शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामाथि विजय: दिदी–बहिनीकै परिवारका सातजना संक्रमित, हाल सबै संक्रमण मुक्त

बुधबार, २६ चैत २०७६, १२ : ४२
बुधबार, २६ चैत २०७६

पुणे । कोरोनाभाइरसको संक्रमणले विश्व नै आतंकित छ । यस्तो अवस्थामा कोरोना संक्रमण पुष्टि भएमा जो कोही पनि भयभित हुन्छ नै ।  यद्यपि, भारतको पुणेमा दुई दिदीबहिनी र उनीहरुका परिवारले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेका छन् । उनीहरुको दुई परिवारमा सात जना कोरोनाभाइरस संक्रमित थिए ।

हाल सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको बताइन्छ । उनीहरु सबैले कोरोनालाई परास्त गरेका हुन् । ४१ वर्षीया सारिका (नाम परिवर्तन) ले प्रारम्भिक ५–६ दिनसम्म फेमिली डाक्टरसँग उपचार गराएपछि पनि सञ्चो नभएकाले भारती अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् ।

उनकी दिदी सीमा (नाम परिवर्तन) सोही अस्पतालकी नर्स हुन् । उनले नै बहिनी सारिकाको हेरचाहसमेत गरेकी थिइन् । त्यतिबेलासम्म सारिकामा कोरोना संक्रमण पुष्टि भइसकेको थिएन । चार दिनपछि जब उनको रिपोर्ट आयो, उनी कोरोना संक्रमित रहेको पुष्टि भयो । पछि उनका पति, छोराका साथसाथै सीमा, उनको पति र छोरीमा समेत संक्रमण पाइयो ।

सारिका भेन्टिलेटरमा थिइन् । पूरा परिवार कोरोना संक्रमणका कारण त्रसित थियो । तर सीमाले हौसला कायम राख्दै आफू र पूरा परिवारको रेखदेख गरिन् । उनी भन्छिन्, ‘हामी दिदीबहिनीकै पति र बच्चाहरुको रिपोर्ट पनि पोजेटिभ आयो भन्ने थाहा भएपछि सुरुमा त डर लाग्यो । तर यसरी काम चल्दैन भन्ने लाग्यो । कोरोनासँग लड्नुबाहेक अरु विकल्प थिएन । डाक्टरले पनि हौसला बढाउनुभयो, यसले आत्मविश्वास जाग्यो र हामी दुवैको परिवारले कोरोनालाई पूर्ण रुपमा पराजित गरिदियौँ ।’

१२ दिनसम्म भेन्टिलेटरमा
सारिकाको अवस्था निकै खराब भएको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । यस्तो अवस्थामा सीमा र उनको परिवारमा समेत कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा रहे । यसक्रममा सारिकालाई भेट्न अस्पतालमा जानेसमेत कोही भएन ।

सारिकालाई भने कोरोना संक्रमण फेला परेको जानकारी समेत दिइएको थिएन । उनीसँग परिवारका सदस्यहरुले भिडियो कलमार्फत कुरा गर्दथे । कुरा गर्दा आफूहरु क्वारेन्टाइनमा रहेको पनि उनीहरुले सारिकालाई बताएका थिएनन् ।

१२ दिनपछि सारिकालाई भेन्टिलेटरबाट निकालियो । अनिमात्र उनले दिदीसहित परिवारका सदस्यहरु बिरामी रहेको र सोही अस्पतालमा उपचाररत रहेको जानकारी पाइन् ।

-दैनिक भास्करबाट
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप