शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब कोरोना संक्रमित बिरामीको ओसारपसार नेपाल एम्बुलेन्स सेवाले गर्ने, १०२ मा फोन गर्न सकिने

मङ्गलबार, २५ चैत २०७६, १७ : ४९
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं— कोरानाभाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । 

उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकासहितको उपस्थितिमा भएको हो । साझेदारी पश्चात अव कोरोनाभाइरस संक्रमित बिरामीलाई नेपाल एम्बुलेन्स सेवाले सेवा उपलब्ध गराउने छ । एम्बुलेन्स सेवा लिन चाहनेले १०२ टोल फ्री नम्बरमा फोन गरी सेवा लिन सक्नेछन् ।

सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   

यो सम्झौतापश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यका भित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ । जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

नासका अध्यक्ष रञ्जीत आचार्यले भने, ‘विश्वभरि फैलिरहेको कोरानाभाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसै पनि कोभिड १९ को पूर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड १९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवासहितको २४सैं घन्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।’

नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइ सकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् ।

अहिले १० वटा एम्बुलेन्स काठमाडौं उपत्यकालगायत चितवन, बुटवल र पोखरामा  सन्चालन गरिरहेकोमा निकट भविष्यमा संस्थाले देशका.७ वटै प्रदेशमा सेवा संचालन गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप