शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होसमै छन् बेलायतका प्रधानमन्त्री,आवश्यक परे तुरुन्तै भेन्टिलेटरमा राखिने

मङ्गलबार, २५ चैत २०७६, १४ : ३०
मङ्गलबार, २५ चैत २०७६

लन्डन । कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले प्रधानमन्त्री जोन्सनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको जानकारी दिए । 

बेलायतको एलबिसी रेडियोलाई अन्तर्वार्ता दिँदै गभले भने, ‘प्रधामन्त्रीलाई अक्सिजन दिइएको छ । स्वास्थ्य अवस्था विचार गरी आवश्यक भएमा भेन्टिलेटरमा राखिनेछ ।’ विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेमध्ये प्रधानमन्त्री जोन्सन सबैभन्दा उच्चपदस्थ राजनीतिज्ञ हुन् । 

कोरोनाभाइरसको संक्रमण भएदेखि नै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन एकान्तबास (आइसोलेसन) मा बसेका थिए । तर उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । 

प्रधानमन्त्री जोन्सनलाई विगत १० दिनदेखि उच्च ज्वरो र सुक्खा खोकी समेतका कोरोनाभाइरसका लक्षणहरु देखिएका थिए । सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि प्रधानमन्त्री होसमै रहनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री जोन्सनले सरकारका तर्फबाट गर्नुपर्ने कार्यहरु सम्पादन गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिएका छन् । तर विदेशमन्त्री राबले आफूले प्रधानमन्त्रीसँग गत शनिबारदेखि कुराकानी गर्न नपाएको स्पष्ट पारेका छन् । तर उनले ‘सरकारी कामकारबाही यथावत र बिना अवरोध रहनेछन्’ भनेका छन् । विदेशमन्त्री राबले प्रधानमन्त्रीको उपचारमा कुनै कमी नभएको र उपचारमा उत्कृष्ट चिकित्सा टोली संलग्न रहेको बताए । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप