शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा अलपत्र नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्न राष्ट्रिय जनमोर्चाको माग

मङ्गलबार, २५ चैत २०७६, १२ : १२
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीलाई उद्धार गरी नेपालमा ल्याएर क्वारेन्टाइनमा राख्न सरकारसँग माग गरेको छ ।

देशका कतिपय भागमा कामहरू बन्द भएपछि ठुलो संख्यामा मानिसहरू बेखर्ची भई आफ्नो घरमा पुग्न पैदल हिडेका समाचारहरू संचार माध्यमहरूले लगातार बाहिर ल्याइरहेको भन्दै सो पार्टीले त्यस्तो स्थिति पैदा हुन नदिन र सबैतिर राहत वितरण गर्न प्रभावशाली प्रकारले काम गर्न पनि सरकारसमक्ष माग गरेको छ ।

पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सरकारले काम गरेर जीवन निर्वाह गर्नुपर्ने निम्न आय भएका मानिसहरूका लागि राहतवितरण गर्ने घोषणा गरे पनि त्यसको वितरणसमेत न्यायसङ्गत र सन्तोषजनक हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

जिल्लाहरूमा कोरोना भाइरसको रोकथाम वा राहतवितरणमा समेत दलीय आधारमा भेदभाव भइरहेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्तिसमेत जनाएको छ । अहिले देशमा देखापरेको गम्भीर संकटलाई सबै राजनीतिक दलहरू र जनताको व्यापक एकताद्वारा नै सामना गर्न सकिने भन्दै त्यसका लागि सरकारले पहल गर्नुपर्ने आवश्यकता पनि विज्ञप्तिमा औंल्याइएको छ । 

‘त्यही प्रकारले राहतवितरणको कामलाई पनि पालिकाहरूले सबै राजनीतिक दलहरूसित सामन्जस्यता गरी वितरण गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोरोनाभाइरसको कारणले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको कुरा सत्य हो । तर त्यो कारणले जनजीवनमा जुन गम्भीर सङ्कटको स्थिति पैदा भएको छ वा त्यो संकट बढ्दै जाने सम्भावना छ, त्यो अवस्थामा कोरोनाभाइरसको समस्यालाई स्वास्थ्यसम्बन्धी समस्याको रूपमा मात्र नहेरेर जनजीवनसित जोडिएको गम्भीर समस्याको रूपमा पनि हेर्नुपर्ने र त्यसरी कोरोना भाइरसका कारणले जनजीवनमा पैदा भएको समस्यालाई समाधान गर्न ठोस कार्यक्रम बनाएर काम गर्नुपर्ने आवश्यकतामा हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

सूदूरपश्चिममा कोरना भाइरसको उच्च जोखिम देखा परेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ एकातिर ठूलो संख्यामा भारतबाट नेपालीहरू आएका छन् भने अर्कातिर उनीहरूको स्वास्थ्य जाँचको पनि समुचित व्यवस्था भएको छैन । त्यसैले त्यहाँ कोरना भाइरसको उच्च जोखिम देखा परेको छ र त्यसले दोश्रो चरणमा प्रवेश गरेको छ । त्यो अवस्थामा सूदूरपश्चिममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।’

सूदूरपश्चिममा चिकित्सक र स्वास्थ्यकर्मीहरूको अत्यन्त कम वा अपर्याप्त रहेका समाचारहरू प्राप्त भइरहेको जनाउँदै राष्ट्रिय जनमोर्चाले भनेको छ, ‘त्यसो भएमा त्यसबाट खाली सूदुरपश्चिममा मात्र होइन, समग्र देशमा नै गम्भीर जोखिम पैदा हुने सम्भावना छ । त्यसकारण सूदूरपश्चिममा कोरना भाइरसको रोकथाम र चिकित्सकहरूको व्यवस्था गर्न समेत हामीले सरकारसित माग गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप