शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव अहिलेसम्म नउठ्नुको कारण ?

‘बाबुराम अस्पताल भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्छ’
सोमबार, २४ चैत २०७६, १६ : १२
सोमबार, २४ चैत २०७६

रुपन्देही । बुटवलको धागो कारखानामा निर्माण गरिएको अस्थायी कोरोविशेष’ अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ९ दिन पुग्दा पनि उठेको छैन । बाबुरामको गत चैत १६ गते उपचारको क्रममा मृत्यु भएको हो । 

चैत ६ गते दुबईबाट नेपाल आएका पाल्पा रिब्दिकोट स्थायी घर भएका ३४ वर्षीय बाबुरामको रुपन्देहीको सैनामैना नगरपालिका–४ मा अस्थायी बसोबास गर्दै आएका थिए । 

दुबईबाट फर्किएलगत्तै ज्वरो आउन थालेपछि बाबुराम १३ गते कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको ३ दिनपछि उनको मृत्यु भएको थियो । 

१६ गते नै परीक्षणको लागि उनको स्वाब काठमाडौं पठाइएको थियो । कोरोना संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, पनि परिवार र उनका आफन्तले उनको शव अहिलेसम्म बुझेका छैनन् ।

आखिर किन बुझेनन् त परिवारले बाबुरामको शव ?  यस्तो छ कारण 

मृत्यु भएको ९ दिन बित्दासमेत अस्पतालबाट बाबुरामको शव नउठेपछि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीसमेत हुन थालेको छ । 

आफ्नो नागरिकको आफ्नै अस्पतालमा ज्यान गएको ९ दिनसम्म शव नउठ्दा पनि सरकारी पक्षले पीडित परिवारसँग कुनै सोधपुछ नगर्नु संवेदनाविहीन र चरम अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।  

मृत्युको कारण छानबिन हुनुपर्ने: बाबुरामकी श्रीमती

कोरोना संक्रमणको आशंका गरिएपनि रिपोर्ट नेगेटिभ आएपछि श्रीमानको मृत्युको कारण छानबिन हुनुपर्ने श्रीमती रीता थापा क्षेत्रीको माग छ । 

रीताले श्रीमानको मृत्युको कारण छानबिन गर्न र क्षतिपूर्ति माग गर्दै शव नउठाएको बताइन् । ‘सामान्य ज्वरो आएकै अवस्थामा अस्पताल भर्ना भएका श्रीमानको मृत्यु कसरी भयो ?’ श्रीमती रीताले छानबिन गर्न माग गरेकी छन् । 

चिकित्कसहरूको लापरबाहीले श्रीमानको मृत्यु भएको बाबुरामकी श्रीमती रीताले आरोप समेत लगाएकी छन् ।  श्रीमानकै भरमा आफू र दुई छोरा रहेकोले छोराको पढाइ तथा किरिया खर्चसमेत सरकारले उपलब्ध गराउनुपर्ने उनको माग छ ।

सीसीटिभी फुटेज सार्वजनिक गर्न माग

बाबुरामकी श्रीमती रीता थापाले अस्पतालले भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग गरेकी छन् । 

श्रीमानको स्वाब परीक्षणका लागि पठाइएको हो भन्नेमा शंका रहेकाले त्यसको पुष्टिको लागि सीसीटिभी फुटेज हेर्न पाउनुपर्ने रीताको तर्क छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टराईले शव लिन अहिलेसम्म कोही नआएको र मर्चरीमै राखिएको बताए ।

‘अहिले देश नै संकटमा परेको बेला उपचारको क्रममा मृत्यु भएका मानिसको शव नउठाएर बार्गेनिङ गर्न खोज्नु गलत हो,’ उनले भने । 

बाबुरामको परिवारलाई उचित क्षतिपूर्ति दिन यसअघि नै प्रदेश–५ प्रदेश सभाका प्रतिपक्ष दलहरू नेपाली काँग्रेस र समाजवादी पार्टीले माग गरेका थिए ।  

तर, परिवारले क्षतिपूर्ति र राजनीतिक दलहरूले निष्पक्ष छानबिन हुनुपर्ने माग राखे पनि सरकार पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप