बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा थप कडाई :  उपत्यकामा एकैदिन ५४५ सवारी नियन्त्रणमा

मङ्गलबार, २५ चैत २०७६, १७ : ५२
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । 

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बिहान ६ बजे देखि दिउँसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि क्षेत्रको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।  

उनले भने, ‘आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको छ ।’

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५ हजार १९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने कुरा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस महाशाखालाई पत्राचार गरेको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठले भने, ‘अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिबाट खारेज भएको छ ।’

पास भएकालाई पनि विशेष निगरानी

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप