शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लकडाउन’ ले घटे सडक दुर्घटनाका घाइते

सोमबार, २४ चैत २०७६, १७ : ४६
सोमबार, २४ चैत २०७६

–सञ्चिता घिमिरे 

काठमाडौं । कोभिड–१९ को त्रासका कारण देशका अधिकांश क्षेत्र ठप्प छन् । अत्यावश्यकबाहेकका सेवा बन्द छन् । दैनिक ज्यालादारी गर्ने धेरैले रोजगारी गुमाएका छन् । यसका धेरै नकारात्मक असर हुँदाहुँदै थोरै सकारात्मक पक्ष पनि नभएको होइन् । सवारीसाधन गुड्न कम हुँदा काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा प्रदूषण कम भएको छ भने सडक दुर्घटना पनि ह्वात्तै घटेको छ । 

नेपालमा औसतमा दैनिक सातजनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भए पनि यो आधा महिनामा यो सङ्ख्या ह्वात्तै घटेको छ । काठमाडौँ उपत्यकामा दुर्घटनामा घाइते बढी जाने गरेका राष्ट्रिय ट्रमा सेन्टर, बी एण्ड बी अस्पतालमा आउने बिरामीको सङ्ख्याले त्यो देखाएको छ । लकडाउनका कारण अत्यावश्यकबाहेकका सवारीसाधन नचल्दा  सेन्टरमा आउने सडक दुर्घटनाका घाइतेको सङ्ख्या कम भएको छ । 

अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते बिरामी अझै कम भएको हो । यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए । ४९ बिरामी लडेर आएका र सातजना कुटपिटका घाइते भएका पाइएको छ । सडक दुर्घटनामा पहिले काठमाडौँ उपत्यकाका घाइते मात्रै आउने भएपनि अहिले देशभरका आएका अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए । देशभरका अरू अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आइपुग्छन् । उनले भने, ‘देशभरका यहाँ आएकाले सङ्ख्या केही बढे पनि सवारी दुर्घटनाका घाइते कम भएका छन् ।’

यो अवधिमा बालबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घटना बढेका छन् । कोभिड–१९ र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनका कारण सडक दुर्घटनामा कमी आए पनि बालबालिका घरभित्रै लडेर घाइते उपचारका लागि नेपाल ट्रमा सेन्टर आइरहेका छन् । लकडाउनको समयमा पनि बालबालिका दुर्घटनामा परेका यहाँ आउने घटनाले देखाएको छ । अहिले अस्पतालको आकस्मिक कक्षमा आएकामध्ये आफ्नै घरभित्र लडेर घाइते भएका तीन–चारजना बालबालिका उपचाररत रहेका निर्देशक डा.पौडेलले बताए । 

देशका विभिन्न जिल्लामा भएका दुर्घटनापछि घाइते हेलिकोप्टरबाट उद्धार गरिएर वा एम्बुलेन्समार्फत काठमाडौँ आइरहेका छन् । उनले भने, ‘काठमाडौँ उपत्यकाबाहिरबाट आउने बिरामी यो समयमा पनि आइरहेका छन् ।’ अस्पतालले नियमितरुपमा सेवा दिइरहे पनि यहाँ आउने बिरामीको सङ्ख्या कम छ । अस्पतालले पनि सकेसम्म चाँडो उपचार गरेर बिरामीलाई छिटो घर फर्काउने गरेको छ । देश अहिले कोभिड–१९ को जोखिमको दोस्रो चरणमा प्रवेश गरिसकेकाले बिरामीलाई चाँडो पठाएर भोलि आउनसक्ने सम्भावित जोखिमका लागि तयारी गर्नुपर्ने उनले बताए । उनले भने, ‘आकस्मिक र तुरुन्त उपचार चाहिनेलाई उपचार गरेर सक्दो चाँडो घर फर्काइएको हो ।’

अस्पतालमा आउने दुर्घटनाका घाइतेमध्ये झण्डै २९ प्रतिशत घाइते सडक दुर्घटनाका घाइते हुने गरेका अस्पतालको विगत तीन वर्षको तथ्याङ्कले देखाएको मेडिकल रेकर्ड अधिकृत सिद्धार्थ ढुङ्गानाले बताए । सार्वजनिक यातायातमा भएका दुर्घटनामा एकपटक धेरै जना घाइते भएर आउने घटना लकडाउन यता कम छन् । केही दिनपहिले दोलखामा भएको एउटा बोलेरो जिप दुर्घटनामा छजना घाइते आएकाबाहेक यस्ता घटनामा कमी आएको उनले बताए । दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा आउने घाइते पनि यो अवधिमा न्यून छन् । उनले भने, ‘समग्रमा सवारीसाधन नै नचलेपछि दुर्घटना कम हुनु स्वाभाविक हो ।’

काठमाडौँ उपत्यकाबाहिरका दुर्घटनाका थोरै जटिल घाइते मात्रै यस अस्पतालमा आउने गरेका थिए । लकडाउन यता भने उपत्यकाबाहिरका बिरामी बढेका छन् । यसले समग्र तथ्याङ्कमा केही सङ्ख्या थपे पनि समग्रमा दुर्घटना घटिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा गत वर्ष १८ हजार २६३ घाइते उपचारका लागि आएका थिए । तीमध्ये झण्डै पाँच हजार सवारी दुर्घटनाका घाइते थिए । अस्पतालको तीन वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनाका घाइते २९ प्रतिशत, लडेर, कृषि काम गर्दा, कुटपिटलगायतका कारणले घाइते ६१ प्रतिशत रहेको पाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप