केन्द्रीय संस्करण

कोरोनाभाइरस विरुद्धको अभियानमा एकजुट होऔँ

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0

 कोरोनाभाइरस (कोभिड–१९) विश्व मानव जातिका लागि गम्भीर चुनौतीका नकारात्मक प्राकृतिक सङ्ग्राम बन्यो । २१औँ शताब्दीको हालसम्म आविष्कार भएका विज्ञान प्रविधिहरु यस सङ्क्रमणको अगाडि निरिह जस्तो देखियो । यस सङ्क्रमणविरुद्ध अहिले विश्वजगत अनुत्तरित निवारक न्यूनीकरणको उपाय रोज्न बाध्य भएको छ । यस्को उन्मूलन गर्ने कुनै आधिकारिक औषधि आविष्कार हुन सकेको छैन ।

यो गम्भीर परिस्थितिमा निवारक उपाय विश्वमा चर्चामा भए पनि यसको पूर्ण उन्मूलनका लागि वैज्ञानिकहरु, अनुसन्धानकर्ताहरु अहोरात्र जुटे पनि भरपर्दो उपचार विश्व स्वास्थ्य सङ्गठनले घोषणा गर्न सकेको अवस्था छैन । रोग लाग्नै नदिने निवारक उपाय अपनाउन विश्व जगत बाध्य छ ।

यस्तो भयावहक सङ्क्रमित भाइरसको उत्पत्ति र सङ्क्रमण कसरी भयो ? यो गम्भीर अनुसन्धानको विषयले कुनै समय सार्थकता पाउला तर आज विश्वका मानव जाति यस भाइरसको सङ्क्रमणले जसरी जीवन त्याग्न बाध्य भएको छन्, यसको बारेमा आम मानव जातिमा व्यापक सकारात्मक छलफल र यसबाट बच्ने उपायबारे जनस्तरसम्म पुग्न जरुरी छ । विश्वकै सम्बन्धित राज्य निकाय, चिकित्सक, कलाकार, राजनेता, सञ्चारकर्मी र समाजसेवी जसरी लागिपरेका छन् यो मानव जातिको जीवन रक्षाको लडाइँमा बडो सावधानीपूर्वक लड्न अनिवार्य छ ।  

   विश्वमा धेरै विषयका धेरै विज्ञहरु उपलब्ध छन् । तर यो कोरोना भाइरस (कोभिड–१९) प्रकृतिको उपज हो वा ? प्रकृतिको गलत प्रयोगको उपज हो ? यो विषयमा वैज्ञानिकहरुले पत्ता लगाउलान वा त्यतिकै सेलाएर जाला त्यो भविष्यको विषय हो । तर विश्व मानव जातिको अगाडि यस्तो चुनौती खडा भयो, जसका बारेमा अज्ञानतामै मृत्यु वरण गर्नुपर्ने मानव जातिले सोच्दै नसोचेको विषय आज विश्वसामु देखाप-यो, आगामी दिनहरूमा समग्र विश्वले खप्नुपर्ने थप चुनौतीहरु कस्तो थपिँदै जान्छ । वर्तमानलाई थाहा नहुने रहेछ ।

यस्तो विश्व सङ्क्रमित हुने महामारीको उन्मूलन गर्न विश्व प्रकृति जगत सक्षम छ छैन भन्ने अर्को परीक्षण पनि अब अध्ययनको विषय बन्न पुग्यो । यो विश्व सङ्क्रमित हुने महामारी अबका दिनमा कुनै वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता वा सिङ्गो प्राकृतिक विधाका फरक फरक विषयमा अध्ययन र विशेषज्ञता हासिल गरेका विद्वान विशेषज्ञहरुको काबुको विषय मात्र नभए आम मानव जातिले जान्न र बुझ्न पर्ने विषयको रूपमा यो कोरोना सङ्क्रमण पछिका दिनहरुमा सोच्न बाध्य हुनेछन् । यस्तो सङ्क्रमणविरुद्धको सङ्घर्षमा मानव जाति आफै होमिनुपर्ने जुन बाध्यता देखियो । यसले राज्यव्यवस्था विरुद्ध मात्र हैन, विश्वको आजसम्मको आविष्कारविरुद्ध नै यो सङ्क्रमणले दावा बोलेको छ । कुन देशमा यसको पहिलो सङ्क्रमण भयो ? कुन देशमा यसको प्रकोप बढ्दै छ, यो देश विशेषको विषय बन्न सक्तैन । यो सङ्क्रमण विश्व मानव जाति विरुद्धको सङ्क्रमण हुने माहामारी भएकाले यसको तत्काल रोकथाम र दीर्घकालीन रूपमा उन्मूलनको पक्षमा सबै ढङ्गले जुट्नु बाहेक हाम्रो अगाडि कुनै विकल्पै छैन । यस विषयमा सबै कोणबाट बहस चलाउन जरुरी छ । भौतिक जगतको सन्तुलन र समाजशास्त्री कोणबाट बहस चलाउनु उपयुक्त हुन्छ । 

    मानव जाति वर्तमान विश्वमा प्राणी जगतको उत्कृष्ट सुख, सुविधा वैज्ञानकि आविष्कार उपभोग गर्ने प्राणी हुन । राहुल सांकृत्यायनको भनाइ अनुसार “पृथ्वीमा प्राणीको ३० करोड वर्ष पहिले नै भएको, २० करोड वर्ष पहिला प्राणी जगतका गोहीहरु रहेको उनीहरुको १०० फिट लम्बाइका हड्डीहरु फेला परेको र पृथ्वीका दल दल जमिनहरुमा पातहरु नभएको किलाहरु जस्तै ठूल ठूला रूखहरु हाल वर्तमान अवस्थामा पत्थरको रूपमा पाउँछौँ । सरिसृप समयको अन्तिममा पृथ्वीको जलवायुमा ठूलो परिवर्तन भयो । यसपछि समुद्रका किनारका सुख्खा भूमिहरुमा रुखहरु उम्रिन थाले, जलथल दुवै ठाउँमा बस्न सक्ने प्राणीहरुबाट पुच्छर भएका स्तनधारी जन्तुहरु र चराचुरुङ्गी उत्पन्न हुन थाले । वनस्पतिको विकास हुँदैहुँदै जमिनको भित्री भागबाट पानी सोसेर हरियोपरियो हुने किसिमका रूख पानीको किनारबाट टाडासम्म फैलिँदै जाँदै थिए, भूकम्पबाट समुन्द्रको भित्री भाग माथि उठेर आयो । माटोले भरिएको जमिन पानीबाट टाडा हुँदै गयो । उनै पुच्छर र स्तन भएको प्राणीबाट केही आफ्ना शत्रुबाट बच्नका लागि रूखमा चढ्न कोसिस गर्न थाले सयकडौँ पिँढीको इच्छा र अभ्यासबाट तिनीहरु रूखमा चढ्न सक्ने भए । यस प्रकार रूख चढ्नेमा चलाख बाँदरहरुको सृष्टि भयो ।” (साम्यवाद नै किन ? राहुल सांकृत्यायन, सन् १९३४ पेज ८÷९)
    मानव जातिको पुर्खा बाँदर, वनमान्छे भनिन्छ । पृथ्वीमा मानव जातिको साम्राज्य छ । उनले जे सोच्यो त्यही हुँदै आएको छ । अन्य प्राणीहरु मानिसको अधीनमा छ । पृथ्वीको उत्पत्ति २ अरब वर्ष पहिले भएको भन्नु हुन्छ, विद्वान राहुल सांकृत्यायनले । मानव जातिले पृथ्वी र प्रकृतिविरुद्ध लडेर जेजति उपलब्धि हासिल गर्दै आएको छन् वर्षा, हुरी, बतास, भूकम्प, समुद्री आँधी, तुफान, बाढी, पहिरो, चट्याङ जस्ता दैवी प्रकोपले मानव जातिको सिर्जनालाई एक पलमा नष्ट र कायपलट गरिदिन्छ । मानव जाति पुनः सृष्टितिर लाग्छन् । यो मानव जातिको उत्पत्तिदेखिकै चक्र र शृङ्खला हो ।

पृथ्वी र प्रकृतिले आफ्नो गतिलाई आफै अन्तरविरोध र सन्तुलनको बीचबाट प्राकृतिक विधिलाई निरन्तरता दिइरहन्छ । समस्या र समाधानको उपज स्वयं प्रकृति यसको नियमित गति हो । करोडौँ वर्षदेखि पृथ्वी र प्रकृतिले यो गतिलाई पक्रँदै आएको छ । पक्रँदै जाने छ । तर प्रथम र दोस्रो विश्वयुद्ध पछिका दिनहरुमा मानव जातिले पृथ्वीको प्राकृतिक शक्तिलाई आफ्नो अनुकूल बनाउन प्राकृति वातावरण, जल, जमिन, जडीबुटी, खनिज, जङ्गली जनाबर लगायतका प्राकृतिक स्रोतमा जुन रूपमा हस्तक्षेप गर्दै आएको छ, यसले नदीका स्रोतहरु, तटहरु, जलवायु, वायुमण्डल, मौसम, वातावरण तीव्रगतिले  प्रदूषित हुँदै यसको प्रतिकूल प्रभाव पृथ्वीमा पर्न गई अन्ततः त्यसको शिकार मानव जाति नै पर्ने सुझाव र तथ्याकहरु पनि सार्वजनिक हुँदै आएको छ । यस विषयमा ठूला ठूला गोष्ठी, सेमिनार, सम्मेलनहरु आयोजना भए पनि स्वार्थ समूहहरुले प्रकृतिविरुद्धको अतिक्रमण, दोहन र हस्तक्षेपलाई झन तीव्र बनाउँदै आएका छन् । यसको असर, उपभोग्य सामानहरुमा समेत पर्न गई नयाँ नयाँ रोगव्याधिको उत्पत्ति भएको हामीले समाचारहरु सुन्दै आएका छौँ । 
    दोस्रो युद्धपछिका दिनहरुमा विगतमा मेसिन र औजारको युगलाई क्रमशः परिवर्तन गर्दै रासायनिक युग तथा वर्तमान इलोक्ट्रोनिक युगमा बदलिएको छ । विश्व नै इलेक्ट्रोनिक आविष्कारले बेरिएको अवस्थामा छ । विज्ञान र प्रविधिको चमत्कारले मानव मस्तिष्क र प्रभावमा न्यूनीकरण हुँदै गएको छ । डिजिटल साधन स्रोतले प्रकृतिलाई चुनौती दिइरहेको छ । संसारभरिकै पानीको स्रोत विद्युतमा परिणत भइरहेको छ ।

पृथ्वीमा पुरानतम हातहतियारको होडबाजी, आर्थिक शक्तिहरु र बौद्धिक शक्तिहरु दाजोमा कैयौँ गुणा बढी शक्तिहरु विज्ञान र प्रविधिका प्राधिकारहरुसँग केन्द्रित हुँदै गएको छ । पृथ्वीको भौतिक जगतलाई विज्ञान  प्रविधि आविष्कारको नाममा असन्तुलित अवस्थामा पुगिसकेको छ । मानिसको हिँडडुल गर्ने शक्तिहीन भएको छ, सवारी यातायातको कारणले मानिसहरु हिँडडुल गर्न छाडी सकेका छन् । बेमौसमी, विषाक्त फलफूलहरु, दु्रतगतिको उत्पादनले मानिसहरुको जैविक क्षमतामा गम्भीर चुनौती देखापरेको छ । क्यान्सर लगायतका प्राणघातक रोगको प्रकोप बढ्दो छ । नयाँ नयाँ खालका रोगहरुको देखापर्दै गएको छ । समग्रमा मानव जातिले सुख, सुविधा र विकासको नाममा गरेको प्राकृति दोहनले आज विश्वलाई थप चुनौतीहरु सृजना भएको छ । उपरोक्त कारणहरुले प्रकृति र मानव जातिलाई हामीले अलग गरेर हेर्ने गल्ती मानव जातिबाट भइरहेको छ । पृथ्वी र मानव जाति प्रकृतिकका पृथक रूपहरु मात्र हुन् ।

मानव जाति युगौँदेखिको सङ्घर्षबाट उनले अन्य प्राणीमा नभएको सोच्ने, सम्झिने, परिणाम थाहा पाउने, योजना बनाउने र कार्यान्वयन गर्ने चेतना भएकाले अरू प्राणी र पृथ्वीलाई आफ्नो अधीनमा राख्न सकेको हो । तर पृथ्वीको गतिलाई आफ्नो अधीनमा राख्न मानव जाति अद्यपि सामर्थवान छैन । पृथ्वीमा प्राकृतिक सन्तुलन रहेसम्म मात्र मानव जातिको अस्तित्व रहन्छ । अन्यथा पृथ्वीको असुन्तलनसँगै मानव जाति पनि अन्त सुनिश्चित छ । यिनै पृथ्वीको असन्तुलनका कारणले विविध सङ्क्रमणको उत्पत्ति हुन सक्छ, मानव जातिलाई कुनै पनि समयमा चुनौती हुन सक्छ । मानव जातिलाई रक्षा गर्ने प्राकृतिक प्रतिरक्षालाई सन्तुलनमा राख्न वर्तमान विश्वको एउटा नयाँ आवश्यकताको दिशाबोध हुन जरुरी छ । आज विश्वमा कोरोना भाइरसको तत्काल नियन्त्रण र उपचारको अभावमा संसार नै लकडाउनको चपेटामा तडपिनुपर्ने विश्व इतिहासको नकरात्मक अनुभव र बाध्यताको कष्टकर ईतिहास कोरिँदै छ । जुन संसारमै एकै पटक आइपरेको यो सङ्कटले विश्व मानव जाति छट्पटाइरहेको छ । मृत्युदरको तीव्रता र सक्रमणको उचाइले संसारलाई चुनौती दिइरहेको छ । यसविरुद्ध मानव जातिको विश्व एकता साहसका साथ जुरुक्क उठेको छ । 

    कोरोना भाइरस (कोभिड–१९) को उपचार र रोकथाम कसरी गर्न सकिन्छ ? यो वैज्ञानिक, अनुसन्धानकर्ताले कहिलेसम्म पत्ता लगाउँछ, विश्व जगत प्रतिक्षारत छ । तर यसको रोकथाम बारे अहिले विश्व स्वस्थ्य सङ्गठनले जुन उपाय प्रदान गरेको छ, ती उपाय र अन्य मुलुकले यसको रोकथामबारे अवलम्बन गरेको उपायहरुलाई आत्मासात गर्न जरुरी छ । यसको रोकथामका स्थान विशेषका मौलिक उपाय पनि सरकारका सम्बन्धित निकायले खोजबिन गर्न जरुरी छ । फरक फरक मुलुकका सामाजिक उठबस, खानापिन, सरसङ्गत र त्यहाँका जैविक र प्राकृतिक वातावरण फरक फरक हुने भएकाले यस सङ्क्रमणबाट बच्ने अध्ययिक उपायहरु पत्ता लगाउनेतर्फ सक्रिय हुन तहगत स्थानीय, प्रदेश र सङ्घीय सरकारले अल्छी गर्न हँुदैन । यो अवधिमा राजनीतिक दल, नेता, कार्यकर्ता, सामाजिक सङ्घ संस्था र सार्वजनिक जवाफदेहीका सबै निकायहरुले नागरिकको जीवन रक्षाका सबै उपायमा साथ सहयोग गर्न जरुरी छ । यो विश्व सङ्कटको घडीमा राजनीतिक प्रतिशोध र तिकडमबाजीलाई त्याग गर्नै पर्छ, मत मतान्तर, अन्तर्विरोधलाई केही समयको लागि थाँती राखी अरूको जिम्मेवारी भनी पन्छिनेभन्दा आफ्नो जिम्मेवारीलाई आत्मासात गर्न जरुरी छ । दैनिक जीवनयापन, बन्दोबस्तीको व्यवस्थालाई वडास्तरसम्म व्यवस्थित गर्न जरुरी छ । अहिले कुन पार्टीको सरकार छ, कसको मात्र जिम्मेवारी भन्ने छुद्र र छुच्चो शब्दावलीहरु, अभद्र अभिव्यक्तिहरु, राजनीतिक लालछना लगाउने समय होइन । सबै मानव जातिले आफूविरुद्ध आइलागेको मानवनष्ट र सङ्क्रमणविरुद्ध लड्ने संस्कार अवलम्बन गर्न जरुरी छ । हामी वीर नेपाली, सगरमाथाको देश, गौतमबुद्ध, सीता र भृकुटीको जन्म भएका देशका हामी नेपाली सुसंस्कृत र सयौँ फूलहरु फुल्ने देश भनेर चिनाउने बेला यही हो । 

    कोरोना भाइरस (कोभिड–१९) विश्व सङ्कटले हामीलाई जस्तोसुकै कमजोर तुल्याउन खोजे पनि हामीले यो दुःखद् घडीमा हामीले कमजोर ठान्नु हुँदैन । निर्दोष मानव जातिको जिउज्यानमा आघात पुगिरहेको यो घडीमा शोक सन्तप्त परिवारमा शोकलाई शक्तिमा बदल्ने उत्साह जगाउनु हामीहरुको परम कर्तव्य बोध गर्न सक्नु पर्दछ । विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बैनीहरुले उच्चतम सतर्कता अपनाई, कोरोनाविरुद्धको सङ्घर्षमा शाहसका साथ विजय हासिल गर्ने उत्साह मिलोस भन्ने कामना गरौँ । कोरोना भाइरसको सङ्क्रमणले अबको विश्वमा मानव जातिलाई नयाँ पाठ सिकाउने छ । प्रकृतिप्रति मायाँ, अनुशासित, शान्तिप्रिय, सद्भाव र भातृत्वको सुसंस्कृत युगको रूपमा विकास हुने सङ्केत देखा परिरहेको छ । सबैखाले घमण्ड, भेदभाव र थिचोमिचो गर्न चाहने शक्तिलाई पनि चुनौती दिने खालको नकरात्मक कोरोना जस्तो सङ्क्रमणको शक्ति कुनै पनि बेला अर्को रूपमा फेरि पनि पृथ्वीमा देखा पर्न सक्छ भन्ने हेक्का राख्दै सद्भाव र समतामूलक विश्व समाजको सिर्जनातर्फ सबैको ध्यान जाओस्, यिनै मानवीय समाजको निर्माणको लागि कोरोना सङ्क्रमण विरुद्धको अभियानमा एक जुट होआँै, विश्वकै मानव जातिको रक्षा गर्ने आह्वानमा जुटौँ । मानव जातिको सम्मान यसैमा छ ।     
लेखक नेकपा केन्द्रीय सदस्य हुन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.