बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना प्रभावः लकडाउनमा आ–आफ्नै तुनेलो

मङ्गलबार, २५ चैत २०७६, १५ : ०२
मङ्गलबार, २५ चैत २०७६

स्याङ्जा । लकडाउनको म्याद तेस्रो पटक थपिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले अगामी २०७७ बैशाख ३ गते सम्मका लागि म्याद थप गरेको हो । नेपाल सरकारले पहिलो पटक लकडाउन ११ चैतदेखि १८ सम्म घोषण गरेको थियो । दोस्रो पटक १८ चैतदेखि २५ गते सम्म म्याद बढेको थियो । तर, कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः सरकारले लकडाउनलाई निरन्तरता दिइएको हो ।

कोरोना संक्रमणको हल्लासँगै शहरका उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु अनिश्चित कालको लागि बन्द भए । शहर–बजारमा विभिन्न पेशा, व्यवसाय, अध्ययन–अध्यापनमा बसेकाहरुको गाउँ फर्कनेको लर्को बढ्यो । कोरोना हल्ला शहर–बजार देखि गाउँको कुना काप्चासँग पुग्यो । हल्लासँगै त्रास पनि । जति शहर–बजारका मानिसहरु त्रासित भए त्यो भन्दा बढी गाउँको अवस्था त्राही–त्राही बन्यो ।

गाउँघरमा खेतीपाती गर्ने÷भिœयाउने समय छ । मकै छर्ने, हिउँदे धान रोप्ने, गहँु काट्ने, आलु खन्ने लगायतको चटारो छ । सरकारले सामाजिक दूरी कायम राख्न/गर्न निर्देशन दिएको छ । तर, किसानलाई खेतीपाती नगरी खान पुग्दैनन् । खेतीपाती नै उनीहरुको दैनिकी हो । तुनेलो हो । त्रासै–त्रासमा उनीहरु खेतीपातीमा कर्ममा छन् ।

वालिङ नगरपालिका–४ का कृषक याम बहादुर गुरुङलाई मकै छर्ने चटारो छ । उनको ६ हलको मेलो छ । तर, कोरोना संक्रमणको त्रासमा जसोजसो मकै छर्ने मेसो मिलाएका छन्, गुरुङले । उनी भन्छन्, ‘महामारी फैलिए के खाने ? खेतीपातीको विकल्प छैन ।’ तर, गाउँमा अहिले बाँदर आतंकबाट उनी लगायत किसानहरु हैरानी छन् ।

३२ वर्षीय युवा चेतमान गुरुङ पेशाले ड्राइभर हुन् । लकडाउनले उनको गाडी ग्यारेजमा थन्किएको छ । उनी अहिले गाउँमै छन् । मकै छरेर सके उनले । लकडाउनलाई डोको (ढाकर) बुनेर बिताउने भएका छन्, उनले । ५ वटा ढाकर बुनेर सकिएको उनले बताए । घाँस काट्न, दाउरा बोक्न लगायतको कामका लागि डोको प्रयोग गर्छन । ‘फूर्सदको समयलाई खेर किन फाल्नु ! बुनेर राख्यो भने १/२ वर्ष बुन्नु पर्दैन ।’ समयलाई सिर्जनामा बाँध्न सक्नुपर्ने उनको तर्क छ । उनले साँझ बिहान घरधन्दा अनि दिनभरको तुनेलो डोको बुनेर सक्छन् ।

उनले सुन्तला, किवी, कफी पनि लगाएका छन् । यही मेसोमा सून्तला, किवी र कफिको गोडमेल, मलजल गर्ने उनले योजना सुनाए । घरको पुरुषले गर्नुपर्ने सबै दायित्व आफुले नै गर्नुपर्ने भएकाले भरपूर रुपमा समयको सदूपयोग गर्ने उनको लकडाउन तालिक सुनाए ।

गल्याङ नगरपालिका–११ का कृषक रुमलाल कँडेलको तुनेलो घरायसी र खेतीपातीमै बितिरहेका छन् । कँडेलले भर्खरै आलु खनेर थन्काए । मकै छरेर भ्याए । आलुलाई कोल्ड स्टोरमा राख्ने तयारीमा छन्, उनी । फूर्सदमा सामाजिक काममा पनि खटिन्छन्, उनी । जिमुवा शितभण्डार सहकारी संस्थाको पहिलो साधारसभाबाट अध्यक्ष चुनिएका छन् ।

नेपालमा हाल सम्म ९ जनामा कोभिड–१९ (कोरोना) संक्रमित देखा परेका छन् । जसमध्ये एकजना निको भइसकेका छन् । नेपालमा हाल सम्म जम्मा १ हजार ८ सय ९० जनाको कोरोना परीक्षण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन गुरुङ
मोहन गुरुङ
लेखकबाट थप