मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको असर : सुनसान बन्यो बाइसधारा मेला

बुधबार, २६ चैत २०७६, ०८ : ३७
बुधबार, २६ चैत २०७६

बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गरेकोमा यसपटक सुनसान जस्तै छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण मेला सुनसान बनेको हो । 

काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आई बसेको मानिन्छ । हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने दुई हजार १२८ मिटर अग्लो जामाचो हाल लामो पदयात्राका लागि प्रख्यात छ जहाँ अनेक खालका वनस्पति पाइन्छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्थानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । 

नेपाल संवत् ८७५ (विसं १८१२तिर) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको हो । ‘स्वयम्भू पुराण’मा उल्लेख भएअनुसार कुनै समयमा चीनबाट महामञ्जुश्री बोधिसत्व केशिनी र उपकेशिनी देवीसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकाको पानी कसरी निकास गरी पठाउने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्सी बुद्धले कमलका फूल रोपेर ‘ॐ नमोरत्नत्रयाय’ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप