पाइन्छ ।

महामारीको रुपमा फैलिएको कोरोनाबाट जोगिन लकडाउन पालना गर्नुपर्छ भनेर खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुले साँच्चै दुःख दिइरहेका हुन् ? ड्युटीमा खटिएका प्रहरीको अनुभव यस्तो छ :–

रामेश्वर उप्रेती, प्रहरी सहायक निरीक्षक (असई)
महानगरीय ट्राफिक प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत छु । पहिलो चरणमा चैत ११ गतेदेखि १८ गतेसम्म सरकारले लकडाउन गर्ने निर्णय गर्यो । संक्रमितहरुको संख्या बढ्न थालेपछि  सरकारले दोस्रो चरणमा चैत २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गर्यो । 

फेरि तेस्रो चरणमा वैशाख ३ गतेसम्मका लागि लकडाउन थप भयो । लकडाउनको दिनदेखि नै आजसम्म यहीँ ठाउँमा ड्युटीमा खटिएको छु । 

लकडाउन उल्लंघन गर्ने केहीलाई रोकेर सम्झाउँदा रिसाउँछन् भने कोही सम्झिएर घर फर्किन्छन् । लकडाउनमा काठमाडौं उपत्यका सुनसान छ । फाट्टफुट्टमात्र मान्छे मर्निङ–इभिनिङ वाक वा दौडका लागि देखिन्छन् । सधैँ व्यस्त रहने सडकमा आक्कलझुक्कल मात्र गाडीहरु देखिन्छ । पसल (खाद्यान्न र औषधिकाबाहेक) बन्द छन् । 

नेपालका केही स्थानमा प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको देखेको छु । तर म तथा मेरो मातहातबाट आजसम्म कसैमाथि बल भने प्रयोग गरेको छैन । 

छिटपुट रूपमा जनता पनि लकडाउन तोडिरहेका छन् । लकडाउन तोड्ने क्रियाकलाप अरु देशमा पनि नहुने होइन, भइरहेका छन् । तर अन्य देशमा प्रहरीले बल प्रयोग गर्दैन । फरक यति हो ।

१०–१५ जनाभन्दा धेरै जम्मा भएका छन् भने तितरबितर हुन भन्छु । अटेर गर्नेलाई कारबाही गर्छु भनेपछि डराउँछन् र तितरबितर हुन्छन् । समग्रमा दिउँसोको समयमा भन्दा बिहान र बेलुकीको समयमा मान्छे बढी बाहिर निस्किएको देख्छु । 

लकडाउनपछि त्यस्तो दुःख चाहिँ छैन । रोगदेखि जो कोही पनि डराउँछन् । राष्ट्रसेवक हौं भन्दैमा रोग नलाग्ने भन्ने हुन्न । दुई मिटरको दुरीमा लकडाउन उल्लंघन गर्ने सर्वसाधारणहरुसँग एकआपसमा नजिक भएर बोल्नु पर्ने बाध्यता छ । 

मणि उप्रेती, प्रहरी जवान
कोरोनाका कारण संसारमा धेरै मान्छे घरभित्रै सीमित हुनुपरेको छ । कोरोनाको कारण कतिले ज्यान गुमाउनुपर्ने हो, अनुमान गर्ने अवस्था छैन । सुनेको छु, कोरोना रोगसँग लड्न आजसम्म कुनै औषधि तयार भएको पनि छैन । त्यसैले कति समयसम्म लम्बिने हो, निश्चित नै छैन ।

तपाईंहरू पनि लकडाउन पूर्ण पालना गरेर यो लडाइँमा सिपाहीको भूमिका निर्वाह गर्नुस् । ‘स्टे होम’ हतियार सक्दो प्रयोग गर्नुस्, मेरो आग्रह छ । 

कोरोनाको कारण लकडाउन भएको दिनदेखि ड्युटीमै खटिएको छु । मेरो कार्यक्षेत्र महानगरीय प्रहरी अपराध महाशाखा ललितपुर हो । रोगदेखि डर लाग्ने भएर होला, आफू सजग भएर सर्वसाधारणहरुलाई पनि सम्झाउने मात्र गरेको छु । 

१०÷१५ जनाको समूह एकै ठाउँमा जम्मा भएको देखेँ भने बिनम्र भएर छुट्टिन आग्रह गर्ने गरेको छु । सडकमा निस्किएका कतिपय सम्झिएर घर फर्किन्छन् । लकडाउन पालना नभएपछि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सुरक्षाकर्मीले काम गर्न सकेन भन्दै आलोचना समेत हुने गरेको पाइएको छ । 

विगतमा लकडाउनको अभ्यास र अनुभव नभएकाले पनि यसको पालनामा समस्या देखिएको हुनसक्छ । लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइँदैन । तर ‘नेपाल बन्द’ जस्तो ठानेर सर्वसाधारण बाहिर निस्किएका होलान् । 

किरण भट्टराई, सशस्त्र प्रहरी जवान
कोरोना संक्रमण फैलन सक्ने जोखिम औंल्याउँदै सरकारका निर्णय कार्यान्वयन गर्ने अधिकार तीनवटै सुरक्षा निकायलाई छ । अटेर गरेको पाइएमा कानुनले दिएको अधिकार आवश्कयताअनुसार प्रयोग गर्न दिएपनि गरेका छैनौं । 

सुरक्षाकर्मीलाई नटेर्ने पनि धेरै छन् । बल प्रयोग गरियो भने आफै नराम्रो भइन्छ । तत्कालै सामाजिक सञ्जालमा भाइरल हुन्छ । त्यसैले पनि लकडाउनको बेला घर बाहिर हिँड्ने व्यक्तिहरुलाई सम्झाइबुझाइ गरेर छाड्ने गरेका छौं । कतिपयले त मान्छन् कतिले त कुरै सुन्दैनन् । 

कोरोना डेडिकेटेड अस्पताल र क्वारेन्टाइनको सुरक्षामा सेनासहितको टोली खटिएको छ । सशस्त्रको फौज ब्याक फोर्सका रूपमा तैनाथ छ । फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसहितको प्रहरी टोली खटिएको छ ।

सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै चोकचोकमा प्रहरी खटाइएका छन् । तर पनि सर्वसाधारणहरु विरोधमै उत्रिएको देख्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप